Comments Add Comment

गाउँ निकाला गरिएकी गर्भवती बालिकाको विचल्ली

२ साउन, भोजपुर । जिल्लाको पूर्वी अरुण गाउँपालिका ५ याकुमा एक ११ वर्षिया बालिकाको छिमेकी युवकको अवैध यौन सम्बन्धबाट गर्भ बसेको छ ।

छिमेकी २१ वर्षीय दुर्गाबहादुर श्रेष्ठले ११ वर्षीय0 वालिका निशा (नाम परिवर्तन) लाई ललाई फकाई शारीरिक सम्पर्क राखेपछि गर्भवती भएकी हुन् । पीडित बालिकाकी माइजू निम घलेले अनलाइनखबरलाई बताएअनुसार घरमा बालिकाको पेटमा गर्भ रहेको रहस्य थाहा पाएपछि गाउँले बसेर बालिकालाई दुर्गाबहादुरको जिम्मा लगाएका थिए ।

‘मैले याकुको स्वास्थ्य चौकीमा लगेर जँचाउँदा गर्भ ६ महिनाको पुगिसकेको देखियो ।’ उनले भनिन् । निशाको बुवा श्रेष्ठ र आमा दलित समुदायको भएकाले केटा पक्षले दलितको छोरी नभित्राउने भन्दै घरमा पस्न दिएनन् । गाउँलेहरुले पनि अर्काको पेट बोक्ने भन्दै कहीँ कतै बस्न नदिएपछि केटा र केटी असारको तेस्रो सातातिर गाउँबाटै निकाला भएको माइजूले बताइन् ।

गाउँका अगुवा, बुज्रुक तथा स्वयं प्रहरीले समेत घटनाको विषयमा कुनै चासो नदिएकोमा उनले दुःख व्यक्त गरिन् । स्थानीय विद्यालयमा कक्षा ११ मा पढ्दै गरेका दुर्गाबहादुरले बालिकालाई लिएर धरान झरे पनि उनले अहिले छाडेपछि बालिकाको झनै विचल्ली भएको छ ।

बालिका केही दिन आफन्तको संरक्षणमा रहे पनि अहिले मागेर खाइरहेकी छन् । महिला तथा बालबालिका कार्यालय, भोजपुरकी महिला विकास अधिकृत पुष्पलता उप्रेती बालिकाको अभिभावकले आफूहरु पक्राउ पर्ने डरले अहिलेसम्म कहिंकतै कानुनी उपचार नखोजेको बताउँछिन् ।

बालिकालाई केटाले छाडेको र गाउँलेले नै निकाला गरेपछि भने आफूकहाँ कुरा आएको र आजैतिर आफूले जिल्ला बोलाएको उप्रेतीले बताइन् ।

‘सबैभन्दा पहिले त यति कम उमेरमा गर्भ बसेकाले बालिकाको स्वास्थ्य अवस्था पहिलो शर्त हुन्छ, डाक्टरहरुबाट चेकजाँच गराउनुपर्छ अनि उनलाई कहाँ संरक्षण गर्ने, पीडकमाथि के कस्तो कारवाही गर्ने पछिल्लो चरणमा गर्नुपर्छ त्यसको लागि म समन्वय गरिरहेको छु ।’ प्रमुख उप्रेतीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment