६ बैशाख, कैलाली । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीले मुख्य पदमा नपत्याएको गुनासो महिला नेतृहरुले गरेका छन् । नगरपालिका तथा गाउँपालिकामा उपप्रमुखका लागि मात्र महिला उम्मेदवारको तयारी गरिएकोमा उनीहरुको दुखेसो छ ।
नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखमध्ये १-१ जना महिला हुनुपर्ने प्रावधान रहेकोमा दलहरुले अधिकांश ठाउँमा दोस्रो पदमा मात्रै महिला उठाउने गृहकार्य गरिरहेका छन् । यस्तो प्रवृत्तिको कैलालीका महिला नेतृहरुले विरोध गरेका हुन् ।
नेकपा एमाले जिल्ला सदस्य मिना सोवले आन्दोलन गर्ने बेला पार्टीलाई महिला चाहिने तर अवसर पाएको बेलामा भने पुरुषलाई नै अगाडि सार्ने प्रवृत्ति रहेको बताइन् । आफूले उम्मेदवारीको दाबी गर्दा पार्टी भित्रबाट उम्मेदवार हुन कति पैसा छ ? आम्दानीको श्रोत के छ ? भन्ने जस्ता प्रश्नहरु गरेर अपमानित गरिएको उनको आरोप छ ।
त्यस्तै धनगढी उपमहानगरपालिको उपमेयरको रुपमा चर्चामा ल्याइएकी एमालेकै जिल्ला कमिटी सदस्य सन्तोष शर्माले महिलाहरु घरवार त्यागेर राजनीतिक दलमा लागे पनि मौका आउँदा पार्टीले मुख्य पदमा कहिल्यै अवसर नदिने गरेको गुनासो गरिन् ।
नेकपा माओवादी केन्द्रबाट धनगढी उपमहानगरपालिकाको उपमेयरको रुपमा अगाडि सारिएकी शान्ति अधिकारी क्षेत्रीले पार्टीभित्र पुरुष उम्मेदवारहरु धेरै संख्यामा आकांक्षी भएका कारण महिलाहरुलाई मुख्य पदमा अवसर नदिइएको हुन सक्ने प्रतिकृया दिइन् ।
महिला हकहितका लागि क्रियाशील दलित महिला अधिकार मञ्चकी अध्यक्ष सावित्रा घिमिरेले संवैधानिक व्यवस्थाअनुसार महिलाले प्रमुख पदमा बसेर काम गर्न सक्नेमा दलहरु ढुक्क हुन नसकेको बताइन् ।
यस्तै कैलाली उद्योग वाणिज्य संघकी उपाध्यक्ष एवं अखिल नेपाल महिला संघ प्रदेश नम्बर ७ की सदस्य रुक्मणी देवकोटाले महिलाहरुले केही गर्न सक्दैनन भनेर हेप्न खोजेको आरोप लगाइन् । उनले भनिन्, ‘महिलालाई जिम्मेवारी दिएमा पुरुषले भन्दा राम्रो काम गर्न सक्छन् ।’
अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा आचार्यले महिलाहरुले प्रमुख पदमा दावेदारी गरिरहँदा राजनीतिक दलहरुले नपत्याएको गुनासो गरिन् । उनले भनिन्, ‘महिलाहरुलाई प्रमुख पदमा देख्न नचाहने पुरुषवादी सोच पार्टीहरुभित्र छ ।’
प्रतिक्रिया 4