Comments Add Comment

काव्यमेलामा पाँच कवि


काठमाडौं । राजधानीमा सोमबार युवा पुस्ताका पाँच कवि एउटै मञ्चमा प्रस्तुत भए ।

काव्य मेला नाम दिइएको कार्यक्रममा कविहरु सुको साइबर, मुकुन्द खलपात्र, लक्ष्मी रुम्बा, सुशील कुँवर र अञ्जना राईले पाँच–पाँच वटा कविता सुनाए । बागबजारको सिटीम्याक्स हलमा आयोजित कार्यक्रममा कुँवरले मे दिवसको सन्दर्भमा आफू विदेशिएर कतार पुग्दाको पीडा समेट्दै ‘मजदुर म’ शीर्षकको कविताबाट सुरु गरे । यसपछि उनले ‘बहिनीको चिठी’, ‘अतिरिक्त हाँसो’, ‘निष्कर्ष’ र ‘ठेकेदार’ सुनाए ।

दोस्रो चरणमा प्रस्तुत भएकी अञ्जनाले ‘आमाको आँखामा छोरीको आधा अनुहार’, ‘दूधकोसीको किनार’, ‘फोक्सोको आयु’, देउताहरूको कुरा’ र ‘तीज’ कवितामा नारी संवेदना र स्थानीय परिवेशको कुरा सुनाइन् ।

त्यसपछिको क्रममा नाट्यकर्मी समेत रहेका खलपात्रले ‘मिस हिमाल’, ‘नमस्ते सर’, ‘जिन्दगीरुपी कारोबार’, ‘विस्तार’ र ‘अर्धनग्न सगरमाथा’ कविता पस्किए । मुखाग्र भएका कविताहरु हाउभाउको साथमा सुनाउँदा कविताप्रेमीहरुले रोचक मानेका थिए ।

यस्तै, कवि रुम्बाले ‘एकसरो यथार्थ’, ‘जङ्गलः एक सपना’, ‘झरीको अनुहार’, लामो रातपछि’ र ‘मास्क’ शीर्षकका कविता सुनाइन् । अन्तिम लहरमा आएका कवि साइबरले ‘प्रश्न’, ‘बम र बुद्ध’, ‘भोक’, र ‘आगो’ शीर्षकका छोटा कविता सुनाए ।

उर्वरा फाउन्डेसनसँगको सहकार्यमा अराजक अक्षर समूह र कर्मी नाट्य समूह भरतपुरले आयोजना गरेको कार्यक्रममा कविताहरु सुनिसकेपछि प्राज्ञ तथा कवि श्रवण मुकारुङले वाचित कविताहरू उत्कृष्ट र फरक–फरक शैलीको रहेको बताए । कवितामा शब्दभन्दा भाव प्रधान हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘कविता भावनाभन्दा भोगाइमा केन्द्रित हुनुपर्छ, यो नै कविताको सत्य हो ।’

कार्यक्रमको उद्देश्यबारे अराजक अक्षर समूहका सदस्य उत्तम गुरुङ र मिताली थापाले प्रकाश पारेका थिए । भरतपुरमा नाटकघर निर्माणको अभियानसहित मासिक रूपमा सञ्चालन हुँदै आएको ‘काव्यमेला’ को यो छैटौं शृङ्खला हो । यसअघिको शृंखलामा कवि श्रवण मुकारुङ, अमर गिरी, शशी लुमुम्बूका साथै मुकुन्द खलपात्र, शीतल लामा र अञ्जन ढुङ्गानाले कविता सुनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment