Comments Add Comment

वायुसेवा निगमले पाएन भाडाको जहाज, फेरि खोल्यो टेण्डर


२८ बैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमले भाडामा जहाज लिनको लागि खोलेको पहिलो टेन्डरमा कुनैपनि कम्पनीले आवेदन दिएनन् । गत बैशाख ११ गते २५ गतेसम्म को म्याद राख्दै भाडामा जहाज उपलब्ध गराउन सक्ने कम्पनीलाई निगमले आबेदन दिन भनेको थियो ।

कुनैपनि कम्पनीले आवेदन नदिएपछि पुन सुचना निकाल्न निगम बाध्य भएको छ । म्याद गुज्रँदासम्म पनि कुनै पनि जहाज कम्पनीबाट आवेदन नपरेपछि वायुसेवा निगमले फेरी टेण्डर आह्वान गरेको हो ।

बैशाख ११ गते निकालिएको सुचनामा एयरबसको ३२० सिरिज उपलब्ध गराउनेले मात्रै आबेदन दिनु भनेर उल्लेख गरिएको थियो । तर यही बुधबार निकालिएको सूचनामा भने एयरबसका ३१९, ३२० र ३२१ सिरिजमध्ये जुन सुकै उपलब्ध गराउन सक्नेले पनि आवेदन दिन सकिनेछ भनेर उल्लेख गरिएको छ ।

निगमका सहायक प्रवक्ता शैलेश कंसकार भन्छन् ‘हामीले राखेको म्यादभित्र कुनैपनि कम्पनीको आवेदन नपरेपछि फेरि दुई हप्ता थपेर नयाँ टेन्डर गरेका हौं ।’ छोटो समयका लागि मात्रै भाडामा जहाज मागिएको हुँदा आवेदन नपरेको उनको भनाई छ ।

चालु अवस्थामा रहेको बोइङ हेभी मर्मतको लागि जान लागेपछि नियमित उडान प्रभावित हुने सक्ने भन्दै निगमले भाडामा जहाज खोजको हो । सञ्चालनमा रहेको एक मात्र बोइङ मर्मतमा लैजानुपर्ने भएपछि नेपाल वायुसेवा निगमले दुई महिनाका लागि भाडामा जहाज खोजिरहेको छ ।

बोइङ मर्मतमा जान लागेपछि निगमको सिट संख्या कम हुन्छ । जसका कारण यात्रुहरुले समयमै सेवा पाउन सक्दैनन् । भाडामा जहाज नपाए निगमले गर्दै आएको दैनिक उडान प्रभावित हुन्छ ।

यात्रुको निगमप्रति रहेको बिश्वासमा कमी नआओस् भनेर भाडामा जहाज ल्याएर भएपनि सेवा दिन लागेको कंसकार बताउँछन् । उका अनुसार निगमले ४५ दिनदेखि २ महिनासम्मको लागि भाडामा जहाज खोजेको हो ।

भाडामा लिएको जहाजलाई निगमले क्वालालाम्पुर, दोहा, दिल्ली र बैंगलोरमा उडान गराउने छ । यसबाहेक अन्य स्थानमा भने आवश्यक परेमा मात्रै उडान भराउने निगमको तयारी छ । भाडामा ल्याएको नयाँ जहाजको उडान आगामी साउन २ गतेदेखि गराउने निगमको तयारी छ ।

भाडामा लिने जहाज जुनसुकै रङको भएपनि हुने निगमका अधिकारीहरु बताउँछन् ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्ससँग अहिले जहाज थोरै छ । दुईवटा बोइङमध्ये एउटा पुरानो भएर लिलामीमा राखिएको छ भने अर्काे मर्मतको लागि एक महिनासम्म सिंगापुरको एसटी एरोस्पेस टेक्नोलोजीमा बस्नेछ ।

अहिले निगमले दुईवटा वाइडबडी एयरबस पनि खरिद गर्न लागेको छ । जुन सन् २०१८ को मे सम्ममा ल्याउने निगमको तयारी छ । जहाजको कमीका कारण अहिले भने यात्रुको बिश्वसनियतामा कमी आउन नदिन निगमले भाडामा जहाज ल्याउन लागेको हो ।

सन् २०१५ मा थपेका एयरबसका कारण अहिले निगमको बजार हिस्सा बढ्दै गएको छ । त्रिभुवन विमानस्थलले २०१५ को तुलनामा सन् २०१६ मा यसको उडानमा ब्यापक सुधार आएको बताउँछ ।

सन् २०१५ मा त्रिभुवन विमानस्थलबाट सबैभन्दा बढी उडान भर्नेमा तेस्रो नम्बरमा रहेकोमा गत वर्ष पहिलो स्थानमा उक्लेको छ ।

बिमान बढेसँगै ˆलाइट क्यान्सिल कम भएका छन् जसका कारण यसमा यात्रुको आकर्षण बढेको छ । यही साखलाई कायम राख्नको लागि नै निमगले भाडामै जहाज ल्याएर भए पनि सेवा सुचारु गर्न लागेको हो ।

तर, कम समयका लागि मात्रै भाडामा जहाज खोजेका कारण भने अहिलेसम्म कुनैपनि जहाज कम्पनीले यसका चासो देखाएका छैनन् । अब भने जहाज कम्पनीले जेठ १४ गतेसम्म भाडामा जहाज उपलब्ध गराउनका लागि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment