Comments Add Comment

भैरहवामा चुनावी रौनकः के भन्छन् स्थानीयवासी ?

शौचालयदेखि पुस्तकालयसम्मको माग

 

३० चैत, भैरहवा । स्थानिय तहको निर्वाचनका कारण केन्द्रदेखि गाउँसम्म राजनीतिक चहलपहल बढेको छ । भैरहवा (सिद्धार्थनगर नगरपालिका) पनि यसबाट अछुतो छैन ।

राजनीतिक दलका नेताहरुहरु टिकटको लागि दौडधुप गरिरहेका छन् भने स्थानीय जनता भोट दिन आतुर भएर बसेका छन् । नगरमा कस्ता जनप्रतिनिधि निर्वाचित हुनुपर्छ र निर्वाचित जनप्रतिनिधिले के-कस्ता काम गर्नुपर्छ ? यही प्रश्न हामीले भैरहवाका विभिन्न तह र तप्काका व्यक्तिहरुसँग गर्‍यौँ । प्रस्तुत छ उनीहरुको जवाफ जस्ताको तस्तै:
पुरानै नेताहरुको चुरीफुरी बढेको छ
– सुर्यकुमार सारु मगर, अध्यक्ष, सिद्धार्थ यातायात व्यवसायी समिति

सिद्धार्थनगरमा हामीले देखिरहेका छौं, विगतमा स्थानीय निर्वाचन जितेकाहरुले नगरको विकास जुनरुपमा गर्नुपर्थ्यो त्यो गर्न सकेनन् । उनीहरु नातावाद, कृपावाद र भ्रष्टाचारमा लिप्त भए । अब फेरि तीनै दल र नेताहरू सिद्धार्थनगरमा चुरीफुरी गरिरहेका छन् ।

स्थानीय निर्वाचनमार्फत सिद्धार्थनगरलाई भ्रष्टाचारमुक्त नगर बनाउने प्रयास गर्नैपर्छ । यसको लागि स्वच्छ चरित्र र इमान्दार उम्मेदवार जिताउनु पर्दछ । सिद्धार्थनगरमा धेरै समुदायका जातिहरूको बसोबास छ । अहिले पहिचान र अधिकारको आन्दोलन पनि निरन्तर भइरहेको छ । सबै जातिहरुको प्रतिनिधित्व हुने गरी उम्मेदवार तय हुनुपर्छ र सिद्धार्थनगरवासीले त्यही अनुरुप मत जाहेर गर्नु पर्दछ । त्यसो भयो भने विगत लामो समयदेखि एकआपसमा मिलेर बसेका विभिन्न समुदायहरूको एकतामा बल पुग्नेछ ।

महिला अधिकारको आन्दोलन भइरहँदा सिद्धार्थनगरको नेतृत्व किन महिलालाई नदिने भन्ने बहस पनि चलिरहेको छ । यसबाट भ्रष्टाचारमा कमि आउने जनविश्वास रहेको छ ।

लुम्बिनीको प्रवर्द्धन गर्न सक्ने जनप्रतिनिधि आउनुपर्‍यो
– चेतन पन्त, लुम्बिनीका अभियन्ता

सिद्धार्थनगर नगरपालिकामा मेयरका साथै अन्य जनप्रतिनिधिहरु भिजन भएको, योग्य, अनुभवी, जनताको काम र नगरको विकासमा दत्तचित्त भएर लाग्न सक्ने हुनुपर्छ । साथै नगरपालिकालाई लुम्बिनीको मुलद्वारामा रहेको अन्तर्राष्ट्रिय शहरको पहिचान दिलाउन सक्ने किसिमको हुनुपर्छ । यस्तो उम्मेदवारलाई मैले मात्र होइन, सबै नगरवासीले रुचाउने छन् ।

नगरपालिकामा विश्वप्रसिद्ध पर्यटकीय क्षेत्र लुम्बिनी र निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थलका साथै ठूला-ठूला उद्योग रहेका छन् । देशको प्रमुख भन्सार नाकामा पर्ने यहाँ स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने अध्यागमन कार्यालय रहेको छ । त्यसैले पनि यो नगरको मेयर या जनप्रतिनिधि अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्न र आफ्नो विषय राख्न सक्ने हुनुपर्छ भन्ने मेरो मान्यता छ ।

खानेपानी र शौचालय सुलभ होस्
– हरिस सेठिया, व्यवसायी

शहरको मुख्य बजार बैंकरोडमा खानेपानी र शौचालयको समस्या छ । बैंकरोडका व्यवसायी र बजार गर्नका आएका सर्वसाधारणका लागि पिउने पानीको व्यवस्था अहिलेसम्म नगरपालिकाले गरेको छैन । हामीले पिइरहेको ह्यान्डपाइपको पानी नगरपालिका वा कुनै नेताले होइन, स्व. हरी खत्रीले बनाएका हुन् । आज त्यो पानी बैंकरोड लगायत सबैले पिउने गरेका छन् ।

अर्को सर्वसाधारणलाई दिशापिशाब लागेमा कुदेर नगरपालिका कार्यालय वा कसैको घरमा जानु पर्ने वाध्यता छ । अब त्यसको अन्त्य गर्दै खानेपानी र शौचालयको व्यवस्था गर्नुपर्दछ ।

नगरबाट निर्वाचित जनप्रतिनिधिले नगरपालिका कार्यालयमा जुन कर्मचारीले आफ्नो निजी कन्सल्टेन्सी चलाइरहेका छन् त्यो बन्द गर्नुपर्छ । र्फम परिवारको नाममा भए फरक परेन, तर सरकारी कार्यालयमा बसेर निजी चलाउन पाइएन । यो बन्द भए कर्मचारीले ड्युटी आवरमा नगरपालिकाको अर्थात जनताको काम गर्नेछन् ।

नगरपालिकामा व्यवसाय गर्ने व्यवसायीहरुलाई करको दायरामा ल्याउनुपर्छ । चाहे त्यो पानीको ट्याकी चलाउने व्यवसायी होस् वा ठुलो उद्योगी, सबैलाई करको दायरामा ल्याउनुपर्छ ।

जनतामा भिजेको व्यक्ति चाहिन्छ
– सुर्य अधिकारी, अधिवक्ता

सबैभन्दा पहिले आफू निर्वाचित भएपछि के-कस्तो जिम्मेवारी आउँछ र त्यसलाई समाधान गर्ने आफ्नो हैसियत छ कि छैन भन्ने बुझेको उम्मेदवार छनौट गर्नुपर्छ । आफैले आफुलाई सिफारिस गरेको भन्दा जनताले रुचाएको र पहिले पनि स्थानीयस्तरमा जनताको काममा भिजेको व्यक्ति निर्वाचन लागि योग्य हुन्छ ।

अब आउने मेयरले गौतम बुद्धको जन्मभूमी सँगै रहेको यो शहरलाई अन्तर्राष्ट्रिय शहरको रुपमा विकास गरी अगाडि बढाउने गरी भिजन र मिसन लिएर काम गर्नु पर्दछ ।

पार्टी होइन, व्यक्ति हेर्नुपर्छ
– प्रशान्त मल्ल, अध्यक्ष, रुपन्देही क्रिकेट संघ

वर्षौंदेखि जनप्रतिनिधिविहीनको अवस्था रहेको हुँदा नगरमा कतिपय विकासको काम ठप्प छ । त्यसैले अब हुने निर्वाचनबाट जनउत्तरदायी विकासप्रेमी र दुरदृष्टि भएको व्यक्तिलाई आफ्नो प्रतिनिधिको रुपमा चुन्नु पर्ने हुन्छ ।

हामी बहुराजनितिक दलमा आधारित लोकतन्त्रको अभ्यास गरिरहेको भए पनि जनप्रतिनिधि चुन्दा दल नहेरी व्यक्ति र व्यक्तित्व हेर्नुपर्ने हुन्छ । ताकि जिताएर पठाएको प्रतिनिधि सँधै आफ्नो कर्तव्यप्रति सचेत रहने होस । यहाँ अन्तर्राष्ट्रिय स्तरको पार्क, संग्रहालय, फराकिलो सडक, फोहोर व्यवस्थापनको व्यवस्थाहरु निकै आवश्यक छ ।

विकासप्रेमी नेतृत्व आवश्यक छ
– रमिता थापा मगर केसी, अध्यक्ष, सृजनशील हातहरु समूह

नयाँ जोश-जाँगर भएको, विकासप्रेमी, जनताप्रति वफादार, स्वच्छ छबी भएको र जनभावना बुझ्न सक्ने हुनुपर्दछ । नगरपालिकालाई स्तरोन्नति गरी नेपालकै नमुना नगरपालिका मात्र नभएर उपमहानगरपालिकासम्म हुनेगरी विकास गर्नसक्ने युवा नेतृत्व चाहिएको छ ।

नगरप्रतिनिधिले सिद्धार्थ नगरपलिकाभित्रका समस्याहरुलाई नजिकबाट पहिचान गरी नगररवासीको प्रत्येक समस्याको समाधान गर्नुपर्छ । जनताको आधारभूत आवश्यकताहरुलाई मध्यनजर गरी चौतर्फी विकास र रोजगारीका अवसर सृजना गर्नुपर्छ ।

युवा नेतृत्वको खाँचो छ
– दर्शन घिमिरे

सबैलाई समेटेर लैजाने सक्ने इमान्दार, नैतिकतावान र विकासप्रेमी जनप्रतिनिधि चयन हुनुपर्छ । यस नगरमा युवा नेतृत्वको खाँचो छ, जसले समग्र नगरको विकासमा ध्यान पुर्‍याओस । साथै बाटोघाटो, नाला, विजुली, पानी जस्ता आधारभुत आवश्यकताको व्यवस्था र अन्तराष्ट्रिय विमानस्थल छिटो निर्माण सम्पन्न गर्नका लागि पहल गर्ने सक्ने जनप्रतिनिधिको आवश्यक छ ।

संकलित राजश्व यहीँ उपयोग हुनुपर्छ
– उमेश यादव, विद्यार्थी

सर्वप्रथम, इमान्दार, शिक्षित र निश्चल उम्मेदवार निर्वाचित हुनु पर्छ । ‘मनी माइन्डेड’ व्यक्ति निर्वाचित हुनुहुँदैन । निर्वाचित जनप्रतिनिधिले नातागोता मात्र नहेरी सबै नगरवासीलाई समानताको व्याहार गर्नुपर्छ ।

नगरपालिकाका चारैतिर उच्च गुणस्तरीय बाटोघाटो, नाला बनाउनुपर्छ । स्वच्छ नगरको रुपमा नगरलाई विकास गर्नुपर्छ । यस क्षेत्रमा लुम्बिनी र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपश्चात यहाँका जनप्रतिनिधिले विदेशी शहरसँग यस नगरको भगिनी सम्बन्ध कायम गराउनुपर्छ । १२ कक्षासम्म गरिब छात्रछात्राहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्छ ।

हाम्रो नगरमा रहेका सरकारी कार्यालयबाट संकलित राजश्वमध्ये अधिकतम राजश्व यसै नगरको विकासको लागि उपयोग गर्न मिल्ने कानुन बनाई राजश्वको उपयोग गर्नुपर्छ ।

परिचित र सक्रिय मेयर चाहिन्छ
– रविन्द्र गुप्ता, सञ्चारकर्मी

शान्तिका अग्रदूत भगवान गौतम बुद्धको पावनभूमि लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर नगरपालिकालाई विकास गर्न सक्ने सक्षम व्यक्ति नै मेयर बन्नुपर्छ । यस नगरभित्र रहेका १३ वडाको पर्यटनको विकास, स्थानीयवासीको जनजीविका, समग्र नगरको विकासमा टेवा पुर्‍याउन सक्ने योग्य, दक्ष र विकास प्रेमी व्यक्ति चाहिएको छ ।

कुनै राजनीतिक दलसँग मात्र आस्था भएको भन्दा पनि समाजमा परिचित र नगरवासीको काममा सक्रिय व्यक्ति सिद्धार्थनगर नगरपालिकाको मेयर बन्नुपर्छ । नगरबाट निर्वाचित जनप्रतिनिधिले यस क्षेत्रमा रोजगारीकोे वातावरण सिर्जना गर्ने, सामाजिक विकासका कामहरु सञ्चालन गर्ने गर्नुपर्छ । पीछडिएका समुदायको उत्थानको लागि विशेष कार्यक्रम ल्याउनुपर्छ । समग्रमा आफ्नोभन्दा पनि नगरवासीहरुको समस्या समाधानमा जनप्रतिनिधि केन्दि्रत हुनुपर्छ ।

मुस्लिम बालबालिकालाई ध्यान दिइयोस्
-मोहम्मद अकिल, सचिव, मुस्लिम वेलफेयर सोसाइटी

नगरको जनप्रतिनिधिले स्पष्ट योजना बनाएर नगरको विकास गरोस भन्ने मेरो अपेक्षा छ । विदेशबाट कमाएर आएर एउटा सर्वसाधरणले नगरपालिकामा घर बनाउँछ र नगरपालिकाले त्यसको नक्सा पनि पास गर्छ । तर नक्सा पास भएको केही समयमा मापदण्डविपरीत भयो र सडकमा घर पर्‍यो भन्दै भत्काउने काम गलत छ । जनतालाई दुःख दिने काम गर्नुहुँदैन ।

मुस्लिम बालबालिका शिक्षामा पछाडि परेको हुँदा उनीहरुलाई माथि उठाउनका लागि शिक्षाका विभिन्न कार्यक्रमहरु ल्याउनुपर्ने आवश्यकता छ । मस्जिद, मदरसा, इदगाह लगायत दयनीय अवस्थामा रहेको हुँदा त्यसको विकासप्रति चासो दिनुपर्छ । व्यक्तिगत नातागोताको चक्कर भन्दा विकासमुखी उम्मेदवार चयन हुनुपर्छ ।

कमला बस्नेत, गृहणी

मेरो विचारमा स्थानीय निकायको निर्वाचनमा इमान्दार, नगरवासीको भावना बुझ्ने, आफ्नो स्वार्थ नहेरी सम्पूर्ण नगरको विकासको लागि अग्रसर हुुने मेयर हुनुपर्छ ।

नपाको वडा र समग्र नगरवासीको भावनालाई बुझेर न्यायपूर्ण तरिकाले नगरको विकास गर्नुपर्छ । गरीब, बेरोजगार, पछाडी परेका र पारिएका, अपाङ्कता भएका व्यक्ति, बालबालिका तथा महिलाहरुलाई प्राथमिकतामा राखी सोही अनुसारको कार्यहरु सञ्चालन गर्नुपर्छ ।

युवाहरु अन्य देशमा गएर श्रम विक्री गर्ने नभई स्वदेशमा नै काम गरेर जिविकोपार्जन गर्ने वातावरण सिर्जना गर्नुपर्छ । सिद्धार्थनगर नगरपालिकालाई नेपालमा नै नमुना नगरको रुपमा प्रस्तुत गर्ने खालको हुनुपर्छ ।

युवा पुस्ता नै आउनुपर्छ
– रचना क्षेत्री, सर्वसाधारण

वडा र नगरमा उदाहरणीय काम गर्न सफल भइसकेको व्यक्ति मेयरमा निर्वाचित हुनुपर्छ, जसलाई हामी जनताले सजिलै विश्वास गर्न सकौं । नगर र वडाको शिक्षा, स्वास्थ्य, रोजगार, सञ्चार लगायतका विकासका पूर्वाधारमा ध्यान दिने र राजनीतिक पार्टीभन्दा माथि उठेर काम गर्ने व्यक्ति हुनुपर्छ । खास गरी नयाँ युवा पुस्तालाई सिद्धार्थनगरको मेयरमा निर्वाचित गर्नु धेरै राम्रो हुन्छ ।

कपिल रायमाझी, स्थानीय युवा

जसले जनातको काम गर्छ, उसैलाई निर्वाचित गर्नुपर्छ । दलभन्दा पनि व्यक्ति चुनिने भएकाले जनताको नेतृत्व गर्न सक्ने व्यक्ति निर्वाचित हुनुपर्छ ।

नगरको मुख्य बजार बैंकरोड क्षेत्रमा बजार गर्न आउने सर्वसाधरणका लागि पिउने पानी र शौचालयको समस्या रहेको कारण नगरमा सार्वजनिक शौचालय र खानेपानीको व्यवस्था हुनुपर्छ । जनप्रतिनिधिहरुले जनताको बीचमा समस्या बुझेर समाधान गर्न सक्नुपर्छ । नगरमा पुस्तकालय भए पनि पुर्णरुपमा पाठ्यक्रम नभएको र आवश्यक परेको बेलामा नपाउने गरिएको कारण नगरमा स्तरीय पुस्तकालय बनाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment