८ साउन, काठमाडौं । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार सरकार बिस्तार हुने बताएका छन् । सरकार बिस्तारबारे आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले छलफल पनि गरेको प्रचण्डले जानकारी दिए ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘आज बिहान पनि उहाँलाई (प्रधानमन्त्री शेरबहादुर देउवालाई) भेटेर अब त गरिहाल्नुपर्यो भनेपछि भोलि गर्ने भन्नुभाछ । उहाँको बैठक आज सकिन्छ रे । भोलि मन्त्रिमण्डल बिस्तार गर्ने कुरा छ ।’
यसअघि कांग्रेस र माओवादीबीच असार ४ गते मन्त्रिपरिषद बिस्तार गर्ने समझदारी भएको तर चुनाव नजिकिएपछि र कांग्रेसमा छलफल गर्न बाँकी छ भनेपछि पछि धकेलिएको उनले बताए ।
‘निर्वाचन भएको पनि अब एक महिना हुन लागिसक्यो । आज बिहानमात्रै प्रधानमन्त्री जीसँग अब त हद भयो लाजै भयो जनताको अगाडि भनें,’ प्रचण्डले पत्रकारहरुसँग भने, ‘ माओवादीले मन्त्रीहरु टुंगो लगाइसक्या छ ।’
उनले सरकार बिस्तारको विषयलाई लिएर कांग्रेस-माओवादीबीच कुनै तिक्तता नआएको स्पष्ट पारे ।
प्रतिक्रिया 4