Comments Add Comment

रोचक बन्दै भरतपुरको मतगणनाः देवी र रेणुको मतान्तर घट्यो

१४ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा प्रवेश गरेको छ । तर, जितको अनुमान लगाउन सक्ने अवस्था छैन । त्यसैले भरतपुर महानगरको मेयर को बन्ला भन्ने चासो घटेको छैन ।

आइतबार दिउँसो वडा नम्बर २१ को मत गणना सकिँदा एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता निकै घटेको छ । देवी र माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालको मतान्तर ७८४ मा झरेको छ । देवीले ४० हजार ९८० मत पाएका छन् भने उनलाई पछ्याइरहेकी रेणुको मत ४० हजार १९६ छ ।

वडा नम्बर २१ बाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी अध्यक्ष पदमा विजयी भएका छन् ।

अब अहिले १९ नम्बर वडाको गणना सुरु भएको छ । र, २० नम्बर वडाको गणना पनि हुन बाँकी छ । दुबै वडा मुलत कांग्रेसले वडाध्यक्ष जित्ने वडाहरु हुन् । तर, वडा नम्बर १९ आफूले जित्ने एमालेको दाबी छ ।

वडा नम्बर १९ मा २ हजार ८६० मत खसेको छ । यो वडामा करिब २५० मतले आफू पछि पर्ने एमालेको आंकलन छ । तर, मेयरका उम्मेदवार ज्ञवाली भने यति धेरै अन्तर नहुने र आफ्नो पार्टीका वडाध्यक्षले समेत चुनाव जित्ने दावी गर्दछन् ।

जारी मतगणनामा निर्णायक भने वडा नम्बर २० हुनेछ । २० नम्बर वडाको मतगणना सुरु हुँदा ६ सयदेखि ७ सय मतको अग्रता लिन नसकिए निर्वाचन परीणाम जे पनि हुन सक्ने अनुमान एमालेको छ ।

यो वडा माओवादीबाट सुरुमा उपमेयरमा उम्मेदवारी दिएका सुरेन्द्र गुरूङको पनि वडा हो । तर पछि कांग्रेससँग तालमेल भएपछि गुरुङले उम्मेदवारी फिर्ता लिएर कांग्रेसकी पार्वती शाहलाई समर्थन गरेका थिए । यद्यपी वडामा माओवादीको प्रभाव त्यति ठूलो भने छैन ।

तर, दुबै वडाबाट कांग्रेसको मत एमालेलाई गएको हुन सक्ने भएकाले माओवादीका मेयर उम्मेदवार रेणु दाहाल विश्वस्त बन्न सक्ने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment