
१७ असार, इटहरी । नेपाली कांग्रेसलाई पहिलो दल बन्नबाट रोक्नका लागि एमालेले झापा, मोरङ र सुनसरीका ४४ स्थानीय तहमा अग्रता हासिल गर्ने रणनीति बनाएको थियो । तर, मतगणनाको प्रारम्भिक रुझानमा भने कांग्रेस पहिलो र एमाले दोस्रो बनेको छ ।
शनिबार बिहानसम्म अनलाइनखबरलाई प्राप्त मतगणनाको परिणामका आधारमा विश्लेषण गर्दा झापा, मोरङ र सुनसरीका कुल ४४ स्थानमध्ये नेपाली कांग्रेसले २३ स्थानमा अग्रता कायम गरिरहेको छ । एमालेको अग्रता १४ स्थानमा मात्रै देखिएको छ । कांग्रेसभन्दा एमाले १० स्थानमा पछाडि छ ।
पूर्वी तराईका यी तीन जिल्लामा माओवादी, संघीय फोरम, लोकतान्त्रिक फोरम र स्वतन्त्रले ७ वटा स्थानमा अग्रता कायम गरिरहेका छन् ।
झापामा एमालेको बहुमत चुनौतीपूर्ण
केपी ओलीको गृहजिल्ला झापामा एमालेले जुन रुपमा लिड गर्नुपर्ने हो, त्यसरी गर्न सकेको देखिँदैन । यहाँका १५ स्थानीय तहमध्ये ७ वटामा एमालेले अग्रता लिइरहेको छ । नेपाली कांग्रेसले ६ वटा स्थानमा अग्रता लिएर एमालेलाई बहुमत सीट जित्न नदिनका लागि टक्कर दिइरहेको छ ।
झापाका दुई स्थानमा माओवादी र राप्रपाको अग्रता छ । गौरीगञ्ज गाउँपालिकामा माओवादीको अग्रता छ भने हल्दिबारीमा राप्रपाले अग्रता लिइरहेको छ ।
झापाको अर्जुनधारा, कनकाई, भद्रपुर, दमक, बिर्तामोड, शिवशताक्षी नगरपालिकामा एमालेको अग्रता छ । त्यसैगरी बुद्धशान्ति गाउँपालिकामा एमालेको अग्रता छ ।
नेपाली कांग्रेसले झापामा एमाले भन्दा एक स्थान कममा अग्रता लिएको छ । कांग्रेसले अग्रता लिएका ६ स्थानहरुमा गौरादह र मेचीनगर नगरपालिकासहित कमल, कचनकवल, बाह्रदशी र झापा गाउँपालिका छन् ।
झापाको हल्दीबारीमा राप्रपाले अग्रता लिएको छ भने गौरीगञ्जमा माओवादीले प्रारम्भिक अग्रता लिएको छ ।
झापाका १५ स्थानमा बहुमत ल्याउनका लागि एमालेले कम्तिमा ८ स्थान जित्नुपर्ने हुन्छ । तर, अहिलेसम्म उसको अग्रता ७ स्थानमा मात्रै देखिएको छ । मोरङ र सुनसरीमा आफ्नो कमजोर स्थितिलाई सन्तुलनमा ल्याउने हो भने एमालेले झापामा कम्तिमा १० देखि १२ स्थानमा जित हात पार्नुपर्ने देखिन्छ ।
पछिल्लो समयमा एमाले अध्यक्ष केपी ओली करिब एक सातासम्म झापाको चुनावी प्रचारमा खटिएका थिए । पार्टी अध्यक्षको प्रतिष्ठासँग मात्रै होइन, झापाको चुनावी परिणामले एमालेलाई पहिलो दल बनाउने कि नबनाउने भन्नेमा निणर्ायक अर्थ राख्छ ।
मोरङमा एमालेको खराब सुरुवात
अहिलेसम्मको परिणामलाई हेर्दा मोरङ जिल्लामा एमालेको अवस्था झापाको भन्दा निकै कमजोर देखिएको छ । कुल १७ स्थान रहेको मोरङ जिल्लामा नेपाली कांग्रेसले १० स्थानमा अग्रता लिएको छ भने एमालेले ५ स्थानमा मात्रै अग्रता लिएको छ । दुई स्थानमा फोरम लोकतान्त्रिकको अग्रता छ ।
एमालेले तराईको राजमार्ग आसपासको पहाडे वस्तीबाट अत्यधीक मत हात पार्ने र दक्षिणी मधेसी बाहुल्य स्थानीय तहमा कम जित हात पार्ने धेरैको विश्लेषण थियो । तर, उत्तरी मोरङको पहाडे बाहुल्य बस्तीमा समेत एमालेलाई पछि पार्दै कांग्रेसले अग्रता लिइरहेको छ ।
जस्तो- उर्लाबारी नगरपालिकामा शनिबारदेखि कांग्रेसले अग्रता लिएको छ । बिराटनगरपछिको बढी जनसंख्या भएको सुन्दर हरैंचा नगरपालिकामा पनि कांग्रेसले नै अग्रता लिएको छ ।
एमालेको पकड रहेको भनिएको उत्तरी मोरङको केराबारी गाउँपालिकामा समेत कांग्रेसले नै अग्रता लिइरहेको छ । राजमार्गमै रहेका बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकामा पनि कांग्रेसले नै अग्रता लिइरहेको छ ।
उत्तरी मोरङमा एमालेलाई दोस्रो स्थानमा रोकिरहेको कांग्रेसले दक्षिणी भेगबाट पनि अग्रता लिइरहेको छ ।
मोरङमा कांग्रेसले अग्रता लिएका थप स्थानीय तहहरुमा बिराटनगर, रंगेली, रतुवामाई, सुनवर्षी र जहदा छन् ।
एमालेले राजमार्गमा पर्ने पथरी-शनिश्चरे नगरपालिकामा अग्रता लिएको छ । त्यस्तै उत्तरी मोरङको लेटाङ नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा पनि एमालेको अग्रता छ । २१ लाख रुपैयाँमा उम्मेदवारी खरीद गर्न खोजिएको आरोप लागे पनि मिक्लाजुङमा एमालेले नै सुरुवाती अग्रता लिएको छ ।
एमालेले मोरङका बुढीगंगा र धनपालथान गाउँपालिकामा पनि अग्रता लिएको छ ।
फोरम लोकतान्त्रिकले ग्रामथान र कटहरी गाउँपालिकामा अग्रता लिएको छ ।
सुनसरीमा एमालेको कमजोर उपस्थिति
झापाबाट पश्चिमतिर आउँदै गर्दा सुनसरी जिल्लामा एमालेको उपस्थिति मोरङमा भन्दा पनि कमजोर देखिएको छ ।
सुनसरीमा कुल १२ स्थानीय तह छन् । एक नम्बर प्रदेशका दुईवटा उपमहाननगरपालिका पनि सुनसरीमै पर्छन् । तर, यो जिल्लाको मतगनामा कांग्रेसले बहुमतका साथ अग्रता लिइरहेको छ भने एमालेको उपस्थिति निकै कमजोर देखिएको छ ।
सुनसरीका १२ स्थानीय तहमध्ये ७ स्थानमा कांग्रेसले अग्रता लिएको छ । एमालेले दुई स्थानमा मात्रै अग्रता लिएको छ । एमालेले भोक्राहा र बर्जू गाउँपालिकामा अग्रता लिएको छ । दुहबी नगरपालिकामा लोकतान्त्रिक फोरमले अग्रता लिएको छ भने कोशी गाउँपालिकामा स्वतन्त्र उम्मदेवारले अग्रता लिएका छन् । देवानगञ्जमा संघीय फोरमको अग्रता छ ।
सुनसरीका दुई उपमहानगरपालिका धरान र इटहरीमा कांग्रेसको अग्रता छ । जिल्ला सदरमुकाम रहेको इनरुवा नगरपालिकामा पनि कांग्रेसको अग्रता छ । त्यसैगरी रामधुनी, बराह र हरिनगरामा पनि कांग्रेसको अग्रता छ ।
यो समाचार लेख्दासम्म झापा, मोरङ र सुनसरीका ४४ मध्ये कुनै पनि स्थानीय तहको नतिजा आइसकेको छैन । केही स्थानमा आज बेलुकासम्म परिणाम आउने अपेक्षा गरिए पनि धेरैवटा स्थानीय तहको आइतबार नतिजा आउने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4