+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
55/3 (9.5)
Shares

हवाइ यातायात अनिश्चित भएपछि मृत्यु कुर्दै डोल्पाली

मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन माग

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १२ गते १३:५०

१२ असार, डोल्पा । स्तरोन्नतिको काम सुरु भएपछि डोल्पाको जुफाल विमानस्थल अनिश्चित कालका लागि बन्द भएको छ । असार १ गतेबाट विमानस्थल बन्द भएपछि डोल्पालीहरुको यातायातसँगको सम्पर्क विच्छेद भएको छ । बिरामीहरु अस्पतालसम्म जान नपाउने स्थितिमा पुगेका छन् ।

सडक यातायातको पहुँच नभएको डोल्पामा हवाई यातायात समेत अनिश्चितकालीन बन्द भएपछि डोल्पालीहरुको अन्य जिल्लासँगको सम्पर्क बिच्छेद भएको छ । काम विशेषले बाहिर जानु परे हप्ता दिन हिँडेर जानुपर्ने बाध्यता छ ।

बिरामी परे मृत्यु कुर्नुपर्ने बाध्यता

एकमात्र हवाई यातायात समेत बन्द भएपछि डोल्पामा आपत्कालीन समस्यामा परे पनि नागरिकहरुको कुनै विकल्प छैन ।

कोही बिरामी भए मृत्यु कुर्नुको विकल्प नभएको स्थानीयले बताएका छन् । बिरामीलाई जिल्ला बाहिर लैजानुपर्ने भए ४ लाख खर्च गरेर हेलिकप्टर चार्टर गर्नुपर्ने हुन्छ ।

सामान्य आर्थिक अवस्था भएका नागरिकहरुले हेलिकप्टर चार्टर गरेर उपचार गराउन लैजान सक्ने अवस्था नहुने भएकाले बिरामीले मृत्यु कुर्नुको विकल्पन भएको स्थानीयले बताएका छन् ।

ठूलीभेरी नगरपालिकाका सम्पत्ति बुढाले उपचार गराउन अनिवार्य जिल्ला बाहिर लैजानुपर्ने बिरामीहरुले मृत्यु कुरेर बसिरहेको बताइन् । ‘अनिवार्य जिल्ला लैजानुपर्ने विरामीहरु यहाँ मृत्यु कुरेर बसिरहेका छन्,’ उनले भने- ‘यातायातको केही पनि साधन छैन, सामान्य मान्छेले ४ लाख खर्च गरेर बिरामीलाई बाहिर लैजान सक्दैन ।’

मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन माग

डोल्पालीहरुले यो समस्या यस अघि पनि भोग्दै आएका छन् ।

पटक-पटक जुफाल विमानस्थल बन्द हुने भएपछि विकल्पका रुपमा मसिनेचौर विमानस्थल निर्माण गरिएको छ । तर, मसिनेचौर विमानस्थल समेत सञ्चालनमा नआएपछि नागरिकहरु मर्कामा परेका छन् ।

स्थानीयले जुफाल विमानस्थलको विकल्पको रुपमा रहेको मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन माग गरेका छन् ।

जुफाल विमानस्थल अवरुद्ध हुदा मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने डोल्पालीको माग छ ।

स्तरोन्नतिका लागि जुफाल विमानस्थल अवरुद्ध हुँदा समेत डोल्पामा हवाई यातायातको विकल्पको रुपमा मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन पटक-पटक पहल गर्दा समेत सम्बन्धित निकायले चासो नदिएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरे ।

राज्यको करोडौँ लगानी भएर निर्माण सम्पन्न भइसकेको मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन राज्यले ब्यवास्ता गरेपछि डोल्पालीले ठूलो क्षेत्रफलमा रहेको जमिन खाली राख्नु भन्दा प्लटिङ गरेर अन्नबाली लगाउनुका साथै गौचरनको रुपमा परिणत गर्न पाउनुपर्ने बताएका छन् ।

त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत पहाडामा पर्ने उक्त विमानस्थल निर्माण कार्य सम्पन्न भएर केही वर्ष अगाडि परीक्षण उडान समेत सफल भएर एक वर्षसम्म डोल्पालीले नियमित हवाई सुविधा पाए पनि अहिले मसिनेचौर विमानस्थल ओझेलमा परेकोमा डोल्पालीले दुःख लागेको बताएका छन् ।

त्रिपुरा सुन्दरी नगरपालिका-१ का पूर्णबहादुर बिष्टले निर्माण कार्य सम्पन्न भइसकेको मसिनेचौर विमानस्थल सञ्चालन गर्न माग गर्दा समेत वास्था नगरिएको बताए । ‘निर्माण सम्पन्न भइसक्दा पनि नेपाल एयरलाइन्सले परीक्षण उडान समेत गरेन,’ उनले भने ‘दुर्गमका जनतालाई झनै राज्यले पनि हेपेको भान भएको छ, डोल्पामा भरपर्दो सुविधा दिँदै आएको तारा एअरलाईन्स पनि हरायो ।’

जुफाल विमानस्थल यही असार १ गतेबाट बन्द भएको छ । उक्त विमानस्थलमा काम सम्पन्न नहुन्जेल मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउने आश्वासन पाएतापनि अहिलेसम्म सञ्चालनमा नआएको त्रिपुरासुन्दरी नगरपालिकाका लोकेश खत्रीले बताए ।

मसिनेचौर सञ्चालनको पहल भइरहेको छ : सिडियो

जुफाल विमानस्थल बन्द हुदा डोल्पाका नागरिकहरु समस्यामा परेपछि विकल्पका रुपमा रहेको मसिनेचौर विमानस्थल सञ्चालनको पहल गरिएको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिए ।

विमानस्थल सञ्चालनमा ल्याउनका लागि यस अघि नै हवाई प्राधिकरणमा प्रक्रिया सुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । ‘विकल्पका रुपमा मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन माग भइरहेको छ,’ उनले भने, ‘हामीले हवाई प्राधिकरणमा संचालनको लागि पहल गरिरहेका छौं ।’

मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सके डोल्पाका नागरिकहरुलाई राहत हुने छ । यस अघि मकालुले उठान समेत गरेको थियो ।

रामचन्द्र न्याैपाने 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?