अक्सर हामीलाई आफु बस्ने घर, कोठा चिरिच्याट्ट सजिएको मन पर्छ । यस्तो सजावट, जसले मनलाई फुरुंग बनाउँछ । हषिर्त तुल्याउँछ । कतिको त शौख नै हुन्छ, घर सजाउने । आफु बस्ने घर जति सजावटयुक्त भयो, त्यती नै सन्तोष मिल्छ हामीलाई ।
यद्यपी हाम्रो कति बानी हुन्छ, जसले घरको सजावटमा राम्रो भन्दा नराम्रो प्रभाव पार्छ । के हुन त त्यस्ता बानी ?
अर्काको देखासेखी
घर सजाउने काममा हामीले धेरै गर्ने गल्ती हो, अरुको देखासेखी । अर्काको घरमा जान्छौ र उसको सजावट मन पर्यो भने ठ्याक्कै त्यसको नक्कल गर्ने प्रयास गर्छौ । यसले तपाईको घरको सजावटमा नयाँपन त दिदैन नै, सिर्जनशिलता पनि झल्कदैन ।
अर्काको नक्कल गर्नुभन्दा आफ्नो रुचीलाई ख्याल गर्नुपर्छ । आफ्नो स्वभाव, रुची अनुसार घरको सजावट गर्नुपर्छ । यस्तो सजावट होस्, जसमा तपाईको आफ्नोपन पनि मिसिएको होस् ।
आवश्यक्ताभन्दा बढी संग्रह
घर सजावटका क्रममा हामी धेरै भन्दा धेरै सामग्रीहरु सजाउन खोज्छौ । तर, भएका पुराना सामग्रीहरु हटाउँदैनौ । नयाँ सजावटको सामग्री ल्याउँदै सजाउँछौ । यो क्रम निरन्तर जारी रहन्छ । जबकी घर, कोठको प्रकृति र स्वरुप अनुसार सहि किसिमको सजावटको सामग्री राख्नुपर्छ । तर, हामी जस्तोपनि सामग्री सजाउँछौ । त्यसले गर्दा कोठा सुन्दर होइन, भद्दा देखिन्छ ।
यदि नयाँ सजावटको सामग्री खरिद गर्नुछ भने घरको पुरानो सामग्री अन्यत्र बिक्री गर्न सकिन्छ ।
लाइटिङमा बेवास्ता
कुनैपनि घरको सुरुचीपूर्ण सजावटमा समुचित लाइटिङको ठूलो भूमिका हुन्छ । यदि लाइटिङ ठीक ढंगले सजाइएको छैन भने, घरको सम्पूर्ण सजावट फिका लाग्छ । अर्थहिन लाग्छ ।
आफ्नो घरमा नैसर्गिक प्रकास प्रवेश गर्ने व्यवस्था मिलाउनुपर्छ । यसले घरलाई उज्यालो त बनाउँछ नै, रौनक पनि बढाउँछ । यदि घरमा घामको किरण राम्ररी प्रवेश गर्ने अवस्था छैन भने समुचित लाइटिङको प्रयोग एकदमै आवश्यक हुन्छ । लिभिङ रुम, बेड रुम, भान्सा र बाथरुमका लागि उचित प्रकृतिको लाइटिङ राम्रो देखिन्छ ।
परफेक्ट तालमेलको प्रयास
अरुको हेरेर वा पुस्तक, चित्र हेरेको भरमा घर सजाउँदा त्यसमा केहि निराशा झल्कन्छ । त्यसमा रचनात्मकताको अभाव स्पष्ट रुपले देखिन्छ । अत ट्रयड-टेस्टेड फर्मूलाको साटो केहि नयाँ र अलग सजावट गरौ । साथै घरको रंग, पर्दा, सजावटको सामग्रीबीच एकआपसमा तालमेल मिलाउनु पर्छ ।
प्रतिक्रिया 4