Comments Add Comment

पहिरो प्रभावितलाई प्रवासीकाे सहयाेग

३१ असार, बागलुङ। पहिराका कारण विस्थापित गलकोट नगरपालिका–७ मल्मकी मनकुमारी चोखाललाई जापानमा रहेका नेपालीले रु पाँच लाख सहयोग जुटाएका छन् ।

चोखालको पुनःस्थापना र जीवनयापनमा सघाउन गलकोटबाट जापान पुगेका प्रवासीले सहयोग अभियान चलाएका थिए । एक सय १० जनाबाट उक्त रकम संकलन भएको गलकोट समाज जापानका उपाध्यक्ष भवानी पन्तले जानकारी दिए ।

त्रिसठ्ठी वर्षीया चोखालको अस्थायी कच्ची घर दुई साताअघि गएको पहिराले क्षतिग्रस्त बनाएको थियो । परिवारमा कोही नभएपछि एक्लै जीवनयापन गर्दै आएकी चोखाल अहिले छिमेकीका घरमा आश्रय लिएर बस्दै आएकी छन् । अन्नपात, लत्ताकपडा, भाडाकुँडासमेत पहिरामा पुरिएपछि उनको उद्धार र राहतका लागि जिल्ला र प्रवासमा समेत सहयोग अभियान चलेको हो ।

जापानमा संकलित रकमबाट चोखाललाई नयाँ घर बनाइदिने योजना बनाइएको अभियानकर्मी तेजबहादुर थापाले बताए । चोखाललाई राहत रकम जुटाउन प्रवासीले ‘मनकुमारी चोखाललाई सहयोग गरौं’ भन्दै फेसबुक अभियान चलाएका थिए ।

पति वियोगपछि एक्लो बनेकी चोखाल २०५६ सालमा सुकुम्बासी आयोगले दिएको जग्गामा रहेको अस्थायी घरमा बस्दै आएकी थिइन् । पति, सन्तति र परिवारमा कोही पनि सदस्य नभएपछि चोखाल सहराराविहीन छिन् । उनलाई राहत उपलब्ध गराउने उद्देश्यले बागलुङ सदरमुकाममा चलेको अभियानमा पनि रु ४० हजार संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी, रोटरी क्लबलगायत संघसंस्थाले नगद तथा राहत सामग्री उपलब्ध गराएको अभियानकर्मी मुकेशचन्द्र राजभण्डारीले बताए । जिल्ला दैवीप्रकोप उद्धार समितिले पनि उनलाई रु दश हजार उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment