Comments Add Comment

वरिष्ठ चिकित्सकहरुलाई रोकेर स्वास्थ्यमा सचिव बढुवाको चलखेल

१ असार, काठमाडौं । स्वास्थ्य मन्त्रालयको नियोजित ढिलासुस्ती र मन्त्रिपरिषदको असहयोगका कारण ५ जना वरिष्ठ चिकित्सकहरु सचिव बढुवाको सिफारिसबाट बन्चित भएका छन् । स्वास्थ्य मन्त्रालयको सचिवमा डा.किरण रेग्मीलाई प्रतिस्पर्धीविहीन बनाउने उद्देश्यले अरु चिकित्सकको बढुवा रोकिएको हो ।

स्वास्थ्य मन्त्रालयमा १२ तहका ३ जना चिकित्सकको पद लामो समयदेखि रिक्त थियो । तर मन्त्रालयले लामो समयसम्म बढुवा रोकेर वैशाख अन्तिम साता बढुवा समिति बैठक राखी ५ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

लोकसेवा आयोगले पत्र लेखेपछि मात्र बढुवा समिति बसेर वरिष्ठताका आधारमा नाम सिफारिस गरे पनि मन्त्रिपरिषद बैठकमा यो फाइल नै प्रवेश गराइएन । बढुवा समितिले वीर अस्पतालका डा. दिनेश श्रेष्ठ, प्रसूती अस्पतालकी डा.पुष्पा चौधरी, कान्ति बाल अस्पतालका डा.विनोदमान श्रेष्ठ, कोशी अञ्चल अस्पतालका रोशन पोखरेल र मन्त्रालयमा कार्यरत डा. दीपेन्द्ररमण सिंहको नाम सिफारिस गरेको थियो ।

यसबीचमा स्वास्थ्य मन्त्रालयका सचिव डा.सेनेन्द्रराज उप्रेती अवकाश भइसकेका कारण सचिव पदमा १२ तहकी एकमात्र उम्मेदवार डा. किरण रेग्मीलाई कायम गर्न नियोजित रुपमा अरुको बढुवा रोकिएको सिफारिसमा परेका एक चिकित्सकले बताए ।

सचिव बढुवालगत्तै ११ तहबाट १२ तहमा बढुवाको निर्णय हुने मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ । डा. किरण रेग्मीलाई सचिव बनाउन प्रधानमन्त्री पत्नी आरजु देउवाले अरुको बढुवामै चलखेल गरेको आरोप बढुवाबाट बन्चित हुनेहरुले लगाएका छन् ।

उनीहरुले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाबाट पनि धोका भएको गुनासो गरेका छन् । स्रोतका अनुसार थापाले ११ तहबाट १२ तहमा बढुवाको निर्णय गराएरमात्रै जाने भन्दै अन्त कतै नजान आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment