Comments Add Comment

कर्णालीमा धेरै राम्रा कुरा छन्, तर त्यसको चर्चा हुँदैन

आजकल म काठमाण्डौंमा बस्छु । नेपालको राजधानी हो काठमाण्डौं । राजधानीमा बसेर कर्णालीको गाउँलाई सम्झन्छु भन्नु बकम्फुसे कुरा हुन भन्ने कतिलाई लाग्नसक्छ भने कतिलाई बेतुकको कुरा लाग्नसक्छ । काठमाण्डौंमा बसेर कर्णालीको सम्झना ! यहाँ किन कर्णालीको सम्झना ? के तुक छ यो सम्झनामा ? कर्णाली सम्झनाको के तारतम्य ? अचम्म लाग्नु अस्वाभाविक होइन।

धेरै मान्छेको दिमागमा भरिएको छ, कर्णाली भनेको दु:खको सागर हो। विकासविद हौं भन्नेहरुले, राजनीतिज्ञ हौं भन्नेहरुले कर्णालीलाई चरम खाद्य संकट, गरिबी र अविकास र अभावै अभावको थलो हो भनेर चिनाए । चिनाउनेहरुले यसैगरी चिनाए कर्णालीलाई । यसैगरी चिनाइयो। विकासविद्हरू,जागिर खानेहरू,राजनीति गर्नेहरू पत्रकारहरू यसैगरी आफ्नो दुनो सोझ्याईरहेछन् । म कर्णालीमा १२ वर्षसम्म लगातार डेरा जमाएर बसेको छु । कर्णालीको अभावलाई, त्यहाँको अवसरलाई एउटा विकासे कार्यकर्ताको हैसियतले जान्न बुझ्न पाएको छु । जे देखेँ, जस्तो भोगेँ र जे अनुभूत गरेँ, त्यही कुरा पस्कन प्रयत्न गर्दैछु। त्यसो भएर नै यो आलेख लेख्ने जमर्को गरिएको हो।

म कर्णालीमा बस्दा जे खाएँ, जस्तो दैनिकी बिताएँ त्यसैको नतिजा हो ५५ वर्ष लाग्दा पनि मलाई कुनै किसिमको रोगले छोएको छैन । काठमाण्डौं लगायतका शहरहरुमा आम जनताले हेला गरेर नखाने खानेकुरा उसिना चामल, फापर, जौ, कोदो, रासायनिक मल र विषादी प्रयोग नगरेका खानेकुरा खाएँ । अरुले भन्ने गरेका नमिठा खानेकुरा खाएर म स्वस्थ भएको रहेछु । अझसम्म प्राङ्गारिक खानेकुरा उब्जाउने यो थलो स्वास्थ्यका लागि पुण्यभूमिको हो । जान्नेहरुलेमात्रै यसको विशेषता थाहा पाउँछन् । धेरैले कर्णालीलाई खानेकुरा नपाईने ठाउँ भनेर परिभाषित गर्छन र दुई चार दिन त्यहाँ जाँदा आँफूलाई खानेकुरा नपाएर कन्तबिजोक भएको ठान्छन तर म त्यहाँ बस्दा मैले खाएका खानेकुरा गौरव गर्न लायक कुरा पो रहेछन्, किनकि म त्यहाँ हुँदा विशुद्ध प्राङ्गारिक खानेकुरा खाएको थिएँ । काठमाण्डौं बसेपछि थाहा भयो कर्णालीको खानेकुराको शक्ति । काठमाण्डौंको घरको भान्साकोठाको टेबुलमा मैले कर्णालीमा खाने गरेका खाने कुराहरु भन्दा धेरै परिकार पाउँछु तर जति गर्व गरेर खाईरहेछु त्यति नै आत्मग्लानी गरिरहेछु । रातो मार्सीदेखि कागुनोसम्म, लट्टेदेखि सिमीसम्म, मकैदेखि कोदोसम्म र फापरदेखि जौसम्म, आलुदेखि पिँडालुसम्म। के उत्पादन हुँदैन कर्णालीमा? स्याउ देखि जडिबुटीसम्म । यस्तो विविधता संसारमा कही छैन।धेरैलाई आश्चर्य लाग्न सक्छ, कर्णालीमा उत्पादन हुने धान संसारकै उच्च स्थानमा फल्ने बाली हो। त्यस्ता बालीहरू अरू पनि थुप्रै छन् । जे फल्छन् स्वादिष्ट र प्राङ्गारिक खानेकुरा नै फल्छन् ।

जैविक विविधताको हिसाबले कर्णाली सबैभन्दा धनी मानिन्छ । तराईको गर्मी देखि बाह्रै महिना हिउँ रहि रहने क्षेत्र कर्णालीमा पाईन्छ ।हुम्ला कर्णाली र मुगु कर्णाली विद्युत उत्पादनको हिसाबले सबैभन्दा उपयुक्त नदिहरु मानिन्छन् । कर्णालीमा तराई देखि उच्च हिमाली क्षेत्रको हावापानी पाईने क्षेत्र छ ।नेपालमा पाईने स्याउ मध्ये सबैभन्दा बढी गुलियोपना भएको स्याउ कर्णालीको जुम्लामा मात्रै पाईन्छ । रातो मार्सी धान जुम्लाको पहिचान मानिन्छ ।

लाली गुराँस नेपालको राष्ट्रिय फूल हो । मुगुबाट हुम्ला जाँदा बाटोमापर्ने चंखेली क्षेत्रमा रातो गुराँसकासाथै सेतो गुराँस पनि प्रशस्त मात्रामा पाईन्छ । कर्णालीमा लौंठ सल्लो प्रशस्त पाईन्छ जसलाई क्यान्सरको औषधि मानिन्छ । कर्णालीलाई जडिबुटीको खानी मानिन्छ । जडिबुटीहरुमा पाँचऔंले, जटामासी, कुड्की पनि यसै क्षेत्रमा प्रशस्त पाईछ। कर्णालीले थुप्रै जडिबुटीहरु तिब्बत एवं भारतमा निकासा गर्छ ।कर्णाली क्षेत्र हिम चितुवा, कस्तुरी, मृग, घोरल, डाँफेको बासस्थान हो । नेपालमा पाईने ठूलो खालको जंगली मौरी कर्णालीमा मात्रै पाईन्छ । साईबेरिया र मानसरोबरबाट हिउँदमा बसाई सरेर जाडो छल्न आउने चराचुरुङ्गीको बासस्थान हो रारा र से-फोक्सुण्डो । रारा र से-फोक्सुण्डो जस्ता देशका सबैभन्दा ठूला र गहिराई भएका तालहरु कर्णालीमै पर्छन् । यी तालहरुको संरक्षणमा स्थानीय जनताले देखाएको सकृयता नमुनाकै रुपमा छ ।

कर्णाली नेपाली भाषा र संस्कृतिको उत्पत्तिको थलो हो । देउडाका पारखीहरुको लागि कर्णाली उर्बर भूमी हो । गैर कर्णालीबासीहरु पनि देउडा भनेपछि भुतुक्कै हुन्छन् । कर्णालीको भूगोल एउटा बहुसांस्कृतिक पहिचान भएको क्षेत्र हो । देशको सबैभन्दा ठूलो भूगोल तर केबल तीन लाख जति मात्र जनसंख्या । विविध संस्कृति र संस्कार बोकेको कर्णाली प्राकृतिक रुपले सुन्दर छ । अति कमलो पहाड कर्णालीमा छ । हावा चल्दा पनि पहिरो जान्छ । बुद्धधर्म भन्दा अगाडिको बोन धर्मको उत्पत्ति स्थल कर्णाली हो । बोन धर्मको विशेषता कालो बोन र सेतो बोन धर्म कर्णालीको डोल्पो क्षेत्रमा विद्यमान छ । त्यसैलेकर्णालीलाई देशको जिवित संग्रहालय मानिन्छ । कर्णाली बहुपतिप्रथा भएको थलोको रुपमा समेत चिनिन्छ । कर्णाली योगी नरहरिनाथ जस्ता दार्शनिकको जन्मथलो हो ।

मूलुकको सबैभन्दा पुरानो मानववस्ति भएको स्थान कर्णालीमा पर्छ । उपल्लो डोल्पो पर्यटकहरुकोलागि पवित्र क्षेत्र हो । हिन्दुहरुको आस्थाको केन्द्र मानसरोवर जाने बाटो हुम्लाको सिमकोट हो । हुम्लाको सिमकोट स्वर्गभूमी मानिने कैलाश मानसरोवर जाने नेपालको ढोका मानिन्छ । यो नेपालको सबैभन्दा उच्चस्थानमा रहेको जिल्ला सदरमुकाम हुम्लाको सिमकोट हो । यो झण्डै दश हजार फिटको उचाईमा अवस्थित छ ।हिमाल चढ्ने एवं उच्च हिमाली भेगमा दौडने जस्ता साहसिक कामका लागि कर्णाली उपयुक्त थलो हो । पर्वतारोहण, पाराग्लाईडिङ जस्ता चरम एवं साहसिक पर्यटन कर्णालीमा संभावना बोकेको ठाउँ हो । विश्वकै उच्च स्थानमा रहेको उच्च हिमाली पद मार्ग अर्थात ग्रेट हिमालय ट्रेलकर्णालीकाजिल्लाहरुमा पर्छ । विश्वको सबैभन्दा अग्लो ‘पचाल’ झरना कालिकोटको राम्नाकोटमा पर्छ, यद्धपि यो प्रमाणित गर्न सकिएको छैन ।

हुम्लाको लिमी गाउँ अद्वित्तिय एवं आश्चर्यचकित स्थान हो ।हुम्लाको खगालगाउँमा रहेको तातोपानीको खोला संभवत नेपालकै सबैभन्दा ठूलो खोला हो । हुम्लाको लिमी गाउँमा रहेको हल्जि गुम्बा नेपालको सबैभन्दा पुरानो गुम्बा मानिन्छ । कर्णाली नदि जलयात्राका लागि उत्तम मानिन्छ । लिमी नेपालकै उच्च भागमा रहेको बस्ति भएको ठाउँ हो । कर्णालीका जनतामा अझै पनि सामाजिक सदभाव कायम गरेर बस्नुपर्छ भन्ने धारणा छ ।

कर्णालीविकासका लागि अवसरप्राप्त क्षेत्र हो । सरकारले विकासका लागि यो क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कर्णाली राजमार्गको निर्माणमा सरकार लागेको छ । सुर्खेतबाट जुम्ला, छिञ्चुबाट जाजरकोट हुँदै डोल्पा, कालिकोटको हुल्मबाट र तिब्बतको सिमा हिल्साबाट हुम्लाको सदरमुकाम सिमकोट, कालिकोट र जुम्लाको सिमाना नाग्माबाट मुगु जोड्ने सडक खण्डहरुको निर्माणमा पनि सरकार लागि परेको छ ।

साठीको दशकतिर कर्णालीका विद्यार्थीहरु विदेश पढ्न जान पाउनु भनेको ठूलो कुरा मानिन्थ्यो तर अहिले धेरै विद्यार्थीहरुले विदेशबाट पिएचडी गरेका छन् भने कतिले अध्ययन पुरा गरेर उतै काम गरेर बसेका छन् । साठीकै दशकतिर कर्णालीका मान्छेहरु डाक्टर, ईन्जिनियर, पाईलट, कृषि विशेषज्ञ आदि हुनु भनेको ठूलो खानदानको व्यक्ति मानिन्थ्यो तर अहिले धेरै मान्छेहरु यो पेशामा लागेका छन् ।

पदम भण्डारी

धेरै लामो समय भएको छैन । कर्णालीमा रेडियो नेपालको प्रशारण राम्रो सुनिंदैनथ्यो, तर अहिले प्रत्येक जिल्लामा एक भन्दा बढी एफ एम रेडियोहरु सञ्चालित छन् । पहिले शाही नेपाल वायुसेवा निगममात्र हुँदा कर्णालीमा हवाई टिकट हात पारेर यात्रा गर्नु भनेको ठूलै लडाईं जित्नु जत्तिकै हुन्थ्यो । तर अहिले धेरै निजी हवाई कम्पनीहरुले सहुलियत दरमा समेत हवाई टिकट उपलब्ध गराउँछन् ।बैंकको नाममा सदरमुकाममा नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक मात्र थिए तर अहिले एटिएम सहितका निजी बैंकहरु खुलेका छन् । नेपाल ईन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डौं लगायत थुप्रै निजी बैंकहरुले सेवा दिईरहेका छन् ।साहुको ऋणलिनु बाहेक केहि विकल्प थिएन तर अहिले सामुदायिक संगठनहरु तथा सहकारीहरु ऋण परिचालन कार्यक्रम गरेकाछन् । साहुको चर्को व्याजबाट मुक्ति पाएका छन् ।

कर्णालीमा हरियो सागसब्जी पाईंदैनथ्यो तर अहिले एक घर एक करेसाबारी अभियान चलेको छ । प्लाष्टिकका घरहरु बनाएर व्यवसायिक रुपमा बेमौसमी तरकारी खेती गर्नेहरु बढेका छन् । कर्णालीमा गाईभैंसीको दूध पाईंदैनथ्योतर अहिले डेरी व्यवसाय गर्ने सहकारीहरु खुलेका छन् । कर्णालीका जनता फोहोरीको उपमा लिईन्थ्यो तर अब त्यस्तो छैन । गाउँलाई सफा राख़्न धेरै गाउँहरुले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेका छन् । कर्णालीका धनी र गरिव बीच त्यति ठूलो असमानता छैन । कर्णाली गरिव छ । यहाँका मानिसहरु गरिव छन् भन्ने कुरा सदैव साँचो होईन । कर्णाली गरिव छ भनेर हल्ला फिंजाईएको मात्र हो । त्यहाँको प्राकृतिक स्रोत र साधनको दिगो उपयोग नभएर त्यहाँका जनताहरु गरिवीमा बाँच्न वाध्य छन् । त्यसो भन्दैमा कर्णाली आँफैमा गरिब होइन ।

आधुनिक घट्ट संघ, खानेपानी तथा सरसफाई संघ बचत तथा ऋण सहकारी संघजस्ता थुप्रै संघसंस्थाहरु स्वतस्फुर्त रुपमा खुलेका छन् । महिलाहरु समूहमा संगठित हुन थालेका छन् । संगठित भएर आफ्ना साझा समस्याहरु समाधानका लागि जिम्मेवारी लिन थालेका छन् । कतिपय महिलाहरु समूहको जिम्मेवार पद संभालेका छन् । गर्भवती महिलाहरुले आफ्नो स्वास्थ्य परिक्षण गराउनु पर्छ भनेर बुझेका छन् । स्थानीय स्वास्थ्य चौकीमा गएर सेवा लिन थालेका छन् ।

माथीका भनाईहरुलाई कसैले तथ्याङ्कद्वारा पुष्टि गर्नुपर्छ भन्ला कसैले प्रमाण खोज्ला त्यो सम्भव छैन् यो त नितान्त अनुभूति हो । म पनि यी भनाईहरु शत प्रतिशत ठीक छन् भनेर दाविका साथ भन्न चाहान्न । बरु यो भन्न चाहान्छु यो अन्वेषण खोज एवं छानबिन गर्नका लागि उपयुक्त मसला बनेका छन् ।

कर्णालीका बासिन्दालाई दु:ख गर्न सक़्ने एवं तत्कालै प्रतिक्रिया दिन सक़्ने हिम्मतिला मान्छे भनेर चिनिन्छ । कर्णालीका मान्छेहरु कसैले पनि भिखारी बनेर मागेर खाँदैनन् ।कर्णालीको मान्छे एकजना पनि मागेर खाने भिखारीदेखेकोछैन मैले । कर्णालीका मान्छेहरु कर्मशिल छन्। कर्णालीका मान्छे चोर र डाँका छैनन, आत्महत्या गरेर मर्नेहरु छैनन्, भए पनि नगन्य छन् । स्थापित चिजहरु थोरै भएकोले बिकल्पहरुबारे सोंच्ने क्षमता राख्छन । कर्णालीका मान्छेहरुसंग बाँच्ने तरिका थुप्रै छन् । जीबन जिउनका लागि हरेक पलमा कुरा सोंच्छन र नयाँ बिकल्पहरु ल्याउँछन । कर्णालीका मानिसहरु व्यापारिक छन् । उनीहरु कार्पेट र सिलाजित बेचेर व्यापार गरिराखेका छन् । कर्णालीबासी गिनिज बुक अफ वर्ड रेकर्डमा नाम लेखाउन सफल छन् । उच्च हिमाली क्षेत्रमा दौडने नेपाली कर्णालीकै हुन् ।

कर्णालीमा धेरै राम्रा कुराहरु छन् तर त्यसको चर्चा हुँदैन । कर्णालीमा यस्ता धेरै चिजहरु छन् जसको यथार्थमा खोजि भएको छैन । यति धेरै सम्भावना बोकेको कर्णालीका नाममा किन यति धेरै नकारात्मक टिकाटिप्पणिहरु हुन्छन मैले बुझ्न सकेको छैन । कर्णालीबासीले किन यसरी हेपिनुपर्छ मैले बुझेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment