Comments Add Comment

पाल्पामा बढ्यो चुनावी चहलपहल

मतदाता भन्छन् – विकास गर्नेलाई रोज्छौं

२५ जेठ, पाल्पा । आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा पुनः चुनावी चहलपहल सुरु भएको छ ।

वैशाख ३१ को स्थानीय तह निर्वाचनको मिति एक महिनापछि सरेपछि केही समय सुनसान बनेको चुनावी चहलपहल अहिले पुनः बढेको छ । असार १४ गतेको मिति नजिकिँदै जाँदा जिल्लामा क्रियाशील राजनीतिक दलका नेता कार्यकर्ता चुनावी माहोल बनाउनमा व्यस्त छन् ।

जिल्लामा रहेका नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता तथा उम्मेदवार घरदैलो अभियानमा जुटेका छन् ।

जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामा चुनावी सरगर्मीले ढपक्कै ढाकेको छ ।

गाउँ गाउँमा दिनहुँ विभिन्न राजनीतिक दलका उम्मेदवार, नेता कार्यकर्ता गाउँ पस्दा गाउँ नै अहिले चुनावमय बनेको छ ।

उनीहरु आ–आफ्ना पार्टीका एजेन्डा, कार्ययोजना बोकेर मतादातासमक्ष भोट माग्न थालेका छन् ।

स्थानीय तहको निर्वाचनपछि जनताका समस्या, गाउँका विकास निर्माण, सडक, खानेपानीलगायतका समस्याको समाधान हुने आशामा यहाँका मतदाताले पनि यस पटकको निर्वाचनलाई विशेष महत्वका साथ लिन थालेका छन् ।

निर्वाचनका लागि भोट माग्न गाउँ पुगेका उम्मेदवार, नेता कार्यकर्तासमक्ष मतदाताले भने गाउँका समस्या, सडक, खानेपानी, बिजुलीको समस्या समाधान हुने भएमा मात्र भोट दिने निस्दी गाउँपालिका–२ सहलकोटका दिलबहादुर रानाको भनाइ छ ।

‘पहिला पहिलाको चुनावमा झुटा आश्वासन दिएर नेताहरु चुनावी प्रचारप्रसार गर्न गाउँ आए, अब झुटा आश्वासन होइन, राम्रो एजेन्डा लिएर गाउँको विकास गर्नेलाई मात्र भोट’, रानाले भने ।

जिल्लामा मुख्यरुपमा क्रियाशील नेपाली काँग्रेस र एमालेबीच यस पटकको चुनावमा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी मैदानमा उत्रिएका विभिन्न राजनीतिक दलका उम्मेदवार, नेता कार्यकर्तालाई चुनावको प्रचारप्रसार गर्न भ्याइनभ्याइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment