+
+
Shares

अष्ट्रेलिया टुरमा नेपथ्य, तीन शहर गुञ्जाउने

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १५ गते १५:१५

१५ असार, काठमाडौं । लोक-रक ब्याण्ड नेपथ्य सांगीतिक प्रस्तुतिका लागि अष्ट्रेलिया जाने भएको छ ।

अष्ट्रेलियामा रहेका नेपालीहरुको विशेष रोजाइमा पर्दै पछिल्लो समय हरेक वर्ष सिड्नी लगायत शहरमा सांगीतिक टुर गर्दै आएको ब्याण्डले यसपाली पनि विभिन्न शहर गुञ्जाउने भएको छ । त्यसका लागि ब्याण्डको १० जनाको टोली जुलाई ४ मा त्यसतर्फ प्रस्थान गर्नेछ ।

यो वर्षको पहिलो नेपथ्य कन्सर्ट भिक्टोरियाको मेलबर्न शहरमा जुलाई ८ तारिखमा हुनेछ । त्यहाँस्थित यती एफसीको आयोजनामा प्लानेट सेकर्सको हलमा हुने कन्सर्टमा ब्याण्डले नेपाली लोक-रकको परिचित भाका पस्किनेछ ।

मेलबर्नपछि एडिलेड शहर पुग्ने नेपथ्यले ‘थ्री केजी इन्टरटेनमेन्ट’ को आयोजनामा नरउड कन्सर्ट हलमा जुलाई १५ तारिखमा प्रस्तुति दिनेछ ।

न्यू साउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा भने २२ तारिखमा कन्सर्ट हुनेछ । ‘म्याग्दी ओभरसिज’ ले आयोजना गर्ने सो कन्सर्ट प्रसिद्ध हार्बर ब्रिजकै छेउमा रहेको ‘लुना पार्क’ स्थित बिग टप अडिटोरियममा हुनेछ ।

सिड्नीस्थित आयोजक हरि राम्जालीले यसपाली विगतको भन्दा बढी श्रोता-दर्शक कन्सर्टमा आउने अपेक्षा व्यक्त गरे ।

‘२८ सय दर्शक क्षमताको बिग टप अडिटोरियम यहाँको प्रतिष्ठित आयोजनास्थल हो, जसको सबै टिकट बिक्री हुनेमा हामी ढुक्क छौं’, उनले भने ।

नेपथ्यले स्थापनाको रजत वर्ष मनाइरहेको बेला हुन लागेको यो सांगीतिक टुरका लागि मुख्य गायक अमृत गुरुङ निकै उत्साहित छन् । उनले यसपाली पनि अष्ट्रेलियाको प्रस्तुतिलाई अविष्मरणीय बनाउने बताए ।

उनी भन्छन्, ‘श्रोता-दर्शकको अपार माया पाउँदै आएको अष्ट्रेलियामा प्रस्तुतिका लागि सधैं झैं हामीले विशेष तवरबाट गीतहरु छनौट गरेका छौं ।’

अमृतलाई यो यात्रामा पनि सधैं जस्तै किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य, ड्रमसेटमा ध्रुव लामा र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?