Comments Add Comment

सद्भावको गीतमा नेपथ्यको भिडियो

२९ बैशाख, काठमाडौं ।
‘विगतबाट सिक्ने हो, बोकी हिँड्ने होइन
अल्झी बसे एकै ठाउँ, शिखर देखिँदैन
उहिलेको पीडा भुल्न सकौं
मनको मैलो धुन सकौं
अनि पो नेपाली
हामी नेपाली…’

रजत वर्ष मनाउने क्रममा हरेक महिना एउटा भिडियो ल्याउने वाचा गरेको नेपथ्य ब्याण्डले नयाँ गीतको भिडियो सार्वजनिक गरेको छ । यो मे महिनाको कोसेली दर्शकमाझ ल्याएको ब्याण्डका गायक अमृत गुरुङले बताए ।

राजनीतिमा क्षेत्र र जातका कुरा उठेसँगै समाजमा पनि विभाजनको रेखा कोरिँदै जाँदा एकताको सन्देश बोकेको यो गीतलाई ब्याण्डले पछिल्लो समय प्राथमिकताका साथ गाउँदै आएको छ ।

भिडियोमा ‘डबल एक्सपोजर इफेक्ट’ प्रविधि प्रयोग गरी विशेष बनाइएको छ । यस्तो प्रविधिमा एकसाथ दुई वटा दृश्य बगिरहेको हुन्छ । भिडियोमा गायक, वाद्यवादक र उनीहरुको वाद्ययन्त्रले ओगटेको कालो पृष्ठमा दर्शकले आम नेपालीको विविध गतिविधिको झल्को देख्न सक्छन् ।

फिल्मसम्बन्धी अध्ययन गरेका शशांक श्रेष्ठ र उनको समूहले यो म्युजिक भिडियो बनाएको हो । यसको भिजुअल इफेक्ट इशान श्रेष्ठ र सञ्जय प्रजापतिले संयुक्त रुपमा तयार पारेका हुन् । छायांकन भने रकी प्रजापति र किरित राजभण्डारीले गरेका छन् ।

दसवर्षे द्वन्द्वपछि शान्ति प्रक्रियासँगै मुलुकले कोल्टे फेर्न खोजे पनि पछिल्लो समय राजनीतिक नेतृत्वको कमजोरीले नेपालीहरुबीच आशंका बढ्दै गएको छ । यस्तो बेलामा आपसी सद्भाव र एकताको सन्देश दिँदै रवीन्द्र मिश्रले गीत लेखेका हुन् । जसलाई नेपथ्यले संगीतबद्ध गरेको हो । पछिल्लो समय ब्याण्डले देश–विदेशका कन्सर्टहरुमा यो गीत गाउँदै आएको छ ।

‘नेपाली–नेपालीबीच एकताको सन्देश अघि बढाउन संगीत महत्वपूर्ण माध्यम बन्न सक्ने भएकाले हामी त्यही पथमा अग्रसर छौं’, अमृतले सुनाए ।

२५ वर्षे जन्मोत्सवकै क्रममा ब्याण्डले यसपाली आफ्नो दसौं एल्बम सार्वजनिक गर्ने घोषणा समेत गरिसकेको छ । एल्बमका गीतहरुमध्ये ‘कोशीको पानी’, ‘रामारामा’ र ‘शिरफूल’ पछि म्युजिक भिडियो बनाइएको ‘हामी नेपाली’ चौथो गीत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment