Comments Add Comment

तपाईको बच्चाको स्मरणशक्ति कमजोर छ ? यसो गर्नुहोस्

'मेरो बच्चाले पढ्दै पढ्दैन, पढेको कुरा पनि बुझ्दैन'

कुनैपनि कुरा ग्रहण गर्ने तरिका र क्षमता भिन्न-भिन्नै हुन्छ, हरेक बच्चामा । पढेको, हेरेको, सुनेको कुरा बुझ्न र स्मरण गर्न सक्ने क्षमतामा पनि एकरुपता हुँदैन । कोहि तिक्ष्ण बुद्धिका हुन्छन्, कोहि कमजोर । त्यसैले बच्चाहरुलाई एकअर्कासँग तुलना गरेर हेर्नु आफैमा मूर्खता हो ।

अक्सर अभिभावकको गुनासो हुन्छ, ‘मेरो बच्चाले पढेको कुरा सम्झन सक्दैनन् ।’ यसमा उसको ग्रहण गर्ने क्षमता मात्र होइन, पढाउने वा बुझाउने विधीमा पनि कमजोरी हुन्छ । कुनैपनि कुरा पढाउँदा, बुझाउँदा कसरी प्रभावकारी हुन्छ भन्ने कुरामा हामीले ख्याल गर्नुपर्छ, ताकि बच्चाले त्यसलाई सहजै स्मरण गर्न सकोस् ।

भिजुअलाइज गर्ने प्रयास गरौं

कुनैपनि कुरा स्मरणिय बनाउन एवं सहजै ग्रहण गर्नका लागि राम्रो तरिका हो, भिजुअलाइज गर्नु । जुन कुरा हामी बच्चालाई पढाउन वा बुझाउन खोज्छौं, त्यसलाई सदृश्य प्रस्तुत गर्नुपर्छ । बच्चाको दिमागमा त्यसको तस्विर बनाउन सकिन्छ, जुन उसले पढ्ने कोसिस गरिरहेका छन् । यसका लागि भिजुअल गेम्स, प्ले कार्ड्स जस्तै कुनैपनि चिजको साहारा लिन सकिन्छ । हरेक कुरा बुझाउँदा बच्चाको मस्तिष्कमा त्यसको तस्विर उतार्ने प्रयास गर्नुपर्छ ।

उसलाई पढाउन दिनुहोस्

बच्चाहरु आफुभन्दा ठूलाको नक्कल गर्न खोज्छन् । उनीहरु शिक्षक जस्तै बनेर पढाउने अभ्यास पनि गर्छन् । यसलाई अभिभावकले थप प्रेरित गर्नुपर्छ । बच्चालाई शिक्षक जस्तै बन्न दिने र उसले जानेको कुरा पढाउने अभ्यास गराउनुपर्छ । पढाउने काममा अभ्यस्त हुँदै गएपछि अलि जटिल विषयमा पनि उसलाई पढाउन प्रेरित गर्नुपर्छ । जब उसले पढाउन थाल्छ, ठूलो स्वरले बोल्न लगाउने । बोर्डमा लेख्न लगाउने । साथै उसले पढाएको कुरा दोहोर्‍याउन लगाउने । यसले उसको स्मरण क्षमता बढाउँछ ।

प्रश्न सोधौं

जब तपाई बच्चाको साथमा रहनुहुन्छ, केहि प्रश्न गर्नुहोस् । जस्तो कि, तिम्रो दिन कसरी वितिरहेको छ ? बिद्यालयमा तिम्रो साथी को-को छन् ? आदि । उसले खाएको खानेकुरा वा लगाएको लुगाको बारेमा पनि प्रश्न गर्नुहोस् । अघिल्लो हप्ता उसले सबैभन्दा मीठो खानेकुरा के खाएको थियो ? वा उसको रमाइलो क्षण कुन थियो ? जस्ता प्रश्नले पनि उसको स्मरण शक्ति बढाउन मद्दत गर्छ ।

कलर कोड

कुनैपनि अक्षर चिनाउँदा वा पढाउँदा रंगको माध्याम अपनाएर स्मरणिय बनाउन सकिन्छ । अक्षरलाई भिन्न भिन्नै रंगले हाइलाइट गर्ने वा अन्डरलाइन गरेर पढाउँदा उनीहरुले रंगको माध्यामबाट पनि सो कुरा स्मरण गर्न सक्छन् ।

जानकारीलाई टुक्रा-टुक्रा गर्ने

खानेकुरा जस्तै कुनैपनि जानकारीलाई स-सानो हिस्सामा बाढ्नुहोस् । जस्तो कुनै पाठ, कथा, कवितालाई एकमुष्ठ पढाउने भन्दा पनि स-सानो हिस्सामा विभाजन गरेर पढाउनु पर्छ । होमवर्कलाई पनि यसैगरी विभाजित गर्न सकिन्छ, ताकि उसले त्यसलाई सजिलै र लामो समयसम्म याद राख्न सकोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment