Comments Add Comment

अनमोलदेखि पलसम्म, नयाँ पुस्तामा रेश जित्ने होडबाजी


यो बर्षलाई नेपाली चलचित्र क्षेत्रका नयाँ पुस्ताका कलाकारको भिडन्तको रुपमा हेर्दा फरक पर्दैन । यो बर्ष रिलिज हुने आशातित चलचित्रकोे सूची हेर्ने हो भने, नयाँ पुस्तामा अबको स्टार बन्ने दौडमा सामेल भएका आधा दर्जन बढी कलाकारको स्टारडमको परिक्षा यो बर्ष हुँदैछ । कोही भन्दा कोही कम भएको खण्डमा पनि, लामो समयसम्म मिडिया र दर्शकको चर्को प्रेसर धान्न उनीहरु तयार हुनुपर्नेछ ।

आउनुहोस्, हामीले यहाँ नयाँ पुस्ताका ती कलाकारको चर्चा गर्दछौ, जो स्टारडमको लडाडमा यो बर्ष सामेल हुँदैछन्ः

१. अनमोल केसीः नयाँ पुस्ताका स्टार नायकको रुपमा चिनिन्छन् अनमोल केसी । जसको यो बर्ष ‘कृ’ नाम चलचित्र रिलिज हुँदैछ । अनमोलकै कारण यो चलचित्र सुपरहिट हुन्छ भन्ने अड्कल लगाइएको छ । करिब डेढ बर्षपछि पर्दामा देखिन लागेका अनमोल अहिलेसम्म यो दौडमा अगाडि छन् ।

४ वटा चलचित्र लगातार सुपरहिट दिएपछि स्टारको सूचीमा अग्रस्थानमा रहेका अनमोलले २० लाख पारिश्रमिक लिएर पनि चर्चा पाइसकेका छन् । उनले २० लाख पारिश्रमिक लिनुको अर्थ यो बर्ष पुष्टी मात्र गर्नुपर्ने छैन, करिब साढे २ करोड लगानीमा बनिरहेको यो चलचित्रको लगानी पनि सुरक्षित गरिदिनुपर्नेछ । अनमोललाई पछ्याउँदै उनलाई उछिन्ने दौडमा अन्य नायकहरु पनि दौडिरहेका छन् । यसैले पनि यो बर्ष अनमोल केसीका लागि विशेष बर्षको रुपमा रहने देखिएको छ ।

२. पल शाहः पहिलो चलचित्र ‘नाई नभन्नु ल ४’मा काम गरेर धेरैको नजरमा परेका नायक पल शाह पनि यो बर्ष चर्को दबाबमा रहनेछन् । असार ३० गते उनी अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु’ रिलिज हुँदैछ ।

यो चलचित्रको व्यापारले उनी स्टारको रेशमा नै रहिरहन्छन् कि बाहिरिन्छन् भन्ने देखाउँनेछ । म्यूजिक भिडियोमा सर्वाधिक रुचाइएपछि चलचित्रमा आएका पल नयाँ पुस्तामा अगाडि जान सक्ने नायकको रुपमा हेरिएका छन् । यो बर्ष उनको भदौ ३० मा ‘जोनी जेन्टलम्यान’ पनि रिलिज हुँदैछ । स्टारडमको लडाई पलका लागि पनि त्यती सहज छैन । हेरौ, उनले यो दौडमा कस्तो नजिता देखाउनेछन् ।

३. प्रदिप खड्काः चलचित्र ‘प्रेमगीत’बाट उदाएका नायक प्रदिप खड्का यो बर्ष ‘प्रेमगीत २’ मार्फत साउन १३ गतेबाट दर्शकमाझ आउँदैछन् । एउटै चलचित्रबाट राम्रै यूवती फ्यान कमाएका प्रदिपको काँधमा निर्माता सन्तोष सेनको करोडौ लगानीमा बनेको चलचित्रको अभिभारा छ । यो बर्ष उनीसँगै नयाँ पुस्ताका आधा दर्जन नायकहरु पनि पर्दामा देखिने भएकाले उनका लागि सहज छ भन्ने सकिदैन । ‘प्रेमगीत २’को व्यापारले उनको करिअरमा ठूलो अर्थ राख्नेछ ।

४. आयुष्मान देशराज जोशीः नायिका प्रियंका कार्कीसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेका नायक आयुष्मान देसराजको यो बर्ष चलचित्र ‘कथा काठमाण्डु’ रिलिज हुनेछ । पहिलो चलचित्र ‘चपली हाइट २’मा उनले गरेको अभिनयको सर्वत्र चर्चा भयो । नयाँ पुस्तामा स्टार बन्ने छनक बोकेका आयुष्मानका लागि यो लिगलिगे दौडमा दौडन सजिलो भने छैन । उनीसँगै चकलेटी अनुहार भएका नायकहरु पनि यो दौडमा दौडिएकाले उनी एक्लो छैनन् । यसैले आयुष्मानका लागि अरुलाई उछिनेर अगाडि बढ्न राम्रै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

५. सलिनमान बाँनियाः हुनत, दर्शकले नव-नायक सलिनमान बाँनियाको अभिनय देखिसकेका छैनन् । तर, चलचित्र ‘ए मेरो हजुर २’को शिर्ष गीतमा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहसँग रोमान्स गरेसँगै सलिनको चर्चा यूवतीमाझ खुबै छ । कतिपयले त उनलाई अब अनमोल केसीलाई टक्कर दिने नायकको रुपमा समेत हेर्न थालेका छन् । यो चलचित्र चलेको खण्डमा सलिनमानको उच्च डिमाण्ड नेपाली चलचित्रमा हुने पक्का छ । नयाँ पुस्तामा संभावना बोकेका यी नायकले यो बर्ष चर्को भिडन्तमा आफूलाई होम्नु पर्नेछ ।

६.आशिरमान देसराजः चलचित्र ‘ग्याङस्टार ब्लूज’का लागि ६ महिना शरीर बनाएर चलचित्रको पर्दामा देखिएका नायक आशिरमान देसराजलाई नयाँ पुस्ताका उदाउँदा स्टारको रुपमा विश्लेषण गर्न थालिएको छ । दोश्रो चलचित्र ‘ब्रेकअप’का लागि उनले १५ लाख पारिश्रमिक लिएको चर्चासँगै उनी सबैको नजरमा छन् ।

यूवती क्रेज राम्रै बटुलेका आशिरमानको अग्लो कद र चकलेटी अनुहारका फ्यान धेरै छन् । यो बर्ष उनी ‘ग्याङस्टार ब्लूज र ब्रेकअप’को साथ दर्शकमाझ आउनेछन् । चलचित्रको सफलता र असफलताले यी नयाँ पुस्ताका उदयमान नायकलाई धेरै नै फरक पार्नेछ ।

आ-आफ्नै शैलीका कारण चर्चामा आएका यी आधा दर्जन नयाँ पुस्ताका कलाकारले यो बर्ष स्टारडमको परिक्षा दिनेछन् । कुन नायकको स्टारडम कती भन्ने लेखाजोखा यो बर्ष हुनेछ । नेपाली चलचित्रमा अहिले नयाँ पुस्ताको स्टार नायकको खोजी भैरहेको छ । जसमा, अनमोल केही कदम अगाडि बढिसकेका छन् । तर, एउटा चलचित्रको व्यापारले पनि उनको यो यात्रा विथोलिन सक्छ । हेरौ, यो दौडमा कुन कलाकार अगाडि र कुन कलाकार पछि नै छुट्ने हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment