Comments Add Comment

होटलमा युवतीको हत्या गरी भागेका अभियुक्त पक्राउ

२७ बैशाख, काठमाडौं । कोटेश्वरको एक होटलभित्र युवतीको हत्या गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ बस्ने ५१ वर्षीय बद्रीप्रसाद तिमल्सिनालाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । काभ्रेको महांकालचौर-८ बस्ने २८ वर्षीया लक्ष्मी तामाङको हत्या गरेको तिमल्सिनामाथि अभियोग लागेको छ ।

कसरी भयो हत्या

यही बैशाख २३ गते कोटेश्वरस्थित होटल होम एण्ड गेष्टहाउसको कोठा नम्बर ३०४ तामाङ र तिमल्सिनासँगै बसेका थिए । होटलको कोठा बुक गर्ने बेला तिमल्सिनाले नाम, ठेगाना र फोन नम्बर समेत गलत टिपाएका थिए । प्रहरीका अनुसार होटलको कोठा बुक गर्ने बेला नाम बिष्णु सापकोटा र ठेगाना चितवन लेखाइएको थियो । तर, भोलिपल्ट बिहान हत्या भएको अवस्थामा लक्ष्मीको शव कोठा नम्बर ३०४ भित्र फेला परेको थियो ।

लक्ष्मीसँग तिमल्सिनाको करीब १८ महिना पहिलादेखि फोनमार्फत कुराकानी भई चिनजान भएको थियो । सोही दिन आर्थिक कारोबारको बिषयलाई लिएर उनीहरुबीच बिवादसमेत भएको थियो । विवाद चर्किएपछि तिमल्सिनाले लक्ष्मीको घाँटीमा सलले कसेर हत्या गरे । त्यसपछि शवलाई बेडमा नै सिरकले छोपीदिए ।

मृतकको साथमा रहेको सुनको सिक्री १ थान, नेक्लेश १ थान, बेरुवा औंठी १ थान, मुन्द्रा ८ थान, माछा आकारको कानमा लगाउने टप, नगद ५ सय र लक्ष्मीको मोबाइल २ थान समेत लिइ तिमिल्सना होटलबाट निस्किए । होटल होटलबाट बाहिर निस्किँदा म एयरपोर्ट जान्छु भन्दै ३ जनाको लागि खाना अर्डर समेत गरेका थिए ।

तर उनलाई काठमाडौंबाटै प्रहरीले पक्राउ गर्न सफल भएको छ । उनको साथबाट मृतकको मोबाइल १ थान, नगद ९५ हजार रुपैयाँ र सुनको जस्तो देखिने तिलहरी १ थान समेत बरामद भएको प्रहरीले जनाएको छ । अभियुक्त तिमल्सिनालाई थप कानुनी कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment