Comments Add Comment

सई सा’ब भए जुमानु, राष्ट्रिय टिममा नफर्किने ‘घोषणा’

२७ असार, काठमाडौं । नेपाली यू-२३ टोलीले बंगलादेशसँग मैत्रिपूर्ण फुटबल खेल्नु अघि नेपाली फुटबल समर्थकका लागि खुसीको खबर बन्यो, जुमानु राईको बढुवा ।

दुई तारे फुली लगाएर हँसिलो मुद्रामा रहेका जुमानुको तस्वीर शेयर गर्दै धेरैले बधाई दिएका छन् । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर समेत रहेका राईको प्रहरी नायव निरीक्षक (सई)मा बढुवा भएको हो अर्थात उनी अब सई सा’ब भएका छन् ।

जुमानुले हालै प्रमोसन पाएका हुन् । सर्लाहीको हरिवनमा घर भएका जुमानुले २०५९ सालमा नेपाल पुलिस क्लबमा प्रवेश पाएका थिए । लगत्तै उनले प्रहरीमा सिपाहीको जागिर पाए । त्यसपछि उनले तीनपटक प्रमोसन खाएका छन् ।

पुलिस टिमले राष्ट्रिय लिग जित्दा उनको हवल्दारमा बढुवा भयो भने का एएफसी प्रेसिडेन्ट कपमा उपविजेता हुँदा असई भए । उनी अहिले पुलिस टिमका कप्तान हुन् । जसले पहिला फुली लगाउँछ, पुलिस क्लबमा उसैलाई कप्तान दिइन्छ ।

जुमानु पुलिसमा प्रवेश गर्दा नेपाली फुटबलमा पुलिस क्लबकै दबदबा थियो । खेलाडीहरु पनि पुलिससँग एकसेएक थिए । त्यसैले टिममा स्थान बनाउन जुमानुलाई सजिलो थिएन ।

तर, जब मौका पाउँथे, जुमानुले आफूलाई प्रमाणित गरेर देखाउँथे । अन्ततः उनले एउटा स्ट्राइकरको भूमिकामा आफूलाई स्थापित गरे । २०६२ सालमा उनले राष्ट्रिय फुटबल टिममा स्थान बनाए । मकाउविरुद्धको खेलमा उनले डेब्यू गरेका थिए ।

नेपाली फुटबलमा अहिले पुलिसको दबदबा पहिले जस्तो छैन । जुमानु पनि राष्ट्रिय टोलीमा नपरेको धेरै भइसक्यो । आफू राष्ट्रिय टिमबाट खेल्दा सबैले सतप्रतिशत प्रयास गरेको तर सोचेअनुसार नतिजा निकाल्न नसकेको उनले बताए ।

राष्ट्रिय टिममा नफर्किने ‘घोषणा’

मंगलबार अनलाइनखबरसँग कुरा गर्दै स्ट्राइकर जुमानुले अब राष्ट्रिय फुटबल टिममा नफर्किने घोषणा गरे । पुलिस क्लबबाट भने अझै २-३ वर्ष खेल्ने योजना छ ।

उनले आफ्नो करिअरमा राष्ट्रिय टिमबाट ५३ म्याच खेलेका छन् भने १२ अन्तर्राष्ट्रिय गोल गरेका छन् । ३४ वर्षीय जुमानुले भने, ‘अहिले आएका नयाँ भाइहरुले धेरै राम्रो गरिरहेका छन्, अब म उनीहरुको ठाउँ लिन चाहन्न ।’

क्लबको स्तरलाई माथि उठाउने र यसका केही राम्रा खेलाडीहरु भर्ना गर्ने उनको योजना छ ।

प्रहरीको जागिरमा सन्तुष्ट

जुमानु रार्इ

१५ वर्ष लामो प्रहरीको जागिरबाट जुमानु अत्यन्त सन्तुष्ट छन् । भन्छन्, ‘म आज जे छु, प्रहरीकै कारण छु । प्रहरी संगठनले मलाई जागिर मात्र नभएर नाम पनि दिएको छ ।’

उनले आर्थिक रुपमा पनि आफूसँग कुनै गुनासो नरहेको बताए । ‘राम्रो र्फममा रहेका बेला मलाई विदेशी क्लबहरुबाट आकर्षक प्रस्ताव पनि आएका थिए, तर गइनँ,’ उनले भने, ‘आज यसमा मलाई कुनै पछुतो छैन ।’ प्रहरीको जागिरले आफ्नो घर परिवार राम्रैसँग चलेको उनी बताउँछन् । उनका श्रीमती र एक छोरा छन् ।

प्रहरीको जागिरे भए पनि उनले कुनै ड्यूटी गर्नु पर्दैन । अफिसमा गएर दैनिक हाजिर गर्नु पर्दैन । फुटबल खेल्नु नै उनको ड्यूटी हो । तालिम भने अरु सरह नै हुुन्छ ।

सेवा-सुविधा पनि आम प्रहरी सरह नै हुन्छ । फुटबल प्रतियोगितरुमा भाग लिँदा अतिरिक्त भत्ता आउँदैन । बिहान ८ बजेदेखि ११ बजेसम्म ट्रेनिङ हुन्छ । त्यसैमा उपस्थित हुनुलाई हाजिरी मानिन्छ । फुटबल प्रतियोगिता नभएको बेला उनी खाली नै हुन्छन् ।

जुमानुले फुटबलमा लागेर जुमानुले आफ्नो पढाई भने अघि बढाउन सकेनन् । एसएलसीपछि पढाईमा ब्रेक लाग्यो ।

छोरालाई भने पढाई र फुटबल दुवैमा एकसाथ अगाडि बढाउने उनको सपना छ । ‘तीन वर्षको छोरोले फुटबल सिक्न थालिसक्यो,’ उनले खुशी हुँदै सुनाए ।

१५ वर्षको प्रहरीको जागिरबाट के सिक्नुभयो भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘अनुशासन । जीवनमा अनुशासनको महत्व मैले थाहा पाएँ ।’

सबै तस्वीरः जुमानुको फेसबुकबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment