
३ बैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा रहेको बेगनास तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण गर्ने योजना अघि सारेको छ ।
प्राधिकरणले गरेको प्रारम्भीक अध्ययनमा लेखनाथको सुन्दरडाँडास्थित बेगनासको पानी रुपा तालमा खसालेर करिव एक सयदेखि तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने देखाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको अत्याधिक माग हुने पिक आवरमा करिव ४ घण्टा चलाउने गरी पिक स्टोरेज बनाउने प्रस्ताव अघि सारेका हुन् । आयोजना निर्माण भएमा यसले पिक आवरको विद्युत माग पूरा गर्ने ब्याट्रीको रुपमा काम गर्ने छ ।
तामाकोसी जलविद्युत आयोजना निर्माणपछि पनि पिक आवरको विद्युत मागलाई पूरा गर्न नसक्ने भएकाले पिक स्टोरेज निर्माण योजना अगाडि सारिएको प्राधिकरणले बताएको छ ।
घिसिङका अनुसार, बेगनास र रुपा तालबीचमा रहेको ५७ मिटर प्राकृतिक हेडलाई प्रयोग गरी आयोजना निर्माण गरिने छ । वेगनास तालको सञ्चित पानीलाई त्यहाँको प्राकृतिक हेडलाई प्रयोग गरी रुपा तालमा खसाएर विद्युत उत्पादन गर्न सकिने देखिएको छ ।
घिसिङले भने, ‘रुपामा जम्मा भएको पानीलाई राती (अफ आवर)मा पम्प गरी पुनः बेगनास तालमै खसालिने छ ।’
रुपामा खसालिएको पानी पुनः वेगनासमा फर्काइने हुनाले यसले दुवै तालको अहिलेका अवस्था र सौन्दर्यलाई कुनै असर नपर्ने प्राधिकरण प्रमुख घिसिङको दाबी छ ।
कार्यकारी निर्देशक घिसिङले केही दिन अघि प्राधिकरण उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, तनहुँ हाइड्रो पावर लिमिटेडका प्रवन्ध सञ्चालक प्रदीपकुमार थिके सहितको प्राविधिक टोली लिएर आयोजनाको स्थलगत सम्भाव्यता अध्ययन गरेका थिए । अहिले यो टोली आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययनमा जुटेको छ ।
केही वर्ष अघि काठमाडौं विश्वविद्यालयको सिभिल तथा जियोमेटिक्स विभागका प्रा. डा. रमेशकुमार माश्के नेतृत्वको टोलीले गरेको अध्ययनले बेगनास-रुपा पम्प स्टोरेज जलविद्युत आयोजनाबाट १०० मेगावाट विद्युत उत्पादन गर्न सकिने देखाएको थियो ।
अध्ययनका अनुसार आयोजनाबाट पिक आवरका पााच घण्टा एक सय मेगावाट विद्युत उत्पादन गर्न सकिने छ । साथै विद्युत उत्पादनपछि रुपा तालमा जम्मा भएको पानी फेरि बेगनासमा फर्काउन पम्प चलाउन करिव १ सय २५ मेगावाट विद्युत आवश्यक पर्ने छ ।
प्रतिक्रिया 4