Comments Add Comment

काबेली र हेवा अघि बढाए २५ सय मेगावाटको तमोर गुम्ने खतरा


२० साउन, काठमाडौं । पाँचथर र तेह्रथुमको सीमा क्षेत्रमा २१ मेगावाटको जलविद्युत आयोजना बन्दै लागिसक्यो । ३७ मेगावाटको काबेली ‘ए’ को निर्माण पनि सुरु भएको छ ।

तर, यो दुबै आयोजना अघि बढाउने हो भने २५ सय मेगावाटको जलाशययुक्त तमोर आयोजना नै गुम्ने खतरा बढेको छ ।

विद्युत प्राधिकरणले प्रस्ताव गरेको तमोर देशकै लागि रणनीतिक महत्वको आयोजना पनि हो । तर, तमोर आयोजनाको प्रस्तावित क्षेत्रमा नै तल्लो हेवा र काबेलीको काम भइरहेको छ ।

यदि प्राधिकरणको प्रस्ताव अघि बढाउने हो भने काबेली र हेवा गुमाउनु पर्ने हुन्छ । किनकी तमोर जलासययुक्त आयोजना हो र २५ सय मेगावाट विद्युत उत्पादनका लागि आवश्यक जलासय बनाउँदा काबेली र हेवाको विद्युत गृह नै डुवानमा पर्छ ।

दुबै आयोजना सरकारले नै उत्पादन अनुपति दिएर निजी क्षेत्रले बनाइरहेका छन् । तमोर बनाउने हो भने सरकारले दुबै आयोजना निर्माणकर्तालाई क्षतिपूर्ति दिएर काम रोक्नुपर्छ । होइन भने ५३ मेगावाटका लागि २५ सय मेगावाटको तमोर बनाउन सकिँदैन ।

शुक्रबार राजधानीमा भएको एक छलफलमा सहभागीहरुलले ५३ मेगावाटका लागि २५ सय मेगावाट बनाउने नाममा तमोर आयोजना नै नबन्ने अवस्था ल्याउन नहुनेमा जोड दिएका छन् ।


‘तल्लो हेवा त बन्नै लागिसक्यो । काबेली भर्खरै सुरु भएको छ’ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘अब ५३ मेगावाटले २५ सय मेगावटको आयोजना डुबाउने अवस्था आयो, यो हुनु हुँदैन । २५ सय मेगावाटले नै ५३ मेगावाट डुबाऔं, यो राष्ट्रको हितमा हुन्छ ।’

विद्युत प्राधिकरणले सरकारसँग ७ सय ६२ मेगावाट क्षमतामा तमोरको सर्वेक्षण लाइसेन्स मागेको झण्डै ६ महिना बित्न लागेको छ ।

तर, सरकारले यसअघि लाइसेन्स जारी भएर बनिरहेका आयोजना डुब्ने गरी लाइसेन्स जारी गर्न सक्ने अवस्था अहिले छैन । जापानी सहयोग नियोग जाइकाले गरेको प्रारम्भिक अध्ययनलाई बेवास्ता गर्दै सरकारले प्रस्तावित तमोर जलाशयभित्र पर्ने गरी दुईवटा आयोजनालाई उत्पादन अनुमतिपत्र दिँदा यो समस्या आएको हो ।

कसरी बन्छ तमोर ?

तमोर आयोजनाको बाँध तेह्रथुमको ओख्रे र पाँचथरको स्याबरुम्बाको सीमा भएर बग्ने लम्बुदोभानबाट डेढ किलोमिटर तल बन्नेछ । यो आयोजना पूर्वपश्चिम ४ सय केभीको प्रशरणलाइनबाट ७५ किलोमिटरको दूरीमा छ ।


आयोजना मोरङ, सुनसरी औद्योगिक क्षेत्र र प्रस्तावित दमक औद्यदोगिक करिडोरसँग नजिक छ । जलाशययुक्त आयोजना भएकाले यो आयोजना बने सुख्खायाममा यसले अधिक उत्पादन दिन सक्नेछ ।

आयोजनामा २०५ मिटरको ड्याम बनाए ७६२ मेगावाट बिजुली उत्पादन हुने प्राधिकरणको अध्ययनले देखाएको छ । त्यसलाई बढाएर ३ सय मिटर पुर्‍याए तमोरबाट २५ सय ६५ मेगावाट बिजुली उत्पादन हुनेछ ।

तमोरमा २०५ मटिर बाँध लगाउँदा जम्मा १२६ घरपरिवारमात्रै विस्थापित हुनेछन् । यो जलाशयमा जम्मा डुबानमा पर्ने जग्गामध्ये ५ प्रतिशत मात्रै खेती योग्य हुनेछ । यो आयोजना बुढीगण्डकी भन्दा आधा लगानीमै बन्ने अनुमान छ ।

बुढीगण्डकीमा २५ सय ४९ मिलियमन अमेरिकी डलर लगानी गर्दा ३३ सय ८३ गिगावाट आवर बिजुली प्राप्त हुन्छ । तर, तमोरमा १२ सय १७ मिलियन अमेरिकी डलर लगानी गर्दा ३३ सय ५५ गिगावाट आवर विजुली उत्पादन हुन्छ । त्यसैले यो आनयोजना अघि बढाउन ढिलाई गर्न नहुनेमा स्थानीयले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment