४ असार, रोल्पा । रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि चुनावमा भाग लिएको छ । देशभर स्थानीय चुनाव बहिस्कार गरेको विप्लव समूहले रोल्पाको थवाङमा भने कांग्रेससँग तालमेल गरेर उम्मेदवारी दर्ता गराएको छ ।
थवाङ गाउँपालिकाको अध्यक्षमा विप्लव नेतृत्वको नेकपाबाट अमित घर्तीले उम्मेदवारी दर्ता गराएका छन् । अमित नेकपाको युवा संगठन जनस्वंसेवक व्यूरोको थवाङ प्रमुख हुन् । नेकपा निर्वाचन आयोगमा दर्ता नभएकाले स्वतन्त्र रुपमा उम्मेदवारी परेको छ ।
कांग्रेसले प्रमुख पदमा विप्लव समूहका अमितलाई समर्थन गर्दै उपप्रमुखमा श्रीकुमारी रोकालाई उम्मेदवार बनाएको छ ।
कांग्रेस रोल्पा जिल्ला सभापति एवम् सांसद अमर पुनले अनलाइनखबरसँग भने, ‘विप्लव समूहसँग तालमेल गरेकाले हामीले उपप्रमुखमा मात्र उम्मेदवारी दिएका हौं । विप्लव समूहलाई पनि चुनावमा ल्याउने धेरै पहिलेदेखिको मेरो कोसिस सफल भयो ।’
थवाङमा एमालेका हितबहादुर रोका अध्यक्ष र धनकुमारी बुढामगर उपाध्यक्षको उम्मेदवार छन् । त्यसैगरी माओवादी केन्द्रबाट वीरबहादुर घर्तीमगर ‘वियोग’ले अध्यक्षमा र रामकिरणी रोकामगरले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
विप्लवकै समूहकै बागी !
थवाङमा विप्लव समूहको नेकपाबाट भक्तबहादुर घर्तीले पनि स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनी रोल्पाको उवा निवासी हुन् । स्वतन्त्र उम्मेदवार बनेका घर्ती साहस उपनामबाट चिनिने विप्लव समूहका स्थानीय नेताका छोरा हुन् ।
यद्यपी विप्लव समूहको आधिकारिक उम्मेदवार भने अमित नै हुन् । भक्तबहादुरले माओवादी केन्द्रको उक्साहटमा उम्मेदवारी दिएकाले उनको उम्मेदवारी फिर्ता गराउने विप्लव समूहका स्थानीय नेताहरु बताउँछन् ।
थवाङ माओवादीको उदगम थलो हो । रोल्पाको ऐतिहासिक थवाङ गाउँपालिकामा मिरुल, उवा र थवाङ गाविस समेटिएका छन् । गाउँपालिकाको केन्द्र थवाङ नै तोकिएको छ ।
यो पनि पढ्नुस्
प्रतिक्रिया 4