Comments Add Comment

४२ वर्षपछि फेरिन थाल्यो तीनकुनेको रुप, कस्तो बन्दैछ ?


५ बैशाख, काठमाडौं । ४२ वर्षपछि कोटेश्वर नजिकै अवस्थित तीनकुनेले रुप फेर्ने भएको छ । महानगरले केही वर्ष अघिदेखि नै तीनकुनेको रुप फेर्ने भने पनि अहिलेसम्म कार्यान्वयन भएको थिएन ।

विसं. ०३१ सालमा बस्ती हटाएर खाली गराइएको तीनकुनेको चौरलाई काठमाडौं महानगरपालिकाले स्तरीकरण गर्न सुरु गरेको हो । तर, ४० वर्ष पहिलेदेखि यो ठाउँको जग्गाको मुआब्जा प्रकरण सुल्झिएको छैन । गाईवस्तु चराउने र गाडी सिक्नेहरुको केन्द्र बनेको तीनकुनेको सौन्दर्यकरण सुरु भएको छ ।

महानगरपालिकाले तीनकुनेमा रहेको अस्तव्यस्त खाली जमिनलाई सदुपयोग गरेर आराम गर्न र समय बिताउन योग्यस्थलका रुपमा विकास गर्न लागेको हो ।

महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले अब तीनकुनेमा गरिने सबै अवाञ्छित गतिविधि पूर्ण रुपमा रोकिने बताए ।

‘सार्क सम्मेलनका बेलामा बारिएका जस्तापाता पनि चोरेर सकिनै लागेको थियो, इन्टरनेशनल एयरपोर्टको छेउ र शहरको शानदार स्थानमा रहेको तीनकुनेको हविगत सुधार्न आवश्यक ठानेर हामीले डोजर चलाएका छौं’ पौडेलले भने, ‘अब तीनकुने शहरको शोभा हुनेछ । यसले शहरलाई कुरुपबाट सुन्दर बनाउन भूमिका खेल्नेछ ।’


उनले बिहान मर्निङ वाक गर्न र दिउँसो तथा बेलुकी समय विताउन उपयुक्त हुने गन्तव्यका रुपमा यसलाई विकास गरिने बताए ।

अब कस्तो बन्छ ?

स्तरीकरणको काम सुरु भएको एक हप्तामै चौर सम्याउने काम लगभग सकिएको छ । अब तीनकुनेको तीनतर्फकै सडक छेउमा फुटपाथ ट्रयाक बनाइनेछ ।

झण्डै १० फिट फराकिलो फुटपाथ ट्रयाक विहान मर्निङ वाक गर्न चाहनेका लागि लक्षित रहेको पौडेलले बताए ।

महानगरपालिकाले तीनकुनेको बीचमा एउटा ढिस्कोसहित सानो आइल्याण्ड बनाएर ठूलो राष्ट्रिय झण्डा फरफराउनेछ । आइल्याण्डसम्म मूल फुटपाथको ट्रयाक हुँदै ठाउँ-ठाउँबाट क्रसहरु बनाइनेछ । यसले तीनकुने सुन्दर मात्रै देखिने छैन, व्यवस्थित पनि हुनेछ ।

यसमा नियमित सरसफाइको प्रवन्ध गर्दै खुला ‘दुबो पार्क’का रुपमा विकास गरिनेछ । सबै प्लटहरुमा हरियो दुबो लगाइनेछ । पार्कमा नियमित पानीको प्रवन्ध गरेर दुबोको संरक्षण गरिनेछ ।

एक महिनामै सक्ने लक्ष्य

महानगरपालिकाले तीनकुनेमा १ अर्ब बढी खर्चेर सुविधासम्पन्न शान्ति मण्डला बनाउने गरी डिजाइन तयार गरिसकेको छ । तर, यसका लागि अहिले ठूलो खर्च लाग्ने देखिएपछि सानै खर्चमा महानरपालिकाले तीनकुनेलाई शोभनीय स्थानका रुपमा विकास गर्न काम थालेको हो ।

तीनकुनेको स्तरीकारण एक महिनाभित्र सक्ने गरी काम भइरहेको कार्यकारी अधिकृत पौडेलले बताए । उनले तीनकुनेमा अझै पनि जग्गा अधिग्रहणको विषय विवादिन रहेकाले त्यसको समाधानका लागि काम सुरु गरिएको बताए ।

तीनकुनेबाट उठाइएका केही परिवारले अझै पनि आफ्नो जग्गाको मुआब्जा बुझेका छैनन् । उनीहरुले आफ्नो जग्गाको चित्तबुझ्दो रेट नदिएको भनेर यहाँ कुनै भौतिक निर्माणका काम गर्न पनि दिएका छैनन् ।

मुआब्जा विवाद मिलाउने योजना

तर, कार्यकारी पौडेलले मुआब्जाका लागि पहल थाल्ने र खाली जमिनमा दुबो रोप्ने काम सँगै अघि बढाएका छन् । यसका लागि मुआब्जा नलिएका परिवारसँग पनि समन्वय गरिएको पौडेलले बताए ।

महानगरपालिकाले मुआब्जा नबुझेकाहरुलाई कागजपत्रसहित सम्पर्कमा आउन ३५ दिने सार्वजनिक सूचना जारी गरिसकेको छ ।

‘अब त्यहाँ कति परिवारले मुआब्जा लिन बाँकी छ भन्ने थाहा हुन्छ । उनीहरुको मागलाई कसरी सम्बोधन गर्ने भनेर छलफल गर्न सकिन्छ’ पौडेलले भने, ‘यो विवाद टुंग्याएपछि तीनकुनेको थप स्तरीकरणको काम अघि बढ्न सक्छ । फोहोर फाल्ने ठाउँ बनेको तीनकुने त्यही अवस्थामा राखिरहनु हुँदैन भनेर स्तरीकरण र सौन्दर्यकरणको काम थालेका हौं ।’

एक करोड खर्च

तीनकुनेको सौन्दर्यकरण गर्न १ करोड रुपैयाँ खर्च हुने अनुमान छ । यो काम महानगरपालिकाले उपभोक्ता समितिमार्फत गराइरहेको छ । पौडेलका अनुसार अबको एक महिनापछि तीनकुने पुरै दुबोले सजिनेछ भने बीच भागमा माइतीघर मण्डलामा जस्तै विशाल राष्ट्रिय झण्डा फहराउनेछ ।

तीनैतर्फका सडक छेउबाट बन्ने फुटपाथ ट्रयाकले तीनकुनेलाई उपयोगी स्थान सिद्ध गर्ने महानगरपालिकाको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment