Comments Add Comment

‘११ शहरमा प्रदिपका ११ थरीका फ्यान’: ‘कोही किस गर्ने, कोही होटलमै आउने’


चलचित्र ‘प्रेमगीत’ हिट भएपछि नायक प्रदिप खड्काको क्रेज पनि ह्वात्तै बढ्यो । प्रदिपको मुस्कान भनेपछि भुतुक्कै हुने फ्यानहरु बढे । हालैमात्र, प्रदिपले अभिनय गरेको चलचित्र ‘प्रेमगीत २’को कन्सर्ट सम्पन्न भयो ।

काठमाण्डौ बाहिरका ११ शहरमा आयोजित कन्सर्टमा प्रदिपले ११ थरीका फ्यानसँग साक्षात्कार गर्ने मौका पाए । पश्चिम नेपालदेखि सुरु भएको कन्सर्ट पूर्वको विर्तामोड पुगेर सम्पन्न भयो । हरेक शहरमा प्रदिपलाई हेर्न हजारौ फ्यानको भिड लाग्यो । प्रदिपले ११ शहरमा ११ थरीका फ्यान भेटेका छन्, जो उनको दिमागमा बसेका छन् । प्रदिपले ११ शहरमा भेटेका ११ थरीका फ्यानको बारेमा अनलाइनखबरसँग शेयर गरेका छन्ः

१. बुटवलमा एकजना यूवती कन्सर्टमा आउनु भएको थियो । तर, मलाई भेट्न नपाएपछि उहाँ धेरै समय रुनुभयो । उहाँले कि प्रदिपलाई भेटाइदेउ कि त उनी बसेको होटलमा पुर्‍याइदेउ भन्दै रुनुभएछ । पछि, उहाँलाई म बसेको होटलमा मेरो टीमले लिएर आयो । तर, मलाई भेटेपछि उहाँ बोल्दै बोल्नुभएन । रुनु मात्र भयो । पछि, उहाँसँग मैले फोटो खिचेँ । उहाँ निकै खुशी हुनुभयो ।

२. विर्तामोडमा २ जना फ्यान भेटेँ । जो मसँग फोटो खिच्नका लागि उत्सुक हुनुहुन्थ्यो । भिड धेरै भएकाले मलाई मेरो टिमले माइक्रोमा लादै थियो । उहाँहरु पनि मसँग फोटो खिच्न दौडनुभयो । भीडका कारण उहाँहरु नजिकैको नालीमा खस्नुभयो । मलाई एकदमै माया लाग्यो । मैले उहाँहरुसँग स्टेजमा फोटो खिचिसकेको थिएँ, तर पनि उहाँहरुले देखाउनुभएको मायाले मलाई अर्कै उत्साह थपेको छ ।

३. चितवनमा ३-४ बर्षको एक जना बच्चा हुनुहुन्थ्यो । उहाँलाई ‘प्रेमगीत’को सबै संवाद कण्ठ रहेछ । सानो बच्चामा समेत मेरो चलचित्र र भूमिकाले पारेको प्रभाव देखेर खुशी लाग्यो ।

४. एकजना फ्यान ‘प्रेमगीत’ हेर्दा हेर्दै रोएको भिडियो फेसबुकमा भाइरल भएको थियो । उहाँ पनि नेपालगञ्जमा कन्सर्ट हेर्न आउनु भएको थियो । उहाँलाई भेट्दा निकै खुशी लाग्यो ।

५. दमौलीमा एकजना आन्टी हुनुहुन्थ्यो । म र अश्लेषा बुलेट बाइकमा स्टेज चढ्दै गर्दा उहाँले हामीलाई तानेरै चुम्बन गर्नुभयो ।

६. हेटौडाको स्टेजमा कार्यक्रम गर्दै गर्दा  एक जना फ्यानले मलाई घाटीमा समातेर तानेरै किस गर्नुभएको थियो ।

७. दमकमा २ जना यूवती फ्यानकाे  माया गजबकै थियो । उहाँहरुले कन्सर्टमा तस्बिर खिच्न नपाएपछि रातको १० बजे मलाई भेट्न होटलमै आउनुभयो । तर, सो समयमा हाम्रो टिमले मलाई भेट्न दिएनछ । तर, भोलीपल्ट बिहानै ६ बजे उहाँहरु फेरि होटलमा आउनुभयो । केही घन्टा कुरेपछि मसँग उहाँहरुको भेट भयो । फोटो खिच्नका लागि उहाँहरुले घन्टौ कुर्नुभयो । उहाँहरुले दिनुभएको मायाप्रति आभारी छु ।

८.मलाई मेरो यूवतीहरु मात्र फ्यान हुनुहुन्छ जस्तो लाग्थ्यो । तर, वुटवलमा यूवाहरु होटलमा आउनुभयो र फोटो खिच्नुभयो । केटा फ्यानहरुले समेत दिनुभएको मायाले मलाई नौलो अनुभुती भयो ।

९. पोखरामा पानी परेकाले म र अश्लेषा छोटो समयका लागि मात्र स्टेजमा पुगेका थियौं । तर, केही फ्यानहरुले २ घन्टा भन्दा बढी पानीमा रुझेर फूल दिनुभयो । फूल दिनकै लागि उहाँहरुले पानीको प्रभाह गर्नुभएन ।

१०. चितवनमा सबै खालका दर्शकहरुले फोटो नखिची नजाने भन्दै अड्डी लिनुभएछ । मैले सबैसँग कन्सर्ट सकिएपछि पालैपालो फोटो खिचाएँ । हरेक बर्गका दर्शकको मायाले मलाई फरक अनुभुती भयो ।

११. इटहरीमा कन्सर्ट गर्दै गर्दा एकजना महिला फ्यान आउनुभएको थियो । उहाँलाई टाइफाइड भएर हस्टिपल भर्ना गरिएको रहेछ । तर, उहाँ हस्पिटलबाट भागेर कन्सर्ट हेर्न आउनु भएको रहेछ ।

हामी चढेको गाडी पछाडि कुद्ने र प्रदिप भनेर माया दिने दर्शक त मैले हरेक शहरमा भेटेँ । मलाई दर्शकको माय यती धेरै छ भन्ने लागेको थिएनँ । बच्चादेखि यूवायूवती अनी आमा-बुबाहरुको मायाले मलाई काम गर्न अझै जोश थपेको छ । एमआरआरका साथीहरुले ११ वटै शहरमा निकै ठूलो सहयोग र साथ दिनुभयो । उहाँहरुप्रति निकै आभारी छु ।

‘प्रेम’ भन्ने पात्रले एउटा राम्रो छाप छाडेको रहेछ भन्ने लागेको छ । सबै दर्शकसँग यसपटक नजिकबाट साक्षात्कार गर्ने मौका पाएँ, त्यसमै खुशी लागेको छ । अधिकांश दर्शकहरुले मेरो मुस्कान मन पराउनु हुँदोरहेछ । फोटो खिच्ने क्रममा हाँस्नै पर्छ भन्नुहुन्थ्यो । सबै दर्शकप्रति आभारी छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment