९ जेठ, काठमाडौं । संविधानसभाको दोस्रो निर्वाचन ०७० मा एमालेले पाएको ९ हजार २८ मतका विरुद्ध एक्लैले २२ हजार ३ सय ३६ को कीर्तिमान बनाएका स्वास्थ्यमन्त्री गगन थापाको मुख्य मतकेन्द्र थियो, कपन ।
अहिले बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपन तीनवटा वडामा विभाजित छ । १०, ११ र १२ मध्ये सबभन्दा बढी मतदाता र मतदान भएको वडा नं. १० नै थियो, जहाँ ०७० मा गगनले प्राप्त गरेको मतमध्ये अधिकांश हिस्सा ओगटिएको थियो ।
तर, यसपालिको पहिलो चरणको स्थानीय निर्वाचनमा त्यही साविकको कपन, हालको बूढानीलकण्ठ– १० मा खसेको ४ हजार ९ सय ५१ सय मतमध्ये एमालेका प्रत्यासी नवराज भट्टराई एक्लैले कांग्रेसको १ हजार ३३ मतका विरुद्ध २४ सय १०, अर्थात् ४९ प्रतिशत मतका साथ जित हासिल गरे ।
नवराजको जितसँगै चर्चा भयो, गगनको किल्ला तोडियो भनेर । हुन पनि उनको निर्वाचन क्षेत्रको पनि कांग्रेस मतको आधारइलाका मानिने कपनमा एमालेले पाएको मत संविधानसभा निर्वाचनमा गगनले पाएजत्तिकै (४९ प्रतिशत) हुनु नेपाली कांग्रेस र गगनका लागि पनि ठूलो चुनौति बनेको छ ।
कसरी सम्भव भयो त, यस्तो ?
त्यहीँका बासिन्दा तथा पत्रकार बालकुमार नेपालको भाषामा भन्नुपर्दा भत्किएको बाटो, हिलो र धुलोले एक वर्षदेखि कपन छिर्ने सबै नाका अस्तव्यस्त छन् । जनता हिलोमा ग्याजग्याजी खुट्टा गाड्दै निस्कने र छिर्ने क्रमले आक्रोशित छन् । यस्तो दुःखमा कहिल्यै पनि गगन कपनवासीमाझ भेटिएनन् । तर, स्थानीय निर्वाचनका लागि मतदान हुने ४८ घन्टाअघिबाट लागु भएको मौन अवधिमा गगन थापा कपनमा भेटिए । यो मौकाको फाइदा उठायो, एमालेले । उनीहरुले थापालाई भोट माग्न र पैसा बाँड्न आएको भन्दै सार्वजनिक स्थलबाट लखेटे र दुव्र्यवहार गरे ।
यही आक्रोशित जनमतको फाइदा लिएर ३२ वर्षीय एमाले कार्यकर्ता नवराज भट्टराई कपनबाट वडाध्यक्ष निर्वाचित भएका छन् ।
अर्कोतर्फ गगनका कारणले मात्रै नभई नेपाली कांग्रेसले बूढानीलकण्ठको मेयरमा उठाएका उम्मेदवारको पृष्ठभूमिले समेत मतदातालाई विकर्षण गरेको हुन सक्छ ।
तर, अब बिजेता बनेका नवराजका सामु चुनौतिका चाङहरु छन् । गगन थापाले जस्तै लोकप्रिय मत पाएर वडाध्यक्ष जितेका नवराजले आफ्नो लोकप्रियता जोगाइराख्न यही सडकको दुरावस्था उनका लागि चुनौति बनेको छ ।
को हुन् नवराज ?
नवराज नाताले त्यही क्षेत्रलाई कार्यक्षेत्र बनाएका एमाले नेता तथा समानुपातिक सांसद राजन भट्टराईका भतिजा हुन् । बुबा साल्ट टे«डिङ कम्पनीका जागिरे र त्यहाँस्थित एमालेसमर्थित कर्मचारी युनियनका अध्यक्ष छन् । उनी घरको एक्लो छोरो हुन् ।
हुर्किएर छोरोले कमाउँछ र घरायसी गर्जो टार्छ भन्ने अपेक्षा अभिभावकमा हुने नै भयो । २० वर्षको उमेरमा उनले जागिर थाले, त्रिकोण एड्भरटाइजिङ एजेन्सीमा । पछि आफैँले अर्को एजेन्सी खोले, मिडिया बास्केट नामको ।
माइन्ड स्पेश र एण्ड मार्केटिङ नामक कम्पनी खोलेर स्वदेशी उत्पादनका जुत्ताको प्रवद्र्धन गर्न इभेन्ट म्यानेजमेन्टमा लागे । तर, आयमूलक इलम रोजेका उनलाई प्यारो भयो, राजनीति ।
युवा संघ कपनको उपाध्यक्ष हुँदै अध्यक्ष र एमाले गाउँ कमिटीको सदस्य हुँदै सचिव, उपाध्यक्ष र अध्यक्षसम्म भए उनी ।
नवराज अहिले राष्ट्रिय ह्याण्डबल संघका केन्द्रीय सदस्य पनि छन् । उनी पैसा कमाउन भन्दा नाम कमाउनतिरै बढी लागे ।
कपन गाविस नै रहेको भए नवराज यो स्थानीय निर्वाचनमा के हुन्थे, थाहा छैन । तर, नगरपालिका भएपछि कार्यकारी अधिकारप्राप्त वडा कार्यपालिकाको प्रमुख, अर्थात् वडाध्यक्ष हुनु साविकको गाविस अध्यक्षभन्दा पनि बढी भूमिका हो ।
भट्टराईले अब सोही क्षेत्रका सांसद गगन थापासँग समेत समन्वय गरेरै कपनको विकास गर्ने लक्ष्य राखेका छन् ।
नाकाबन्दीमा कपन
कपन चारैतिरबाट नाकाबन्दीको अवस्थामा छ । काठमाडौं जिल्लाभित्र सबैभन्दा धेरै जनघनत्व रहेको ठाउँ हो कपन । र, मतदाताको हिसाबले काठमाडौं महानगरपालिकापछिको ठूलो स्थानीय तह हो बूढानीलकण्ठ नगरपालिका । तर, अहिले बूढानीलकण्ठको कपन क्षेत्र लगभग नाकाबन्दीमा छ ।
गोपीकृष्ण, रामहिटी, महांकाल, सुकेधारा, मण्डिखाटारलगायतका नाकाबाट छिरेपछि नरकयात्राको अनुभूति गर्छन् मान्छेहरु । कुनै पनि सडक सहज अवस्थामा छैनन् । कपन छिर्ने सबै नाकाका सडक हिलाम्य, धुलाम्य र बन्द अवस्थामा छन् ।
नवराजले अब बूढानीलकण्ठ नगरपालिकाको साधन स्रोत उपयोग गरेर सडक व्यवस्थित गर्न सम्बन्धित पक्षहरुसँग समन्वय गर्ने तत्कालीन योजना बनाएका छन् ।
सडक र मेलम्ची खानेपानीसँग कुरा गरेर कपनका सडकलाई गाडी गुड्न योग्य बनाउने, खानेपानीको व्यवस्थापन र खहरे खोला क्षेत्रको बस्ती जोखिम न्युनीकरण गर्ने जस्ता कामलाई उनले प्राथमिकता दिएका छन् ।
कपनमा जसरी जनघनत्व बढिरहेको छ, यहाँका बासिन्दाको अपेक्षा पनि नवनिर्वाचित जनप्रतिनिधिमाथि बढी नै छ । लोकप्रिय मत पाएर जितेका नवराजका सामु यी चुनौतीका चाङहरु पहाड बनेर उभिएका छन् ।
प्रतिक्रिया 4