२२ साउन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रदेश २ को आसन्न चुनावको रणनीति बनाउन स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपरान्ह ४ बजे बैठक बोलाएका हुन् ।
प्रदेश २ को चुनावी तयारी गर्न एमाले महासचिव ईश्वर पोखरेल सहितका पदाधिकारीहरु बिगत एक सातादेखि सप्तरीदेखि पर्सासम्मका सबै जिल्लामा परिचालित भएका छन् । यसबीचमा कार्यकर्ता भेला, बैठक र सम्भावित चुनावी परिणामको तल्लो तहसम्म पुगेर आँकलन गरिएको सचिव योगेश भट्टराईले बताए । भट्टराई एक सातादेखि धनुषामा छन् ।
स्थ्ाायी कमिटीले प्रारम्भिक समिक्षासहित नयाँ रणनीति बनाउने एमाले नेताहरुले बताएका छन् ।
प्रदेश २ का १२७ स्थायी तहमध्ये कम्तिमा ४५ प्रतिशत स्थान जित्ने आँकलन गरिएका एमालेका प्रदेश सहसंयोजक नागेन्द्र चौधरीले बताए । यसबीचमा केही ठाउँमा कांग्रेस र मधेशवादी दलका प्रभावशाली नेताहरुलाई प्रवेश गराएर उम्मेदवार बनाउने तयारी समेत भइरहेको एमाले स्रोतले जनाएको छ ।
पछिल्लो राजनीतिक परिस्थिति र २ नम्बर प्रदेशको चुनावका सन्दर्भमा रणनीति तय गर्न स्थायी कमिटी बैठक डाकिएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।
प्रतिक्रिया 4