+
+
Shares

१४० मेगावाटको तनहुँ हाइड्रोले बाँड्यो २१ करोड मुआब्जा, असोजबाट निर्माण सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ७ गते १७:२४


७ बैशाख, काठमाडौं । १ सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाले जग्गा अधिग्रहण गरेवापत् २१ करोड १० लाख रुपैयाँ मुआब्जा वितरण गरेको छ । यसअघि १५ करोड ६८ लाख वितरण गरिएकोमा बिहिबार थप ५ करोड १० लाख वितरण गरिएको हो ।

जलाशयबाट डुवानमा पर्ने जग्गाको मुआब्जा र त्यसमा रहेका घर, गोठ, टहरा, फलफुल तथा रुखविरुवाको क्षतिपूर्ति वितरण गरिएको आयोजनाले जनाएको छ ।आयोजनाले गत ५ फागुनबाट मुआब्जा बितरण सुरु गरेको थियो । सरकारले चालु आर्थिक वर्ष ०७३/७४ मा मुआब्जा वितरणका लागि ४२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

डुवान क्षेत्रमा पर्ने करिव एक हजार दुई सय रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ । यसका लागि करिव ६० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाको बाँध बनेपछि बन्ने जलशायले तनहुँका भिमाद, माझकोट, ऋषिङ्ग रानीपोखरी, साभुङ्ग भगवतीपुर, कोटदरबार, जामुने र छाङ क्षेत्रका जग्गा डुवानमा पर्ने छन् ।

जग्गा प्राप्ती ऐन २०३४ मा भएको व्यवस्थाअनुसार तनहुँका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षमा गत २३ माघमा बसेको मुआब्जा निर्धारण समितिको बैठकले मुआब्जा निर्धारण गरेको थियो ।

मुआब्जाको राय सुझाव दिन गठित उपसमितिले डुवान क्षेत्रमा पर्ने जग्गाको स्थलगत अध्ययन, सरोकारवालासँग छलफल, जग्गाको अवस्था, किसिम, अवस्थिति, उपभोग, स्थानीय चलनचल्तीको मूल्यका आधारमा दर तय गरी मुआब्जा निर्धारण समिति समक्ष प्रतिवेदन पेश गरेको थियो ।

यही आधारमा सरोकारवाला, स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतसँग छलफल गरी मुआब्जा निर्धारण समितिले प्रतिरोपनी दुई लाखदेखि आठ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरेको थियो । आयोजनाको १४० मिटर अग्लो बाँध व्यास नगरपालिकामा पर्नेछ । आयोजनाको जलशाय बाँधको माथिल्लो तटमा करिव २५ किलोमिटर फैलने छ । काहुशिवपुरको कुनौटेमा भूमिगत विद्युतगृह रहने छ ।

सेती नदीको दायाँ किनार हुँदै ७.४ मिटर व्यासको १ हजार २ सय ३ मिटर सुरुङमार्फत बाँधभन्दा करिव ५ किलोमिटर तल्लो तटमा रहने भूमिगत विद्युत गृहमा पानी पुर्‍याएर विद्युत उत्पादन गरिने छ । विद्युत गृहमा ७०/७० मेगावाटका दुईवटा फान्सिस टर्वाइन रहनेछन् । विद्युत उत्पादनपछि १९० मिटर लामो निकास सुरुङमार्फत पानीलाई पुनः सेती नदीमा खसालिने छ ।

तनहुँ हाइड्रोका सहनिर्देशक ओमप्रसाद नेपालका अनुसार ठेक्कापट्टका सम्पूर्ण काम २०७४ को असोजभित्रमा सक्ने र त्यसपछि निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । आयोजनाको निर्माण ०७९ पुसको दोस्रो साता (२०२२ को डिसेम्बर अन्तिम)मा सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।

आयोजनाका अनुसार अहिले निर्माणपूर्वका काम भइरहेका छन् । आयोजनाबाट उत्पादित बिजुली २ सय २० किलोभोल्ट -केभी)को डबल सर्किट प्रसारण लाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरिनेछ । यसका लागि विद्युत गृहदेखि चितवनको भरतपुरस्थित सवस्टेसनसम्म ३७ किलोमिटर प्रसारण लाइनको निर्माण गरिने छ ।

आयोजनाबाट विद्युत उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वाषिर्क औसत विद्युत उत्पादन ५८ करोड ७७ लाख युनिट र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने छ । बढी विजुली माग हुने हिउँदमा आयोजना ६ घण्टा पूर्ण क्षमतामा अर्थात १४० मेगावाटमा सञ्चालन हुने सहनिर्देशक नेपालले बताए ।

आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर छ । यो लागत निर्माण अवधिको ब्याज, प्रसारण लाइन निर्माण र ग्रामिण विद्युतीकरण सहितको हो ।

आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको ८ करोड ६० लाख, एसियाली विकास बैकको १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको १८ करोड ४० लाख र युरोपेली लगानी बैकको ८ करोड ५० लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी रहने छ । लगानीकर्तासँग ऋण सम्झौता भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?