Comments Add Comment

एमाले प्युठानले टुंगो लगायो उम्मेदवार, शिक्षक, पत्रकारदेखि व्यवसायीसम्मले पाए टिकट

२२ जेठ, प्युठान । नेकपा एमाले प्युठानले जिल्लाका नौ वटै तहका उम्मेदवारहरु सार्वजनिक गरेको छ । सोमबार सदरमुकाम खलंगासमेत पर्ने मल्लरानी गाउँपालिकाका उम्मेदवारहरुको घोषणासँगै सबै तहका उम्मेदवारहरुको अन्तिम टुंगो लागेको निर्वाचन परिचालन कमिटीका संयोजक पूर्वसांसद वीरबहादुर सिंहले जानकारी दिए ।

एमाले प्युठानका उम्मेदवारहरुमा पुराना नेताहरुदेखि शिक्षक, पत्रकार, युवा, निर्माण व्यवसायीसम्म छन् ।

प्युठान नगरपालिकामा जिल्ला अध्यक्षसमेत रहेका तुल्सिराम शर्मा प्रमुख र शान्ता आचार्य उपप्रमुखको उम्मेदवार रहेकी छन् ।

स्वर्गद्वारी नगरपालिकामा नेत्रबहादुर रोकाय प्रमुख र गोमा रेग्मी उपप्रमुखको उम्मेदवार छन् ।

सदरमुकाम खलंगासमेत पर्ने मल्लरानी गाउँपालिकामा प्यूठानका पुराना पत्रकार इमानसिंह भारती अध्यक्षको उम्मेदवार छानिएका छन् । उनले पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, सामुदायिक रेडियो प्रशारक संघ जस्ता सामाजिक क्षेत्रहरुको नेतृत्व गरिसकेका छन् ।

मल्लरानी गाउँपालिकाको उपाध्यक्षमा एमालेको पहिलो गाउँकमिटी अध्यक्षसमेत रहेकी सरिता पोख्रेल भिड्दै छिन् ।

झिमरुक र नौबहिनी गाउँपालिकामा निर्माण व्यवसायीहरु क्रमशः मानबहादुर जि.सी. र डिलाराम थापा अध्यक्षको उम्मेदवार हुन् । झिमरुकमा देवा गिरी र नौबहिनीमा चित्रकली बुढा उपाध्यक्षको उम्मेदवार छानिएका छन् । महिला उद्यमीका रुपमा परिचित बुढा राष्ट्रिय अल्लो उद्यमी संघको केन्द्रीय अध्यक्ष समेत हुन् ।

गौमुखी गाउँपालिकामा एमालेका पुराना नेताका रुपमा चिनिएका रतिमान राना अध्यक्षको उम्मेदवार छन् भने उपाध्यक्षमा ज्ञानु के.सी. चुनावी मैदानमा छन् । राना साविक अर्खा गाविसका निवर्तमान अध्यक्ष समेत हुन् ।

यसैगरी टिकाबहादुर गुरुङ ऐरावती गाउँपालिकाको अध्यक्ष पदमा भिड्दै छन् भने उपाध्यक्षमा जिल्लाको बिकट क्षेत्र मानिने दाङवाङको प्रतिनिधित्व गर्दै बसन्ता आचार्य उम्मेदवार बनेकी छन् ।

चुनावी प्रतिस्पर्धामा उत्रिनेहरुमा युवा पनि सहभागी छन् । एमालेको युवा संगठन युवा संघ नेपाल प्यूठान जिल्ला अध्यक्ष समेत रहेका श्रीधर रोका माण्डवी गाउँपालिकाको अध्यक्षको उम्मेदवार हुन् भने यहाँबाट उपाध्यक्षमा सम्झना घर्तीले एमालेबाट टिकट पाएकी छन् ।

माध्यमिक तहको अंग्रेजी विषयमा स्थायी शिक्षकबाट राजीनामा दिएर सरस्वती मावि हंसपुर चाभामा सहप्रचार्य रहेका झगबहादुर विश्वकर्मा सरुमारानी गाउँपालिकाको अध्यक्षका लागि चुनावी प्रचारमा होमिएका छन् । पूर्व-पश्चिम राजमार्गबाट प्युठान भित्रने ‘ढोका’ समेत रहेको सरुमारानीको उपाध्यक्षमा एमाले नेतृ मिना सोमै उम्मेदवार छिन् ।

राष्ट्रिय जनमोर्चासँगको तालमेलको तयारीका कारण एमालेले उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेको थिएन । तर, जनमोर्चाले तालमेल नगर्ने निर्णय गरेपछि एमालेले आफ्ना उम्मेदवारहरु टुंगो लगाएको हो ।

उम्मेदवारहरुको नामावली टुंगो लागेसँगै प्रचारप्रसार समेत शुरु भएको एमाले ५ नम्बर प्रदेशका सदस्य एवं जिल्ला कमिटीका निवर्तमान अध्यक्ष हरिप्रसाद रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment