
२८ वैशाख, काठमाडौं । उद्योग मन्त्रालयले आउँदो बजेटमा महिला उद्यमी समूहलाई २५ लाखसम्म सरल रपमा ऋण दिने व्यवस्था गर्न लागेको छ ।
उद्योग मन्त्री नविन्द्रराज जोशीले आगामी वर्ष उद्यमशील महिला आर्थिक सबलीकरण अन्र्तगत समुहगत रुपमा योजनाका आधारमा २५ लाख सम्म ऋण दिने व्यवस्था गर्न लागेको जानकारी दिए ।
उनले भने ‘उद्यमशिलतामा महिलाको सहभागिता बढाउन यो कार्यक्रम सहयोगी हुन्छ भन्ने हाम्रो अपेक्षा छ, साथै १० वर्षभित्र कुनैपनि नेपाली युवायुवती कामको खोजिमा विदेश जान नपरोस् भन्दै विभिन्न कार्यक्रम पनि ल्याउन लागेका छौं ।’
साथै उनले आगामी वर्ष औद्योगिक स्मार्ट सिटिको निर्माण समेत अघि बढाउने बताएका छन् । सहरी बिकास मन्त्रालयसँग सहकार्य गर्दै हिमाल पहाड र तराईमा गरी एक-एकवटा भूकम्प प्रतिरोधि औद्योगिक नगरको विकास गर्ने योजना सार्वजनिक गरे ।
साथै काठमाडौं र ललितपुरको बाग्मती किनारमा निजी क्षेत्रको लगानीमा मनोरञ्जन उद्योग समेत स्थापना गर्ने जानकारी दिएका छन् ।
आगामी आर्थिक वर्षमा चिन र भारतका सीमा क्षेत्रमा र अन्तर्राष्ट्रिय विमानस्थलका आसपासमा निर्यात प्रवर्द्धन केन्द्र निर्माण गर्ने बताए । उद्योग मन्त्रालयले आगामी आर्थिक बर्ष २०७४/७५ का लागि ६ अर्ब ३५ करोड थप बजेट मागेको छ ।
अर्थ मन्त्रालयले उद्योग मन्त्रालयलाई ८ अर्ब २६ करोडको बजेट सिलिङ तोकेको थियो । तर उद्योग मन्त्रालयले १८ वटा नयाँ कार्यक्रम बनाएर ६ अर्ब ३५ करोड थप बजेट मागेको मन्त्री जोशीले जानकारी दिएका छन् ।
त्यस्तै, आँखामा लगाउने लेन्सको निर्माण गर्न आयात गरिने प्रविधीका लागि सहुलियत दिने पनि सरकारको योजना छ ।
प्रतिक्रिया 4