Comments Add Comment

फोक्सुन्डो तालको सुन्दरता क्यामरामा कैद गर्दा

एक छिनमा गाढा निलो, एक छिनमा फिक्का निलो । पानीको रंग यसरी परिवर्तन भइरहने यो हो, डोल्पाको फोक्सुण्डो ताल ।

डोल्पामा रहेको यो नेपालकै सबैभन्दा गहिरोे ताल हो, जसको गहिराई ६५० मिटर छ । समुन्द्री सतहबाट ३ हजार ६ सय ६० मिटर उचाईमा अवस्थित फोक्सुण्डो तालको सुन्दरतालाई एरिक भ्यालीले क्याराभान फिल्ममार्फत विश्वभर पस्किदिए । यही भएर होला, डोल्पामा पुग्ने पर्यटकमध्ये आधाभन्दा बढी फ्रेन्च हुने गरेका छन् । अमृत गुरुङको ‘सा कर्णाली’ले पनि डोल्पाको सुन्दरतालाई व्याख्या गरेको छ ।

कसरी पुग्ने ?

मोटरबाटो नपुगेको डोल्पा जाने एक मात्र विकल्प हवाई सेवा हो । नेपालगञ्जदेखि जुफालसम्मको हवाईजहाजको यात्रापश्चात सुरु हुन्छ फोक्सुण्डो यात्रा । जुफाल एयरपोर्टबाट डोल्पाको सदरमुकाम दुनै जान चार घण्टाको दूरी तय गर्नुपर्छ । एयरपोर्टबाट दुनै जाने र फोक्सुण्डो जाने बाटो फरक छ । फोक्सुण्डो ताल पुग्नका लागि तीन दिनको पैदल यात्रा गर्नुपर्छ । पर्यटकका लागि ताल नजिकै बास बस्ने होटलहरु रहेका छन्, जसलाई रिग्मो गाउँ भनिन्छ ।

फोक्सुण्डो तालबाट निस्केको पानीले बनेको झरना नै नेपालको सबैभन्दा ठूलो झरनासमेत हो । फोकसुण्डो तालको अर्को विशेषता भनेको यसमा कुनै पनि जीव नहुनु हो ।

प्राकृतिक सुन्दरतामा मात्र नभएर सांस्कृतिक हिसाबले पनि निकै धनी छ, डोल्पा । एक्सप्लोरल डोल्पाका प्रबन्ध निर्देशक जितेन्द्र झाँक्री भन्छन्, ‘डोल्पाको सुन्दरताले जति ख्याती पाउनुपर्ने हो त्यति पाउन सकेको छैन । यसले पर्यटकसमेत पर्याप्त पाउन सकेको छैन ।’

पर्यटक पर्याप्त नआउनुमा डोल्पामा नियमित हवाई उडान नहुनु प्रमुख कारण रहेको झाँक्रीको भनाइ छ । यसका लागि राज्यले उचित नीति ल्याई स्वदेश तथा विदेशमा डोल्पाको प्रचारप्रसार गर्नुपर्ने उनले बताए ।

डोल्पा विकासको गुरुयोजना चाहियो
धन बहादुर बुढा, सभासद

फोक्सुण्डो ताल डोल्पाको मात्र नभएर देशकै गौरव हो । तर, यसले पर्याप्त मात्रामा पर्यटक तान्न सकेको छैन । यसको प्रमुख कारण हो पूवार्धारको अभाव । तालसम्म पुग्नलाई सहज बाटो छैन । सडक सञ्जालले जिल्लालाई नै छुन नसकेको अवस्था छ । राज्यले प्रत्येक बर्ष डोल्पाको पुर्वाधार विकासको लागि बजेट छुट्याउँछ । तर, त्यो कनिका छरे जस्तो मात्र भयो । सरकारले समग्र गुरुयोजना बनाएर बजेट छुट्याएमा फोक्सुण्डो तालको मात्र नभएर समग्र डोल्पाको वकास हुुने थियो ।

संसारभर डोल्पाको नाम जति प्रख्यात रहेको छ सो अनुसार पर्यटकलाई चाहिने सामान्य पूर्वाधारको विकास हुन सकेको छैन । यसका लागि मैले निकै प्रयास गरे पनि राज्यले सुनवाई गरेको छैन । फोक्सुण्डो तालसम्म जान गुरुयोजना बनाएर केही गर्‍यो भने डोल्पाको मात्र नभएर राज्यलाई नै आर्थिक टेवा मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment