५ जेठ, चरिकोट । दोलखाको भिमेश्वर नगरपालिकामा मेयर र उपमेयर सहित बहुमत वडाहरु जितेर नेकपा एमालेले आफ्नो वर्चश्व कायम गरेको छ ।
शुक्रबार बिहान सकिएको मतगणनामा ६ हजार ८ सय ५३ मत प्राप्त गरी एमालेका भरत केसी मेयरमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार ईश्वर मानन्धरले ५ हजार ८ सय १५ मत प्राप्त गरे ।
त्यस्तै, उपमेयरमा पनि एमालेकै कमला बस्नेत ७ हजार १७ मत प्राप्त गरेर विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेस-माओवादी गठबन्धनकी कमला कार्कीले २ हजार ८ सय ७९ मत प्राप्त गरेकी छन् ।नगरपालिकाका ९ वडामध्ये एमालेले ७ र कांग्रेसले दुई ठाउँ जितेका छन् ।
दोलखाका जिल्लामा अब मेलुङ गाउँपालिका बाहेक अरु सबै स्थानीय तहको निर्वाचन परिणाम आइसकेको छ । दोलखा जिल्लालाई एमालेमुक्त बनाउने घोषणा गर्दै कांग्रेस र माओवादीले जिल्लाभर गठबन्धन गरेका थिए । तर, पनि एमाले जिल्लाका दुवै नगरपालिका र चार गाउँपालिका जितेर सबैभन्दा ठूलो दल बनेको छ ।
कांग्रेसले माओवादीसँग मिलेर दुई गाउँपालिका जित्दा माओवादीले एउटा पनि गाउँपालिका प्रमुख जित्न सकेन । एमालेले भिमेश्वर र जिरी नगरपालिका सहित तामाकोशी, कालिञ्चोक, शैलुङ र गौरीशंकर गाउँपालिकामा जित हासिल गरेको छ ।
कांग्रेसले वैत्यश्वर र बिगु गाउँपालिकामा जितेको छ । ती गाउँपालिकामा माओवादी केन्द्रले उपाध्यक्ष जितेको छ ।
अब मेलुङ गाउँपालिकाको पवटी बुथमा जेठ ७ गते चुनाव हुनेछ । त्यहाँ बैशाख ३१ गते मतदान भइरहेको बेला कांग्रेसका नेता ताराबहादुर कोइरालाको नेतृत्वमा मतपेटिका नै लुटिएपछि गोली चलेको थियो । प्रहरीको गोलीबाट एक जनाको मृत्यु भएको थियो ।
मेलुङमा माओवादीले कांग्रेसलाई समर्थन गरेको छ भने एमाले एक्लै लडेको छ ।
प्रतिक्रिया 4