Comments Add Comment

सुदूरपश्चिममा एमाले-राप्रपा तालमेल प्रयास, कांग्रेस र माओवादी पनि कसरतमा

२५ बैशाख, कैलाली । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सात नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि समिकरणको प्रयास जारी रहेकै बेला एमाले र राप्रपाबीच पनि तालमेलका लागि संवाद र छलफल शुरु भएको छ ।

सात नम्बर प्रदेशसहित १, २, ५ प्रदेशमा दोस्रो चरणमा चुनाव हुँदैछ ।

माओवादी केन्द्रले ७ नम्बर प्रदेशमा पर्ने सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा उम्मेदवारहरु तय गरिसकेको छ । र केही तहमा मात्र उसले उम्मेदवार घोषणा गरेको छैन । एमालेले पनि अधिकांश तहमा उम्मेदवार चयन गरिसकेको जनाएको छ । तर, दुबै पार्टीका नेताहरुले उम्मेदवारी घोषणा भइसकेपनि समिकरणमा त्यसले असर नगर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य तथा सात नम्बर प्रदेश इञ्चार्ज लेखराज भट्टले नेपाली कांग्रेससँग चुनावमा मिलेर जान सहमतिका लागि प्रयास भइरहेको बताए ।

‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी सावदसँग यो विषयमा दुईपटक र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसँग पनि एकपटक छलफल भइसकेको छ,’ माओवादी केन्द्रका नेता भट्टले भने, ‘सरकारमा झै स्थानीय तहको निर्वाचनमा पनि मिलेर जाने विषयमा भएको छलफल सकारात्मक भएको छ ।’

तर कुन ठाउँ कसलाई कसले छोड्ने भन्ने विषयमा भने छलफल भइसकेको छैन । माओवादी नेता भट्टले भने, ‘प्रारम्भिक चरणमा स्थानीय तहको निर्वाचनमा कांग्रेससँग मिलेर जाने लगभग निश्चित भएको छ ।’

यस्तो छ भागबण्डा प्रयास

कांग्रेससँग सहमति भएमा अत्तरीया नगरपालिकामा माओवादीका तर्फबाट मेयरको उम्मेदवार घोषणा गरिएका गोकर्ण भट्ट दुईटै पार्टीका साझा उम्मेदवार हुने निश्चित छ ।

गोकर्ण भट्ट माओवादी केन्द्रका कार्यालय सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टका सहोदर भाइ हुन् ।

कतिपय कांग्रेस र माओवादी कार्यकर्ताले आफ्नो भाइको जीत सुनिश्चित गर्न पनि माओवादी नेता भट्टले कांग्रेससँग सहमतिका लागि जोड गरेको आरोप लगाएका छन् । माओवादी नेता भट्टले भने आफ्नो भाइ भएकै कारण टिकट पाएको र उनलाई जिताउन मात्र समिकरण भइरहेको भन्ने भनाइ संकिर्ण भएको बताए ।

‘मेयर पदका उम्मेदवार गोकर्ण भट्टले मेरो भाइ भएकै कारण टिकट पाएका होइनन्,’ लेखराजले भने, ‘पार्टीको कार्यकर्ताका हैसियतले उसले पुर्‍याएको योगदान र जित्न सक्ने व्यक्ति भएका कारण टिकट पाएको हो ।’

अत्तरीया नगरपालिका कांग्रेसको गढ मानिन्छ । माओवादीले घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिकामा पनि आफ्नो पार्टीलाई सहयोग गर्न कांग्रेसलाई आग्रह गरिरहेको छ । घोडाघोडी र कैलारीमा कांग्रेस र माओवादी प्रतिस्पर्धी हुन् । यदि कांग्रेससँग सहमति भएमा यी दुबै ठाउँमा आफूले जित्ने माओवादीको अनुमान छ ।

धनगढी उपमहानगरपालिकामा भने माओवादीले कांग्रेसलाई छोड्ने संकेत छ ।

माओवादी केन्द्रका नेता भट्टले सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये २५ वटासम्ममा माओवादीले जित्ने दावी गरे । उनले आफ्नो पार्टी तेस्रो स्थानमा भएको समेत स्वीकार गरे ।

कांग्रेससँग सैद्धान्तिक मतभिन्नता रहेपनि चुनावमा भने मिलेर जान बैचारिक तथा सैद्धान्तिक मतभिन्नताले नछेक्ने स्पष्ट पारे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी सावदले पनि सात नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनमा माओवादीसँग मिलेर जाने विषयमा छलफल भएको स्वीकार गरे । तर कहाँ र कति तहमा सहमति गर्ने, कसले कसलाई कहाँ छाड्ने भन्ने निश्चित भइनसकेको उनले जानकारी दिए ।

राप्रपा मौन

उता नेकपा एमालेका सात नम्बर प्रदेशका कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले सात नम्बर प्रदेशमा राप्रपासँग मिलेर स्थानीय तहको निर्वाचनमा मिलेर लड्ने विषयमा छलफल भएको बताए ।

धनगढी उपमहानगरपालिकामा एमालेलाई सहयोग गर्ने विषयमा पनि छलफल भएको नेता सुवेदीले बताए ।

धनगढी उपमहानगरपालिकामा राप्रपाले अहिलेसम्म उम्मेदवार तय गरेको छैन । पार्टीभित्र मेयर पदको आकांक्षी कोही नभएकाले पनि राप्रपा मौन देखिएको छ ।

एमाले नेता सुवेदीले पनि राप्रपासँग सहमतिको प्रयास भइरहेपनि सहमति भने भइनसकेको बताए । नेता सुवेदीले भने, ‘केन्द्रीय स्तरमा राप्रपासँग सहमति भएकाले सात नम्बरमा त्यही सहमतिलाई निरन्तरता दिने विषयमा एमाले सकारात्मक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment