Comments Add Comment

गृहमन्त्रीले मध्यरात कटेपछि किन गरे चुनाव हुन नसक्ने ट्वीट ?

सामाजिक सञ्जालमा मन्त्री निधीको चर्को आलोचना

४ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले निर्वाचन आयोग र सुरक्षा प्रबन्धमात्रै स्थानीय चुनावका लागि पर्याप्त नहुने प्रष्ट पारेका छन् । निधीले सामाजिक सञ्जाल ट्वीटरमार्फत सुरक्षा प्रबन्धले मात्रै चुनाव हुन नसक्ने बताएका हुन् ।

चुनावका लागि सुरक्षा प्रवन्धमात्रै पर्याप्त हुँदैन भन्दै गृहमन्त्री निधीले यसका लागि राजनीतिक सहमति आवश्यक पर्ने ट्वीटरमार्फत बताएका छन् ।

मन्त्री निधीले लेखेको ट्वीटभन्दा पनि उनले ट्वीट गरेको समयलाई लिएर पत्रकार कनकमणि दीक्षित, भुषण दाहाल लगायतले ‘गम्भीर अर्थ’ लगाएका छन् । निधीले सोमबार बिहानै पौने तीन बजे चुनाव हुन नसक्ने आशयको ट्वीट गरेका हुन् ।

पत्रकार तथा नागरिक अगुवा कनकमणि लेख्छन्- गृहमन्त्रीको घोषणा निकै अर्थपूर्ण छ, जुन बिहान २ बजेर ४१ मिनेटमा पोष्ट गरिएको छ । अर्का पत्रकार भुषण दाहालले गृहमन्त्रीको वक्तव्यले सबै नेपालीलाई अत्यन्त नकारात्मक सन्देश प्रवाह भएको भन्दै चुनाव नहुने हो ? भन्ने प्रश्न गरेका छन् ।

 

निर्वाचन गराउने मुख्य जिम्मेवारी प्राप्त व्यक्तिले लाचारी प्रकट गरेको भन्दै ट्वीटरमै उनको चर्को आलोचना भएको छ । निधीले सफल निर्वाचनका लागि पार्टीहरुबीच वार्ताबाट राजनीतिक व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

उनको ट्वीटरमा विभिन्न क्षेत्रका व्यक्तिले गृहमन्त्री बन्न नालायक व्यक्ति भन्दै उनलाई राजीनामा दिन वा कांग्रेसले उनको ठाउँमा अर्को व्यक्ति पठाउन सुझाव दिएका छन् ।

निधीको समर्थनमा अधिवक्ता दिपेन्द्र झाले मधेसमा थप हिंसा हुन नदिन गृहमन्त्रीको भनाइ ठीक रहेको लेखेका छन् ।

वीरगञ्जबाट पत्रकार भुषण यादवले निधीको ट्वीटमा कमेन्ट गर्दै लेख्छन्- सुरक्षा व्यवस्था पनि मिलाउन नसक्ने गृहमन्त्रीलाई तेस्रो वरियता दिएर ठिकै गरेछन् प्रधानमन्त्रीले । अब राजीनामा लिएर नयाँ नियुक्ति गर्नुहोला ।

निधीको ट्वीटमा सोमबार बिहान आएका ४० वटा प्रतिक्रियामा प्रायःसबैले उनको आलोचना गरेका छन् ।

 

एमाले सचिव योगेश भट्टराईले ट्वीट गरेका छन्- निधीजी नेकाबाट मोर्चातिर काजमा जानुभन्दा स्थायी सरुवा हुनुनै राम्रो होइन र ? कथनी र करनी छुट्याउन दर्शकलाई सकस त हुने थिएन नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment