Comments Add Comment

दुई बालिका मृत्यु प्रकरणले माडी अशान्त, आज माडी बन्द

२३ जेठ, चितवन । दक्षिण चितवनको माडीको रामराज्यपुरका दुई बालिकाको मृत्यु प्रकरणको विषयलाई लिएर आज माडी बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बन्दका कारण बिहानैदेखि भरतपुर–माडी ठोरी चल्ने सवारीसाधन ठप्प छन् । पानीमा डुबेर मरेको भनिएका दुई बालिकाको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्न आज बन्द गरिएको स्थानीयले बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट महिला सञ्जालको नेतृत्वमा विभिन्न सङ्घसंस्थाको सहभागितामा बन्द आह्वान गरिएको जनाइएको छ ।

बालिकाको शरिरका विभिन्न ठाउँमा चोट देखिएको र रगत समेत देखिएको भन्दै कसैले हत्या गरेको आशङ्का उनीहरुको छ । सो घटनाको विषयमा महिला सञ्जालले दबाब दिएपछि चिकित्सक, प्रहरी तथा अनुसन्धानको टोली सोमबार घटनास्थल पुगेर स्थलगत निरीक्षण समेत गरेको छ ।

भरतपुरमा पनि महिला सञ्जाललगायत विभिन्न सङ्घसंस्थाले घटनाको गहिरो अनुसन्धान गरेर दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

शनिबार साथीहरुसँग पिकनिक खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीया दीपशिला परियार र ११ वर्षीया दिपीका सुनारलाई पोखरीमा डुबेको अवस्थामा फेला पारिएको थियो । उनीहरुको उपचारका क्रममा सोही दिन साँझ मृत्यु भएको थियो ।

शव परीक्षण प्रतिवेदन अलि अस्पष्टजस्तो देखिएकाले घटनास्थलमै पुगेर स्थलगत अवलोकन गरिएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए ।

उनले गुप्तांग, खुट्टाको काप, कानको लोतीमा टोकेको देखिएकाले केले टोकेको हो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि पिकनिकमा संलग्न १६ वर्ष माथिका तीनजनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उनको भनाइ छ । सो घटनापछि माडीका स्थानीयले भने प्रदर्शन जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment