+
+
Shares

इन्टरनेटसँग जोडिँदै किसानः युट्युव हेरेरै गर्छन् व्यवसायिक खेती

गौरव पोखरेल गौरव पोखरेल
२०७४ वैशाख २१ गते ९:०१


२१ बैशाख, झापा । बिहान सूर्य उदाउँदा पूर्वतिर फर्किने, दिउँसो पनि सूर्यलाई पछ्याइरहने । र, अस्ताउँदा पनि पश्चिमै फर्किने फूलको बारेमा त तपाईंहरुलाई थाहै होला । सूर्य जतातिर फर्किन्छ, त्यतै फर्किने भएकैले होला, यो फूललाई सूर्यमुखी भनिन्छ ।

स्वास्थ्यको दृष्टिकोणबाट यो फूललाई अत्यन्त लाभदायक मानिन्छ । झापाका केही क्षेत्रमा व्यक्तिगत रुपमा यसको खेती हुँदै आएको छ । तर, जिल्ला कृषि विकास कार्यालय, झापासँग अहिलेसम्म व्यवसायिक सूर्यमूखी खेती गर्ने किसानको सूची छैन ।

तर, केही महिना अघिदेखि झापागाउँपालिका–६, शरणामतीमा युवा व्यवसायी सुमन प्याकुरलले व्यवसायिक सूर्यमुखी खेती सुरु गरेका छन् । उनले १३ कठ्ठा क्षेत्रफलमा सूर्यमुखी खेती सुरु गरेका हुन् ।

३० देखि ३५ मन उत्पादन हुने अनुमान

‘पहिले परिवारमा ग्याष्ट्रिक, मुटु सम्बन्धी समस्या भएका धेरै जना हुनुहुन्थ्यो’, उनले सुनाए, ‘त्यसैले व्यक्तिगत प्रयोजनका लागि खेती गर्ने सोच बनाएको थिएँ । तर, पछि बुझ्दै जाँदा यसबाट धेरै लाभ लिन सकिने बुझेँ । अनि, यो खेती सुरु गरेको हुँ ।’

सुनसरीको प्रकासपुरबाट सूर्यमुखीको डेढ किलो विऊ किनेर ल्याएर उनले यहाँ सूर्यमुखी खेती सुरु गरेका हुन् । यसपटक लगाएको सूर्यमुखीबाट ३० देखि ३५ मनसम्म सूर्यमुखी उत्पादन हुने उनको अनुमान छ ।

अहिले स्थानीय बजारमा एक केजी सूर्यमुखी १२ सय रुपैयाँको भाउमा बिक्री हुन्छ ।

तालिम होइन, इन्टरनेट !

प्याकुरेलले यो व्यवसाय सुरु गर्न प्रविधिको पूर्ण सदुपयोग गरेका छन् । उनले सूर्यमुखीको बाली लगाउने विषयमा कतै गएर तालिम लिएका होइनन् ।

उनले यूट्यूब र गुगलमा खोजेर आफैं सिकेका हुन् ।

‘सबै इन्टरनेटबाट हेरेर सिकेको हुँ’, मंगलबार अनलाइनखबरसँगको भेटमा उनले भने, ‘इन्टरनेटमा सबैथोक भएकाले सहज भयो ।’

उनको यो काममा भाइ शिवनारायणले पनि साथ दिएका छन् । उनको यसपटकको बाली २ महिना १० दिनको भयो ।

कृषिविज्ञका अनुसार यो ३ महिनाको अवधिमा सूर्यमुखी बजारमा लान सक्ने अवस्थामा पुग्छ ।

‘अहिलेसम्म दुई चरणमा गोडमेल गरिसकेँ’, उनले भने, ‘सुरुमा ड्याङ लगाएर बिऊ राखेको थिएँ ।’

बालीमा गोबर मलको धेरै प्रयोग गरिएको उनले बताए । साथै, केही मात्रामा डिएपी र युरियाको पनि प्रयोग गरिएको उनले जनाए ।

मुख्य चुनौती सुगा र किरा

सूर्यमुखी खेतीमा सुगा र किराको मुख्य चुनौती झेल्नु पर्छ । फूल फक्रन लागेको बेलामा सुगाले धेरै दुःख दिन्छ । उनले अहिले दिउँसो खेतीमा सुगा धपाउन मान्छे नै राखेका छन् ।

सूर्यमुखी पाकेपछि दाना झारेर स्थानीय मिलमा प्रशोधन गर्न सकिन्छ । तोरीभन्दा सूर्यमुखीमा धेरै तेल आउँछ । एक मन तोरी बराबर १५ देखि १६ लिटर तेल निस्किन्छ भने सूर्यमुखीबाट २० लिटर तेल निस्किन्छ । सूर्यमुखी खेती बलौटे माटोमा फस्टाउने गरेको छ ।

झापाको पहिलो व्यवसायिक सूर्यमुखी खेती

जिल्ला कृषि विकास कार्यालय, झापाकी सूचना अधिकारी शीतल भट्टराईका अुनसार झापाको कुमरखोद, टाघनडुब्बा, पाँचगाछीलगायतका क्षेत्रमा भने व्यक्तिगत रुपमा सूर्यमुखी खेती हुँदै आएका थिए ।

मौरी चरणका लागि पनि थोरै क्षेत्रफलमा यसको खेती गरिन्थ्यो । झापा गाउँपालिकामा सुरु भएको व्यवसायिक सूर्यमुखी खेतीबारे आधिकारिक रुपमा कार्यालयमा जानकारी नआए पनि यो नै जिल्लाको पहिलो व्यवसायिक सूर्यमुखी खेती हुन सक्ने उनले बताइन् ।

यसअघि तेल प्रशोधन उद्योगको सङ्ख्यामा कमी, सिँचाइको समस्या, जनचेतनाको कमी, सुगा प्रकोपलगायत कारणले यो खेतीप्रति खासै चासो देखाएका थिएनन् ।

तर, प्याकुरेलले भने अर्को वर्ष सूर्यमुखी खेतीको क्षेत्रलाई विस्तार गर्दै २ विगाहा क्षेत्रफलमा यो खेती लगाउने तयारी गरेका छन् ।

कोलस्ट्रोल नहुने भएकाले सूर्यमूखीको तेल स्वास्थ्यको दृष्टिबाट राम्रो मानिन्छ । मानव शरीरको रगतमा कोलस्टोल धेरै भएमा रक्तचाप तथा हृदयसम्बन्धी रोगले च्याप्न सक्ने चिकित्सक बताउँछन् । त्यसैले सूर्यमूखी तेल प्रयोग गर्न सल्लाह दिइन्छ ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?