२५ असार, पोखरा । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाली जनताले कांग्रेसको विकल्प खोज्न लागेको टिप्पणी गरेका छन् ।
उनले जनतालाई कांग्रेसको विकल्प खोज्ने अधिकार रहे पनि कांग्रेस कार्यकर्तासँग भने त्यो विकल्प नरहेको बताएका छन् ।
कांग्रेसबाट निर्वाचित कास्की जिल्लाका जनप्रतिनिधिहरुलाई पोखरामा सम्वोधन गर्दै पौडेलले भने- ‘जनताले कांग्रेसको विकल्प खोजेको संकेत स्थानीय चुनावले दिएको छ । हामी कांग्रेस कार्यकर्तासँग विकल्प छैन । तर जनतासँग विकल्प छ । हामीले पनि अब कांग्रेसको विकल्प कांग्रेसमा नै छ भनेर देखाउनुपर्छ ।’
पौडेलले कांग्रेसका कार्यकर्ताहरुले नेताहरुको मूल्याङ्कन गरे मात्र नेताहरुले पनि कार्यकर्ताको मुल्याङकन गर्ने भन्दै कार्यकर्ताले नेताको मूल्याङ्कन गर्न नसक्दा नेतृत्व स्वेच्छचारी हुने बताए ।
पौडेलले एमालेको हातमा सत्ता पुग्दा जनताले न्याय नपाउने धारणा राखे । बामपन्थी पार्टीहरु पक्षपाती हुने र एमाले त झन् पक्षपातीको पर्यावाची नै भएकाले बामपन्थीहरुको हातमा सत्ता पुग्दा जनताले न्याय नपाउने उनको तर्क थियो ।
पौडेलले पार्टीबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधिलाई जनताको स्वार्थलाई आफ्नो स्वार्थका रुपमा लिएर काम गर्न निर्देशन दिए ।
उनलेे अहिलेका स्थानीय तहका प्रतिनीधि जनप्रतिनीधि मात्र नभएर स्थानीय सरकारका प्रतिनीधि भएकाले जिम्मेवारी महशुस गरी अगाडि बढ्न पनि निर्देशन दिए ।
प्रतिक्रिया 4