Comments Add Comment

द्वन्द्व पीडित जनप्रतिनिधि : जसले १५ वर्षपछि जनताबाट न्याय पाइन्

सिउँदो पुछिएकी सुनिता भन्छिन्-युद्धका डोब मेट्दै सबैलाई न्याय दिनेछु

१८ जेठ,चौतारा । स्थानीय तहको चुनावले युद्धका डोबहरु समेत मेटाउदैछ । यसको उदाहरण हुन्,सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष सुनिता अधिकारी ।

१५ वर्ष अघि अर्थात २०५९ सालमा संकटकाल लागेकै बेला उनका पति युक्तप्रसाद अधिकारी तत्कालिन विद्रोही माओवादीबाट मारिएका थिए । पतिको हत्यापछि बदलाभावले एमालेको राजनीतिमा लागेकी सुनिताले बल्ल न्याय पाइन्,जनताको अदालतबाट ।

निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार भन्दा एक हजार भन्दा बढी मत पाएर सुनिता गाउँपालिकाको उपप्रमुख भइन् ।

पतिको हत्यापछि राजनीतिमा

उनका पति युक्तप्रसाद पनि जनप्रतिनिधि थिए । अधिकारीले ०५४ को स्थानीय निकाय निर्वाचनबाट थाङपालधाप-७ मा वडा अध्यक्ष जितेका थिए । वडा अध्यक्ष जितेपछि जनतामाझ भिजेका उनलाई युद्धरत माओवादीले ‘सुराकी’ को आरोप लगाउँदै आएकोे थियो । सुराकीकै अभियोग लगाएर विद्रोही माओवादीले युक्तबहादुरको हत्या गरेको थियो ।

०६० साल फागुन १६ गते बेलुका । सुनिता माइती घरमा थिईन् । खाना खाएर सुत्ने तरखर गरिरहेकाबेला बाहीरबाट कसैले ढोका ढक्ढक्यायो । ‘ढोका खोल’ भन्दै बाहीरबाट ढकढक गरेपछि सुनिताले ढोका खोलिन् ।

४ जनाको समुहमा सेनाको भेषमा आएका हतियारधारी मान्छेहरु प्रवेश गरे । ‘युक्तबहादुर कहाँ छ ?’ भन्दै उनीहरुले घरभित्र आतंक फैलाए । त्यसपछि सुनितालाई पनि ‘घर हिंड’ भन्दै जवर्जस्ती रुपमा लगे ।

घरमा पुग्दा युक्तबहादुरलाई चोटाको कोठामा थुनेर राखेका थिए । त्यसपछि उनलाई लिएर हिडेका माओवादी कार्यकर्ता पनि फर्किएनन् र सुनिताका पति पनि कहिल्यै फर्किएनन् ।

भोलिपल्ट विहानै वरडाँडामा युक्तवहादुरको शब भेटियो भन्ने खबर सुने पनि उनी त्यहाँ जान सकिनन् । टाउको र शरीर छुट्टएिको पतिको शव हेर्न नसकेर उनले त्यही दिनदेखि यो राज्यबाट न्याय पाउँदिन,यही गाउँका जनताले एक दिन न्याय दिनेछन् भन्ने संकल्प गरेर राजनीतिमा लागेको बताइन् ।

र अन्तमा.जनताले न्याय दिए

यो १५ वर्ष सुनिताले निकै सर्घष गर्नुपर्‍यो,श्रीमानको हत्यापछि छोरा छोरी मात्रै होइन सासुसुरा पाल्ने जिम्मा पनि उनकै थियो । तर पनि उनले कहिल्यै हिम्मत हारिनन् र त आज त्यही हिम्मतको कारण उनी गाउँपालिकाको उपप्रमुख समेत भइन ।

श्रीमानको हत्यापछि उनलाई नेकपा एमालेले राजनीतिमा स्पेस दिएको थियो । एमाले जिल्ला कमिटी सदस्य समेत रहेकी सुनिता विभिन्न संघ संस्थामा समेत आवद्ध छिन् । एउटा सर्घषपूर्ण जीवन बिताउँदै आएकी सुनिताको जीवनमा पतिले छाडेर गएको जनप्रतिनिधिको बाँकी अभिभार फेरि उनको काँधमा आएको छ ।

गाउँपालिका उपाध्यक्षको जिम्मेवारी न्यायिक निरुपण गर्ने हो भन्ने कुरा सुनिताले बुझेकी छन् । त्यसैले उनी युद्धका डोबहरु उप्काउन चाहान्नन् । सबैलाई समान न्याय दिने र बिगत सम्झेर भेदभाव नगर्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छन् । ‘युद्धले धेरैका सिउँदो पुछेको छ,धेरैको काख रित्तिएको छ,ममता खोसिएको छ,अब ती सबै बिगत बिर्सेर समान न्यायको लागि काम गर्नुछ’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment