Comments Add Comment

रुकुम र नवलपरासीका कुन-कुन गाविस र नगरपालिका कता परे ?

१४ बैशाख, काठमाडौं । रुकुम र नवलपरासीको सिमांकन हेरफेर गरेसँग यी दुई जिल्लामा दुई चरणमा निर्वाचन हुनेछ । मन्त्रिपरिषदको बुधबारको बैठकले रुकुम र नवलपरासीको सिमांकन हेरफेरको निर्णय गरेको थियो ।

रुकुमका ११ गाविसलाई पाँच नम्बर प्रदेशमा राखिएको छ । रुकुमका राङ्सी, तकसेरा, हुकाम, जाङ, कोल, रन्मामैकोट गाविस मिलाएर बनाइएको पुथा उत्तरगंगा गाउँपालिकामा र काँक्री, काँडा, महत, चुनवाङ गाविस मिलाएर बनेको भुमे गाउँपालिकालाई प्रदेश नम्बर पाँचमा राखिएको छ ।

अब रुकुमका सिस्ने, पुथा, उत्तरगंगा र भुमे गाउँपालिका पाँच नम्बर प्रदेशमा परेका छन् । यस्तै मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, बाँफीकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका प्रदेश नम्बर ६ मा परेका छन् । प्रदेश नम्बर ६ मा परेका स्थानीय तहमा पहिलो चरणमा बैशाख ३१ मा चुनाव हुनेछ भने बाँकीमा दोस्रो चरण जेठ ३१ मा चुनाव हुनेछ ।

यसैगरी नवलपरासीको त्रिवेणीसु्स्ता गाविसको वडानम्बर ६ र ७ लाई विनयी गाउँपालिकामा गाभेर प्रदेशनम्बर चारमा समावेश गरिएको छ । अब विनयी गाउँपालिकाको नाम ‘विनयी त्रिवेणी’ रहनेछ ।

सरकारले गरेको नयाँ सिमांकनसँगै सुनवल नगरपालिका, बर्दघाट नगरपालिका, रामग्राम, पाल्ही, सरवल, प्रतापपुर र त्रिवेणीसुस्ता गाउँपालिका प्रदेश नम्बर ५ मा परेका छन् । पाँच नम्बर प्रदेशमा परेका स्थानीय तहमा दोस्रो चरणमा जेठ ३१ गते निर्वाचन हुनेछ ।

यसैगरी गैंडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका, हुप्सेकोट, बुङदिकाली, कावासोती, देवचुली र बुलिङटार गाउँपालिका, विनयी गाउँपालिका प्रदेश नम्बर ४ मा परेका छन् । चार नम्बर प्रदेशमा परेका नवलपरासीका स्थानीय तहमा बैशाख ३१ गते पहिलो चरणमा चुनाव हुनेछ ।

स्थानीयबीच विवाद भएपछि संविधान जारी गर्दा रुकुम र नवलपरासीको कुन-कुन गाविस कुन-कुन प्रदेशमा पर्ने भन्ने निर्धारण गरिएको थिएन । सरकारले रुकुमको पूर्वी भाग पाँच नम्बरमा र पश्चिमी भाग ६ नम्बर प्रदेशमा राख्ने निर्णय गरेको थियो ।

यसैगरी नवलपरासीको दाउन्ने पश्चिमको भागलाई पाँच नम्बर प्रदेशमा र दाउन्ने पूर्वको भागलाई चार नम्बर प्रदेशमा राख्ने भनिए पनि स्पष्ट सिमांकन छुट्टिएको थिएन ।

सरकारले पहिलो चरणमा बैशाख ३१ गते ३, ४ र ६ नम्बर प्रदेशमा तथा दोस्रो चरणमा जेठ ३१ गते १, २, ५ र ७ नम्बर प्रदेशमा चुनाव गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment