Comments Add Comment

उत्तरी मोरङको ‘केस स्टडी’- एमाले आफ्नै गढमा किन हार्‍यो ?

केपी ओलीको लाइन असफल ? बहसमा वामदेवको लाइन

एमालेका जननेता मदन भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीको गृहनगर रतुवा माई नगरपालिकामा समेत पराजय व्यहोर्दै मोरङ जिल्लामा एमालेले निराशाजनक चुनावी परिणाम हात पारेको छ । यो परिणामसँगै मोरङमा ओली पक्षका जिल्ला नेताहरुको कार्यक्षमता र कार्यशैलीमाथि नै गम्भीर प्रश्न उठेको छ ।

मोरङमा एक महानगरपालिकासहित १७ स्थानीय तह छन् । यीमध्ये एमालेले चार स्थानीय तहमात्र जितेको छ । अब दुई स्थानमा एमालेको अग्रता छ । यो आधारमा हेर्दा एमालेले मोरङमा १७ मध्ये बढीमा ६ स्थानमात्रै जित्ने देखिन्छ । यो परिणाम एमालेका लागि सुखद होइन ।

एमालेका लागि अझै दुःखद पक्ष के छ भने उत्तरी मोरङको एमालेको गढमा कांग्रेसले चारतारे झण्डा फहराएको छ । मोरङमा नेपाली कांगेसले ७ स्थानमा जितिसकेको छ । बिराटनगरमा कांग्रेसको अग्रता छ । स्वयं एमाले अध्यक्ष विनोद ढकाल बिराटनगर महानगरपालिकामा कांग्रेससँग लडिरहेका छन् ।

जिल्ला कमिटीका अध्यक्ष विनोद ढकालकै नेतृत्वमा एमालेले उत्तरी मोरङमा निरशाजनक नतिजा निकालेको हो । क्षेत्र नम्बर १ का सांसद ऋषि पोखरेलको क्षेत्र अर्थात मदन भण्डारीको गाउँ रतुवामाई नगरपालिकामा कांग्रेसले जितेको छ । भलै केही दक्षिणी गाउँपालिकामा एमालेले खाता खोलेको छ । तर, जिल्लाका अधिकांश नगरपालिकाहरुमा कांग्रेसले जितेको छ ।

एमाले सांसद पोखरेलले विभिन्न मिडियामा प्रतिक्रिया दिँदै पार्टीभित्रका अन्तरघातीहरुले एमालेलाई हराएको निश्कर्ष सुनाएका छन् । त्यसैगरी उनले एमाले पराजयको दोष माओवादी र संघीय समाजवादीलाई समेत लगाएका छन् । माओवादी र संघीय समाजवादीले कांग्रेसलाई भोट हालेका कारण एमाले हारेको पोखरेलको तर्क छ ।

आखिर मोरङमा एमालेले किन धक्का खानुपर्‍यो ? हेरौं केही केस स्टडीः

१. सुन्दर हरैंचा काण्ड-

बिराटनगरपछि बढी जनसंख्या रहेको नगरपालिका सुन्दर हरैंचाको मेयरमा कांग्रेसका शिव ढकालले एमालेका केदार गुरागाईलाई हराए । कतिपय मानिसहरुले एमालेभित्रैबाट अन्तरघात गरिएका कारण गुरागाईले हारेको बताइरहेका छन् । तर, यसको अन्तर्यमा अर्कै कथा छ ।

एमाले सांसद चन्द्रबहादुर गुरुङ सुन्दर हरैंचाकै बासिन्दा हुन् । सामान्य साक्षरमात्रै रहेका सांसद गुरुङले यहाँबाट एमालेलाई दशकौंदेखि जित दिलाउँदै आएका थिए । पञ्चायतकालमा उनी एमालेबाट जनपक्षीय प्रधानपञ्च बने । ०४९ साल र ०५४ सालका दुबै स्थानीय चुनावमा उनले गाविस अध्यक्ष बनेर एमालेलाई ह्याट्रिक जित दिलाए ।

एमाले परित्याग गरेकी कमला मास्के

पहिलो संविधानसभामा मोरङको ८ नम्बर क्षेत्रबाट केपी ओली समूहका केन्द्रीय नेता गुरु बराल चुनाव लडेर हारे । त्यसपछि दोस्रो संविधानसभामा एमालेले पूर्वगाविस अध्यक्ष चन्द्रबहादुरलाई सभासदको टिकट दियो । गुरुङ एमालेलाई जित दिलाएर सभासद बने । उनी अहिले पनि एमालेका बहालवाला सांसद हुन् ।

तर, केपी ओली गुटका नेता विनोद ढकाल र उनको समूहले यसपालि सुन्दरहरैंचा नगरपालिकाको मेयरमा कसलाई टिकट दिँदा पार्टीले जित्न सक्छ भनेर त्यहाँका जनप्रतिनिधि गुरुङसँग एक वचन पनि सोध्ने काम गरेन । सांसद गुरुङ प्रदेश नम्बर १ का सदस्य समेत हुन् । तर, उनलाई न जिल्ला नेतृत्वले सोध्यो, न त प्रदेश कमिटीले नै सोध्यो ।

दशकौंदेखि एमालेलाई जित दिलाउँदै आएका गुरुङलाई त सोधिएन नै, स्थानीय नगर कमिटीले मेयरमा सिफारिस गरिएका व्यक्तिको समेत मोरङ जिल्ला कमिटी र प्रदेश कमिटीले नाम काटेर विनोद ढकाल समूहका केदार गुरागाईलाई सुन्दर हरैंचाको उम्मेदवार बनायो ।

जिल्लामा केपी ओली गुटले मनपरी गरेको भन्दै सुन्दर हरैंचाका केही एमाले कार्यकर्ता प्रदेश कमिटीको कार्यालयमा डेलिगेसनसमेत गए । तर, प्रदेश इञ्चार्ज भीम आचार्यले यसको सुनुवाई नै गरेनन् ।

सांसद गुरुङले गुरागाइर्ंको उम्मेदवारी मनोनयन हुनुपूर्व नै आफ्ना निकटस्थहरुसँग भनेका थिए कि केदार गुरागाईलाई टिकट दिने हो भने सुन्दर हरैंचामा एमालेले मेयर जित्दैन ।

गुरुङले गुरागाईलाई नवधनाढ्यको संज्ञा दिँदै सुकुम्वासीहरुसँग हात मिलाउन अप्ठ्यारो मान्ने गरेको र खानेपानी लगायतका संस्थामा काम गर्दा आर्थिक पारदर्शिता नदेखिएको विश्लेषण गरेका थिए ।

सुन्दर हरैंचामा पार्टीले जित्ने हो भने त्यागी एवं स्वच्छ छविका व्यक्तिलाई मेयरको टिकट दिनुपर्ने सांसद गुरुङले मनोनय दर्ता अघि नै बताएका थिए । तर, विनोद ढकालले समूहले सांसद गुरुङको कुरा सुन्न मानेन ।

सांसद गुरुङले सुन्दर हरैैंचामा पूर्वविद्यार्थी नेता राजकुमार ओझालाई उठाउँदा मेयरमा जित सुनिश्चित हुने विश्लेषण गरेका थिए । तर, ओली पक्षले ओझा आर्थिक रुपमा कमजोर रहेको हुनाले उनले भोट ल्याउन नसक्ने विश्लेषण गरे । साथै सुकुम्वासीको भोट खासै धेरै नभएकाले उनीहरुले भोट नहाले पनि एमालेले जित्ने विश्लेषण ओली पक्षका नेताले गरे ।

चुनावकै बेला एमाले जिल्ला सदस्य कमला मास्कले चुनावकै बेला एमाले परित्याग गरिन् र उनी कांग्रेसको चुनाव प्रचारमा हिँडिन् । मास्केले एमाले अब गरीब र रिक्सावालहरुको पार्टी नरहेको र धनाढ्यहरुको पार्टी बन्न पुगेको गुनासो पोखिन् । उनी सुन्दर हरैंचामा एमालेकी पुरानै कार्यकर्ता हुन् ।

यसैवीच एमाले नेता माधवकुमार नेपालसमेत सुन्दर हरैंचा पुगे । उनले त्यहाँ पार्टीको आन्तरिक विवाद मिलाउने प्रयास गरे । साथै नेता नेपालले बिराटचौक पुगेका बेला राप्रपाका सुरेन्द्र थापा लगायतलाई एमालेमा प्रवेश गराएर केदार गुरागाईको पक्षमा चुनावी माहौल बनाउने प्रयास गरे ।

तर, नगरपालिकाका एमाले कार्यकर्ता र शुभेच्छुकहरुले गुरागाईलाई मत दिएनन् । उनीहरुले छानेर मतदान गर्दै उपमेयर र बहुमत सदस्यहरुमा एमालेलाई नै जिताए । तर, मेयरमा भने जिल्ला र प्रदेश कमिटीले जबरजस्ती लादेका उम्मेदवार केदार गुरागाईलाई हराइदिएर केपी ओली गुटको टिकट वितरण पद्दतिलाई खारेज गरिदिए । अन्ततः एमाले सांसद चन्द्रबहादुर गुरुङकै भविश्यवाणी सही सावित भयो, केदार गुरागाईले चुनाव जितेनन् ।

तथापि एमालेका कार्यकर्ताले सुन्दर हरैंचाका बहुमत सीटमा एमालेलाई नै जिताएका छन् । तथापि ओली समूहका नेताहरु यतिबेला आफ्ना तिनै मतदातालाई ‘अन्तरघाती’ भन्दै गाली गरिरहेका छन् । उम्मेदवार चयनमै कार्यकर्तामाथि जिल्ला र प्रदेशका नेताले जबरजस्ती नगरेको भए नगरपालिकामा एमालेले कांग्रेससँग नहार्ने गुरुङ समूहका कार्यकर्ताहरुको तर्क छ ।

२. उम्मेदवार खरिद प्रकरण-

गाउँपालिका अध्यक्षमा सिफारिस गरेर गाउँ कमिटीले पठाएका व्यक्तिलाई मोरङ जिल्ला र प्रदेश कमिटीका नेताहरुले २१ लाख रुपैयाँ मागेको भन्दै मिक्लाजुङका एमाले नेता भेषराज काफ्लेले पार्टी परित्याग गरे । यो प्रकरणले मोरङमा निकै ठूलो खैलाबैला मच्चियो । सोसियल मिडियामा यो विषय भाइरल बन्यो ।

भलै मिक्लाजुङका एमाले कार्यकर्ता र मतदाताहरु इमान्दार रहेछन् । उनीहरुले जिल्ला र प्रदेशका नेताले आर्थिक चलखेल गरेको सन्दासुन्दै पनि मिक्लाजुङमा एमालेलाई नै जिताए ।

भेषराज काफ्ले

तर, मिक्लाजुङमा एमालेले जित्दैमा जिल्ला नेता विनोद ढकाल र प्रदेश इञ्चार्ज भीम आचार्यले सफाइ पाएको मान्न नसकिने कार्यकर्ताहरुको भनाइ छ । भेषराज जस्ता इमान्दार एवं पुराना एमाले कार्यकर्ताले रुँदैरुँदै पार्टी छाडेका छन् ।

एमालेले अब पक्कै पनि यो प्रकरणलाई कार्पेटमुनि छोपेर छोपिने स्थिति छैन । किनभने, मिक्लाजुङमा त एमाले बच्यो, तर यही विषयले लेटाङ, केराबारी, उर्लाबारी, हरैंचा, बिराटनगर जतासुकै असर पारेको छ । यस विषयमा पार्टीले पक्कै पनि छानविन गरी यथार्थ बाहिर ल्याउला ।

यसैवीच केराबारीका एमाले नेता गोकुल थापाले लगभग भेषराज थापाकै जसरी इमान्दार व्यक्तिहरुले एमालेमा ठाउँ नपाइनेरहेछ भन्ने संकेत गर्दै राजनीतिबाट सन्यास लिएको घोषणा गरेका छन् ।

३. केराबारीको अन्तर कथा-

मोरङको केराबारी गाउँपालिकाको अध्यक्ष पद एमालेले गुमायो । केारबारीमा एमालेले आफ्नो जित पक्का हुने दाबी गरेको थियो । र, उपाध्यक्षमा विजयी एमाले नेतृ शान्ति भुजेल लिम्बुले पाएको लोकपि्रय मतलाई हेर्दाखेरि केराबारीमा एमालेको पकड रहेको स्वतः प्रमाणित हुन्छ । तैपनि अध्यक्षमा एमालेका उम्मेदवार नविन थापा मगरले हारे । र, त्यहाँ कांग्रेसका रोहित कार्कीले थोरै मतान्तरले जिते ।

केराबारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुबै उम्मेदवार ओली गुटका नभएर माधव नेपाल गुटकै थिए । केराबारीमा ओली गुटको नेता नै नभएकाले त्यहाँ उम्मदेवारी चयनमा हरैंचामा जस्तो विनोद ढकाल समूहको दबाव परेन ।

केराबारी गाउँकमिटीका एमाले पूर्वअध्यक्ष रमेश चेम्जोङ वडा नम्बर १० को टिकट नपाएकोमा असन्तुष्ट थिए । तर, उनको वडामा एमालेले राम्रो मत पाएका कारण चेम्जोङले पार्टीलाई असहयोग गरेको देखिएन । तर, सबैभन्दा बढी मतदाता रहेको वडा नम्बर ९ मा एमाले अन्तरद्वन्द्वमा फस्यो र त्यही वडाको पराजयले उसले गाउँपालिकामा हार्नुपर्‍यो ।

केराबारी ९ बाट स्थानीय कमिटीले भूपाल कार्कीलाई वडाध्यक्षमा सिफारिस गरेको थियो । यही आवेशमा अर्का नेता लालबहादुर कार्कीले एमाले छाडेको घोषणा गरे । उनले एमालेलाई गाउँबाट पत्तासाफ गरिदिने घोषणा गरे ।

तर, पार्टीले वडा कमिटीको सिफारिसलाई लत्याउँदै उनै लालबहादुर कार्कीलाई टिकट दियो, जसका कारण आफू अपमानित भएको महसुस गर्दै भूपाल चुनावमै खटेनन् । अन्ततः एमाले वडा नम्बर ९ मा पनि पराजित भयो र त्यहँबाट कांग्रेसले करिब ३ सय मत बढी पायो ।

एमालेका एक स्थानीय नेता भन्छन्- ‘केराबारीमा हामी आन्तरिक कारणले नै हारेका हौं । ९ नम्बर वडा हाम्रो गढ भनिएको थियो,तर यहीँ हामी नराम्रो विवादमा फस्यौं ।’

त्यसो त केराबारीका पहाडी भूभाग पाटीगाउँ, भोगटेनी, सिंहदेवी लगायतका ठाउँहरु एमालेका गढ मानिन्थे । सुरुमा मतगणना हुँदा ती ठाउँहरुमा समेत कांग्रेसले अग्रता लियो । एमालेको गढ भनिएको ९ नम्बर वडाबाटै कांग्रेसले अग्रता लिएपछि एमाले हार्‍यो ।

एमाले कार्यकर्ताको दाबी के पनि छ भने कांग्रेस उम्मेवार रोहित कार्की मोरङका चर्चित व्यापारी सुनिल शर्मा, भीम पौडेल आदिका प्रतिनिधिका रुपमा चुनाव लडेका हुनाले पैसाका बलमा उनले चुनाव जितेका हुन् ।

अर्कोतर्फ आफूहरुलाई जनजातिको पक्षधर बताउने संघीय समाजवादीका कार्यकर्ताले पनि केराबारीमा एमालेका मगरलाई भोट नहालेर कांग्रेसका क्षेत्रीलाई भोट लिएको एमाले नेताहरुको गुनासो छ ।

केराबारीको यो दृष्टान्तलाई किन पनि सामान्यीकरण गर्न सकिन्छ भने एमालेले विभिन्न स्थानीय तहमा आन्तरिक अन्तरविरोधलाई व्यवस्थापन गर्न नसक्दा यस्तो परिणाम आएको हो ।

जस्तो उर्लाबारीमा पनि एमालेले हार्‍यो । एक स्थानीयको तर्क अनुसार उर्लाबारीका अधिकांश एमाले कार्यकर्ताहरुले जनताको सेवक भन्दा पनि जग्गा दलालको पहिचान बनाउँदै लगेका कारण उनीहरु अलोकपि्रय देखिएका छन् ।

समग्रमा मोरङ जिल्लामा इमान्दार र त्यागी एवं स्वच्छ छविका कार्यकर्तालाई पाखा लगाएर पैसावाललाई टिकट वितरण गर्दा पार्टीले हार्नुपरेको निश्कर्ष एमालेका स्थानीय कार्यकर्ताहरुले निकालेका छन् ।

एमालेविरोधी मनोविज्ञानको असर

विगतका सबै चुनावमा राम्रो प्रभाव राख्दै आएको उत्तरी मोरङमा एमालेले हार्नुका पछाडि अर्को एउटा मनोवैज्ञानिक कारणले पनि काम गरेको पाइएको छ ।

जस्तो कि एमाले नेताहरु भन्ने गर्छन्- ‘माओवादीले आफ्नो भोट कांग्रेसलाई हालेर एमालेलाई हराए । संघीय समाजवादीले पनि एमालेलाई हराउन कांग्रेसलाई भोट दिए ।’

आखिर किन यस्तो भयो ? कतिपय एमाले नेताहरु पैसा खाएर त्यसो गरिएको बताउँछन् । तर, के यसमा पैसाको मात्रै कुरो छ त ? जनताको मत र मनलाई यसरी पैसासँगमात्रै तुलना गर्नु कत्तिको न्ययासंगत होला ? यो बहसको विषय हो ।

तर, उत्तरी मोरङमा माओवादी र संघीय समाजवादीका कार्यकर्ताले एमाले हराऊ अभियान चलाएको र कांग्रेसलाई भोट हालेको कुरामा केही सत्यता छ । यसका पछाडिको मुख्य कारण हो- ‘एमाले नेताहरुको रुखो व्यवहार ।

एमाले नेताहरुले माओवादी र संघीय समाजवादीका कार्यकर्ताहरुसँग सम्मानजनक व्यहार गर्ने र उनीहरुलाई नजिकमा राख्ने काम नगरेका कारण यो भूगोलमा एमालेप्रति माओवादी लगायत अन्य साना पार्टीका कार्यकर्ताहरु रुष्ट रहँदै आएका छन् ।

एमाले कार्यकर्तामा देखिएको दम्भी र अरुको अस्थित्वलाई स्वीकार नगर्ने फासीवादी शैलीका कारण गाउँमा सबै दल एकातिर र एमाले अर्कातिर हुने अवस्था छ । र, यसको फाइदा यसपटक कांग्रेसले राम्रैसँग उठायो ।

जवसम्म एमाले कार्यकर्ताहरुले यसबारे कार्यशैलीगत सुधार गर्दैनन् त्यतिबेलासम्म साना पार्टीहरुले उसलाई यसैगरी हराइदिने सम्भावना जिवितै रहन सक्छ ।

ओलीको लाइन असफल ? बहसमा वामदेवको लाइन

 

तर, एमाले र माओवादीवीचको सम्बन्ध विग्रनुमा गाउँका एमाले कार्यकर्ताको मात्रै दोष छैन, यो कमजोरी माथिबाट, केपी ओलीबाटै हुँदै आएको छ, जसको असर यसपालि मोरङको स्थानीय तहसम्म पुग्यो ।

एमालेको केही नेताहरुको भगिरथ प्रयासबाट एमाले-माओवादी गठबन्धन बनेको थियो र केपी ओलीले सरकारको नेतृत्व गरेका थिए । तर, एमालेले माओवादीलाई चिढ्यायो र कांग्रेसको कित्तामा धकेल्यो । अब यसको असर आगामी प्रदेशसभा र केन्द्रको चुनावसम्मै पर्न सक्छ ।
आगामी प्रदेशसभा र प्रतिनिधिसभामा एमाले वा कांग्रेस कसैले पनि बहुमत ल्याएनन् भने त्यसबेला जसले माओवादीलाई आफ्नो नजिक राख्छ, उसैले पाँच वर्ष सरकार चलाउने स्थिति आउन सक्छ । अहिलेको स्थानीय चुनावको परिणामले भावी शक्ति सन्तुलनको छनक दिइसकेको छ ।

अहिलेको निर्वाचनमा एमाले ठूलो दल बन्न सफल त भएको छ, तर उसले सकेजति सफलता ल्याउन सकेको छैन र यसमा कांग्रेस र माओवादीको गठबन्धनले अवरोध गरेको एमाले नेताहरुले पक्कै बुझेको हुनुपर्छ ।

अब आगामी चुनावमा कांग्रेस र माओवादीलाई एकै ठाउँमा राखेर हिलोमा पछारिन्छ भन्ने एमाले नेताहरुले सोचेका छन् भने यो असम्भव नै त नहोला, तर ‘रिस्की गेम’ चाहिँ पक्कै ठहरिने छ । त्यो स्थितिमा एमालेले सोचेजस्तो सफलता पाएन भने अन्ततः फकाउनुपर्ने माओवादीलाई नै हो ।

सम्भवतः यही कुरा बुझेर हुनुपर्छ एमाले नेता वामदेव गौतमले वामपन्थीहरु मोर्चावद्ध हुनुपर्ने बताउँदै आइरहेका छन् । तर, केपी ओली समूहले वामदेवको यो कुरो सुन्नै चाहँदैन । र, यसैको प्रतिफलस्वरुप एमाले-माओवादी सम्बन्ध स्थानीय तहसम्मै बिगि्रएको छ । यसलाई एमालेले सच्याएन भने उसले धक्का खानु स्वाभाविकै हो ।

हुन त अहिलेको स्थानीय चुनावपछि एमालेभित्र अर्को पनि मनोविज्ञानको विकास हुने खतरा छ, त्यो के भने माओवादी, राप्रपा, वा फोरम कसैलाई पनि वास्ता नगर्ने र एक्लै अघि बढ्ने । किनभने धनकुटा, तेह्रथुम, झापा, दाङ, कैलाली कञ्चनपुर, रुपन्देहीजस्ता जिल्लामा एमालेले पाएको सफलताले उसलाई अरु दलहरुको अस्थित्व अस्वीकार गर्ने दम्भ बढ्न सक्छ ।

यो पनि पढ्नुहोस्
एमाले र माओवादी एउटै चुनाव चिन्हसहित मोर्चा बनाऔं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अरूण बराल

अरूण बराल अनलाइनखबर डटकमका सम्पादक हुन् ।

ट्रेन्डिङ

Advertisment