Comments Add Comment

लमजुङमा किरियापुत्रीले गरे मतदान

भन्छन्- जनप्रतिनिधि आफै चुन्ने अवसर गुमाउन मन लागेन

रुद्रमावि हर्राबोट केन्द्रमा मतदान गर्न आएका दुर्गाबहादुर अधिकारी

३१ बैशाख, लमजुङ । लमजुङमा चार दिनको किरियापुत्रीले समेत मतदान गरेका छन् । राइनास नगरपालिका-८ डौलियाडाँडाका किरियापुत्री दुर्गाबहादुर अधिकारीले रुद्रमावि हर्राबोट केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान गर्नका लागि घरबाट एक घण्टा लामो बाटो खालि खुट्टा पैदल हिँडेर मतदान केन्द्रमा आएको उनले बताए । पुरोहितलाई साथमा लिएर आएका अधिकारीलाई सहज रुपमा मतदान गर्ने व्यवस्था मिलाइएको स्थानीय कृष्णराज आलियाले जानकारी दिए ।

उनको बुवा सन्तबहादुर अधिकारीको निधन भएको आज चार दिन पुगेको छ । मतदानपछि दुर्गाबहादुरले भने, ‘पिता गुमाउँदा पीडा भएपनि लामो समय पश्चात गाउँ तथा नगरमा आफै प्रतिनिधि चुन्ने अवसर गुमाउन मन नलागेर भोट हाल्न आएको हुँ ।’

यसैगरी लमजुङको दोर्दी गाउँपालिका-२ अन्तर्गत लक्ष्मीनारायण मावि अर्चलबोट केन्द्रबाट एकै घरका चारजना किरियापुत्रीले पनि मतदान गरेका छन् ।

किरियापुत्रीहरु ५७ वर्षीय गोपाल लामिछाने, उनका भाइ ५५ वर्षीय एकराज लामिछाने, गोपालकी श्रीमती शोभा र कान्छी बुहारी शान्ताले मतदान गरेका हुन् ।

आमा मानकुमारी लामिछानेको निधन पश्चात उनीहरु किरिया बसेको आज ११ औं दिन पुगेको छ । उनीहरु सबै करिब आधा घण्टाको पैदल यात्रा गरी मतदान गर्न आएका थिए ।

लामो समयको अन्तरालमा भएको स्थानीय तह निर्वाचनमा योग्य र सक्षम व्यक्ति चुन्न आफ्नो एक भोटले पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले मतदान गर्न आएको गोपालले बताए । ‘आफ्नो गाउँमा जनप्रतिनिधि आफैं चुन्न पाउँदा हामी निकै खुसी छौं,’ उनले भने ।

लक्ष्मीनारायण मावि अर्चलबोट केन्द्रमा ४ सय १५ पुरुष र ४ सय ७८ महिला गरी कुल ८ सय ९३ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment