Comments Add Comment

नमूना सडक बनाउँदा-बनाउँदै बिग्रियो !

३१, जेठ, चितवन । निर्माण कार्य नसकिँदै पूर्वी चितवनको रत्ननगरमा निर्माण भइरहेको सडक बिग्रन थालेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने रत्ननगर बजार क्षेत्रमा श्रेष्ठ कन्ष्ट्रक्सन प्रालिले निर्माण गरिरहेको चारलेन सडक निर्माणकै क्रममा बिग्रन थालेको हो ।
चितवनकै ‘नमूना’ सडकको उपमा दिएर निर्माण गरिएको सडकको पिच गरिएको केही भाग कतै उप्किएको छ भने कतै थेप्चिएको छ । बकुलरचोक, सौराहचोक, टाँडीचोक र अन्य ठाँउठाँउमा पनि सडक थेप्चिएर बिग्रिन थालेपछि निर्माण कम्पनीले फेरि त्यसलाई कटिङ गरी बनाउन थालेको छ ।

कालोपत्रे गर्दा नै कमसल सामग्रीको प्रयोग र निर्माणमा गरिएको लापर्वाहीका कारण निर्माण कार्य पूरा नहुँदै सडक बिग्रिएको स्थानीयले गुनासो गरेका छन् ।

चारलेनको सडकमध्ये धुलो अत्यधिक भएपछि तत्कालका लागि भन्दै हतार–हतार १ लेन मात्रै सडक पिच गर्दा गुणस्तरहीन काम भएको देखिएको छ । भत्किएको सडकको धुलोबाट स्थानीयबासीले सास्ती खेस्नु परेपछि प्रमुख जिल्ला अधिकारी, रत्ननगर नगरपालिका, रत्ननगर उद्योग वाणिज्य संघ र सांसद् शेषनाथ अधिकारीको आग्रहमा ठेकेदारले दुई महिनाअघि एकतर्फी सडक कालोपत्रे गरेको थियो । ‘सडक निर्माण कार्य पूरा नहुँदै भत्किन थालेपछि सडकको गुणस्तरमाथि प्रश्न चिह्न उव्जेको छ’ स्थानीय प्रताप डल्लाकोटीले भने, ‘कालोपत्रे गर्नुपूर्व ग्राबेलिङ (बेस) राम्रो नगरिएका कारण हावा छिरेर कहीँ खाल्डो त कहीँ उच्च भएको हुन सक्छ ।’

सडक डिभिजन कार्यालय भरतपुरका सिनियर डिभिजन इन्जिनियर धर्मेन्द्र झाले पिच गर्दा अलकत्राको मात्रा बढी भएकोले कतै खाल्डो त कतै पिचको भाग उठेको जानकारी दिए । ‘पिच गर्दा नै अलकत्राको मात्रा मिलाएको देखिएन’, झाले भने, ‘हामीले त्यसलाई कटिङ गरेर फेरि मिलाउन भनेका छौं, काम भइरहेको छ ।’

निर्माण कम्पनीका इन्जिनियर अनिष रेग्मीले अलकत्रा बढी भएका कारण सडक थेप्चिएर कहीँ खाल्डो कहीँ उच्च भएको स्वीकारे । ठेक्का सम्झौतामै पाँच सेन्टी पिच गर्ने भनेर उल्लेख रहेको भन्दै उनले सोही अनुसार गर्दा समस्या आएको बताए । ठूलठूला मालबाहक ट्रकको आवतजावतका कारण कालोपत्रे एक ठाउँमा डल्लो परेको इन्जिनियर रेग्मीको भनाइ छ ।

निर्माण कार्य रोकियो 

भूकम्प र नाकाबन्दीलाई कारण देखाउँदै आएको निर्माण कम्पनी श्रेष्ठ कन्ष्ट्रक्सन प्रालिले सम्झौता अवधि भन्दा करिब १ वर्ष बढी समय गुजार्दा पनि काम नसक्ने अवस्था आएको छ । ठेक्का सम्झौता अनुसार २०७३ साउन महिनामै सडक निर्माण कार्य सक्नु पर्ने हो । थपिएको समय यहि असार मसान्तमा सकिँदैछ । त्यस्तै बिजुलीको पोल, खानेपानीको पाइप र ढलको पाइपको समयमै व्यवस्थापन हुन नसक्दा पनि काममा ढिलाई भएको हुँदै आएको छ । निर्माणको काम अति नै सुस्त गतिमा गरेको कम्पनीले यतिबेला भने थप काम रोकेको छ । जुगेडीमा रहेको अलकत्रा पगाल्ने मेसिन बिग्रिएको कारण देखाउँदै उसले थप निर्माण कार्य रोकेको हो । नारायणगढ–मुग्लिन सडकखण्डसमेत ठेक्का लिएको श्रेष्ठ कन्ट्रक्सन प्रालिको मेसिन केही दिनअघि परेको चट्याङले नोक्सान गरिदिएको सडक डिभिजन कार्यालय भरतपुरका सिनियर डिभिजन इन्जिनियर धर्मेन्द्र झाले वताए । ‘बिग्रिएको समान मगाउन लगाएका छौं,’ ‘इन्जिनियर झाले भने, ‘सम्भवतः १/२ दिनमा नै काम शुरु हुन्छ ।’

यता निर्माण कम्पनीले भने रकम भुक्तानीको समस्याले निर्माण रोकेको जनाएको छ । सडक डिभिजन कार्यालय भरतपुरबाट बजेट नआएका कारण झन्डै २५ दिनदेखि काम रोकिएको निर्माणको ठेक्का लिएको श्रेष्ठ कन्ट्रक्सन प्रालिले जनाएको छ ।

अहिलेसम्म करिब १५ करोडको काम सम्पन्न भइसकेको कम्पनीको दावी छ ।

१५ करोडमा करिब चार करोड रूपैयाँ सडक डिभिजन कार्यालयले भुक्तानी दिन सकेको छैन । पैसा नभएकोले निर्माण सामग्री खरिद गर्न नपाएर काम रोकिएको इन्जिनियर रेग्मीले बताए । सडक डिभिजन कार्यालयका सिनियर इन्जिनियर धर्मेन्द्र झाले निर्माण कम्पनीलाई रकम दिन नसकेको स्वीकारे ।

नेपाल सरकारको राष्ट्रिय योजनाअन्तर्गत १९ करोड ७० लाखको ठेक्का सम्झौतामा रत्ननगरको निपनीदेखि लौरीघोलसम्म २.३ किलोमिटर मिटर सडकलाई चारलेन बनाउन निर्माण थालिएको हो । चारलेन सडकमा मेनरोड, सर्भिसलेन, ग्रेनरी र फुटपाथ निर्माण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment