+
+
Shares

अमेरिकी मिडियामा नेपाली झोल ममको चर्चा

ममले न्युयोर्कका नेपाली रेस्टुरेन्टको मेनु बदल्यो

अनुज थापा ⁄ दिपिका श्रेष्ठ अनुज थापा ⁄ दिपिका श्रेष्ठ
२०७४ साउन ८ गते ११:२६

८  साउन, न्यूयोर्क । रातो क्याप र स्लिेभलेस भेस्ट लगाएकी ४३ वर्षीया जानुका श्रेष्ठ एक शनिबारको दिन एकदमै व्यस्त थिइन् आफ्नो रेस्टुरेन्ट ‘ममचाय’ मा । उनको यो व्यस्तता पछिल्लो ५ महिनादेखि नै जारी छ । उनको व्यस्तताको एउटै मात्र कारण छ, त्यो हो झोल मम ।

जानुकाले सपनामा पनि सोचेकी थिइनन् कि उनको रेस्टुरेन्टले न्युयोर्क शहरमा पहिलो पटक भित्र्याएको झोल ममका कारण उनको यस्तो चर्चा होला । तर, यसले उनको ब्यापार मात्र बदलिएन, यसले त लगभग सबै नेपाली रेस्टुरेन्टको मेनु नै बदलिदियो ।

झोल मम अहिले न्युयोर्कका लगभग सबै नेपाली रेस्टुरेन्टहरुले राखिसकेका छन् । कतिले आफ्नो मेनुमा राखिसकेका छन् भने कति राख्ने क्रममा छन् ।

कतिलाई आश्चर्य लाग्न सक्छ भने कतिलाई वाहियात कुरा जस्तो लाग्न सक्छ । पत्याउनै गाह्रो पर्छ कि नेपालमा यति धेरै लोकपि्रय यो झोल मम भर्खरै मात्र न्युयोर्क शहर भित्रियो भनेर ।

भर्खरै अमेरिकी मिडिया न्युयोर्क डेली न्युजले यससम्बन्धी भिडियो बनाएर सार्वजनिक गरेपछि त अहिले यो झोल ममको चर्चा व्यापक भएकेा छ । फेसबुकमा जारी गरेकेा उक्त भिडियो त अहिले भाइरल नै भएको छ । (हेर्नुहोस् भिडियो)

कसरी भित्रियो झोल मम न्युयोर्कमा ?

आउनुहोस् अब यो कथा सुनाैं,

जानुका आफ्ना श्रीमान् मुकुन्द मास्केका साथ न्युयोर्क बस्न थालेको ३ वर्षभन्दा बढी भएको थियो । यसघि ज्याक्सन हाइट्समै रहेका ‘हाम्रो भिम्स क्याफे’ मा उनले एक वर्ष जति काम गरेकी थिइन् । त्यही कामले उनलाई न्युयोर्क शहरमा रेस्टुरेन्ट व्यवसायका बारेमा जान्ने मौका मिलेको थियो । उता उनको श्रीमान पनि न्युयोर्ककै म्यानहृयाटनमा एक इन्डियन रेस्टुरेन्टमा काम गर्थे र अझै गर्छन् ।

यो जोडीले आफ्नै रेस्टुरेन्ट व्यवसाय शुरु गर्ने विचार गरिरहेका थिए । त्यहिबेला उनीहरुको पुरानो साथी, नरेन्द्रलामा र सुभाष लामासँग उनीहरुको कुरा हुन्छ ।

‘हामी उहाँहरुलाई नेपालदेखि नै चिन्थ्यौं’, जानुकाले भनिन् । ‘हामी सबैसँग रेस्टुरेन्टमा काम गरेको अनुभव पनि थियो ।’

नरेन्द्रसँग १३ वर्षभन्दा बढी रेस्टुरेन्टमा काम गरेको अनुभव थियो । उनी यसअघि फिलाडेल्फिया शहरमा १३ वर्ष सेफको रुपमा काम गरिसकेका थिए भने ३ वर्ष न्युयोर्कमै काम गरेका थिए । उता नाताले उनको दाजु सुभाषको नेपालमा रेस्टुरेन्ट थियो ।

त्यो भेटले उनीहरुलाई अब आफ्नै व्यवसाय चलाउने हुटुहुटी चल्न थाल्यो ।

‘न्युयोर्क शहरमा अलि राम्रो र सस्तो ठाउँ पाउन निकै नै गाह्रो छ’, जानुकाले भनिन् । ‘भाग्यले यो ठाउँ पाइयो किनभने यस रेस्टुरेन्टका मालिक यो रेस्टुरेन्ट बेच्ने तरखमा थिए ।’

उनीहरुका लागि उक्त रेस्टुरेन्टको लोकेशन पनि एकदमै राम्रो थियो । ‘यो ठाउँ नेपालीहरु ब्ाढी जाने ज्याक्सन हाइट्सको नजिक भएकाले पनि हामीलाई मन परेको हो’, जानुकाले भनिन् ।

ज्याक्सन हाइट्समा मात्रै कम्तिमा ५ वटा त नेपाली रेस्टुरेन्टहरु छन् । ‘हामीले ठाउँ त पायौं, तर अब खानेकुरा के-के राख्ने भन्नेबारे हामी अलमलमा थियौं’, जानुकाले भनिन् ।

‘त्यहीबेला झोल ममको आइडिया फुर्‍यो ।’

यो आइडिया उनीहरुका लागि अलि जोखिमको आइडिया थियो किनभने १५ वर्षभन्दा बढी भइसकेको थियो त्यस शहरमा नेपाली रेस्टुरेन्ट खोलिएको । तर अहिलेसम्म पनि कसैले झोल मम भने राखेका थिएनन् । रेगुलर मम त सबैको अनिवार्य नै भइहाल्यो ।

‘हामीलाई आशा चाहिँ थियो कि यो चल्छ भनेर,’ जानुकाले भनिन् । ‘हामी नेपालीलाई झोल मम खुब मिठो लाग्छ ।’

फेसबुक लाइभ

उनीहरुको आशा निराशामा बदलिएन । झोल ममको माउथ पब्लिसिटीले उनीहरुको व्यवसाय बढ्न थाल्यो । अझ फेब्रुअरी ७ तारिखका दिन स्थानीय नेपाली पत्रकार आङ्गकामी शेर्पाले फेसबुक लाइभ बाट उनको प्रचार गरिदिए । उक्त भिडियो मात्रै २१ हजारभन्दा बढीले हेरिसकेका थिए ।

‘त्यो फेसबुक लाइभले त जादु नै गर्‍यो,’ जानुकाले भनिन् । ‘मानिसहरु क्यालिफोर्निया, भर्जिनिया र डीसीदेखि यहाँ झोल मम खान आइपुगे । ‘

‘त्यतिखेर त हामीले टोकन सिस्टम नै सुरु गरेका थियौं किनभने ग्राहकको लामो लाइन हुन्थ्यो त्यतिबेला,’ जानुकाले थपिन् ।

त्यतिखेर दिनको ३०० प्लेट झोल मम बिक्री हुने गरेको उनले बताइन् । ‘त्यो दिन सम्झँदा अहिले पनि अचम्मै लाग्छ ।’ जानुकाले थपिन् ।

२६ वर्षे निरज शाह ममचायका नियमित ग्राहक हुन् । उनी त्यहाँ प्रायः हप्तामा एकपटक आउने गर्छन् । ‘मलाई यो ठाउँका बारेमा साथीले भनेको थियो’, निरजले भने, ‘यहाँको झोल मलाई निकै मीठो लाग्छ ।’

‘मममा सबैभन्दा महत्वपूर्ण कुरा भनेकै झोल हो’, जानुकाले निरजको कुरामा प्रतिक्रिया जनाइन्, ‘झोलको रेसिपी त म तपाईलाई भन्दिन नि’ जानुकाले हाँस्दै भनिन् ।

उनीहरुको आइडिया पछ्याए अरुले पनि

उक्त रेस्टुरेन्टको सफलता देखेर न्युयोर्कका अरु रेस्टुरेन्टले पनि झोल मम राख्न सुरु गरे । न्युयोर्कको लगभग सबै नेपाली रेस्टुरेन्टमा झोल मम अहिले राखिएको छ ।

झोल ममको माहौल

ज्याक्सन हाइट्समा रहेको ‘नमस्ते तासि डेले’ रेस्टुरेन्टका सञ्चालक मोहन बरुवालले पनि झोल मम राखेका छन् । ममचायको सफलता देखेरै उनले पनि आफ्नो रेस्टुरेन्टमा झोल माम राख्न थालेको स्वीकारे ।

सन् २००७ देखि उनले रेस्टुरेन्ट त्यहाँ चलाउन थालेका हुन् । ‘मैले झोल ममका बारेमा पहिला त्यति चासो नदिएकै हो किनभने हामी चारथरिका मम त सधैं दिइ नै रहेका थियौं’ मोहनले भने ।

‘एकदिन मेरो एक ग्राहकले ‘झोल मम यहाँ पाइन्छ? ‘ भनेर सोधे, मोहनले भने, ‘उनलाई मैले ‘कहाँ पाइन्छ र झोल मम ?’ भन्दा उनले ममचायका बारेमा मलाई जानकारी दिए । यसरी ग्राहक आफैं सोध्न आएपछि मैले सोचें अब यहाँ पनि झोल मम सुरु गर्नुपर्छ ।’

अरु आइटम पनि पाइने उनको रेस्टुरेन्टमा झोल मम राखेपछि ममको बिक्री ५० प्रतिशतले बढेको छ ।

मोहनले जस्तै, ‘हाम्रो भिम्स क्याफे’ की सञ्चालिका ज्ञानु थापाले पनि साथी जानुकाको सफलता दखेर आफुले पनि झोल मम राखेको स्वीकारिन् ।

 

‘नढाँटी भन्दा मलाई शुरुमा झोल मम राखुँ कि नराखुँ भएको थियो’ उनले भनिन् । ‘तर मेरो साथीको सफलता देखेर मैले पनि राखें ।’

उनी दिनमा २०० प्लेट मम बेच्छिन् जसमा ७५ प्रतिशत झोल मम नै हुन्छ ।

उनको रेस्टुरेन्टमा झोल मम बाहेक चाउमिन, फ्राइड आलु, फ्राइड राइस पनि पाइन्छ । तर, प्रायः सबैले झोल मम नै माग्छन् ।

ज्याक्सन हाइट्समा रहेका अरु रेस्टुरेन्टहरु, कञ्चनजंघा रेस्टुरेन्ट र मम ब्रोजले पनि आफ्नो मेनुमा झोल मम राखिसकेका छन् ।

अन्य नेपाली रेस्टुरेन्टहरुले झोल मम आफ्नो मेनुमा राख्न नभ्याए पनि बेच्न भने शुरु गरिसकेका छन् ।

ज्याक्सन हाइट्स नजिकैको उडसाइड क्याफे त्यो मध्ये एक हो ।

७ वर्षअघि खोलिएको रेस्टुरेन्टका ५३ वर्षे सञ्चालक पुरुषोत्तम खड्गीले भने , ‘ग्राहकहरुले झोल मम डिमान्ड गर्न थालेपछि हामीले पनि यो बेच्न शुरु गर्‍याैं ।’

अगाडिको बाटो

जानुका अरु रेस्टुरेन्टले पनि झोल मम शुरु गरेकोमा खुसी त छिन् तर यसले उनको व्यवसायलाई असर भने गरिरहेको छ ।

‘सबैले झोल मम राखेका कारण ग्राहकहरु बाँडिएका छन्,’ उनले भनिन् ‘तर यसमा कसैको केही लाग्दैन, ठीकै छ ।’
यद्यपि उनीहरु सबैको व्यवसाय राम्रै चलिरहेको छ । जानुका भन्छिन्- अहिले हामी दैनिक २०० प्लेट झोल मम बेचिरहेका छौं ।’

उनको रेस्टुरेन्टमा चाउमिन, छोयला, सम्यबजी पनि पाइन्छ । तर, उनीहरुको मुख्य ध्यान भनेको झोल मम नै हो ।

रेस्टुरेन्टमा चिकेन, बिफ र भेज मम पाइन्छ र प्लेटको ६ डलर पर्छ ।

दैनिक कम्तिमा १५०० डलर जतिको व्यापार हुने उनको रेस्टुरेन्ट निकै सानो छ, जहाँ एक पटकमा मुस्किलले १२ जना गाहक अटाउँछन् ।

‘हाम्रो बिजनेश एकदम राम्रो छ’ निकै नै आत्मविश्वासका साथ उनले भनिन्, ‘हामी छिट्टै अर्काे शाखा खोल्ने तरखरमा छौं ।’

झोल ममको भिडियो कसरी बन्यो यहाँ हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?