Comments Add Comment

क्षतिपूर्ति नबढे पेट्रोल-डिजेलको वितरण रोक्ने व्यवसायीको चेतावनी


२४ साउन, काठमाडौं । पेट्रोलियम डिलर्स एशोसियसन आवद्ध व्यवसायीहरुले साउन २६ गतेबाट देशभर पेट्रोलको वितरण ठप्प पार्ने भएका छन् । आफ्ना माग पुरा नभए साउन २९ देखि डिजेल पनि बेच्न छोड्ने घोषणा ब्यवसायीले गरेका छन् ।
यो आन्दोलनको घोषणा गराउन ब्यवसायीलाई निगमकै अधिकारीले उक्साएको ब्यवसायी नै बताउँछन् ।

सोमबार बुटवल र पोखरामा पत्रकार सम्मेलन गर्दै ब्यवसायीले सिंकेज वर्किङ लसबापतको तेलको भुक्तानी नयाँ प्रतिवेदनअनुरुप गर्नुपर्ने भन्दै आन्दोलन घोषणा गरेका हुन् ।

ब्यवसायीले डिपोबाट तेल ल्याएर बिक्री गर्दासम्म प्राविधिक कारण गुम्ने (लस हुने) तेलबापत पेट्रोलमा प्रति ४ हजार लिटरमा ३५ र डिजेलमा ३६ लिटर क्षतिपूर्ति पाउँदै आएका छन् ।

ब्यवसायीले पटक-पटक यसलार्इ बढाउन माग गर्दै काठमाडौंमा तेलको वितरण रोकेपछि दुई साताअघि आयल निगम, गुणस्तर तथा नापतौल विभाग, उपभोक्तावादी र पेट्रोलियम ब्यवसायी सम्मिलित एउटा समिति बनाएको थियो ।

यो समितिले सोमबार मात्रै तयार गरेको प्रतिवेदनमा पेट्रोलको लस ३५ बाट ७२ लिटर र डिजेलको ३६ बाट ४४ लिटर पुर्‍याउनुपर्ने उल्लेख रहेकाे स्रोतले बतायो । देशका विभिन्न भागमा गएर गरिएको अध्ययनका आधारमा तेलमा प्राविधिक कारण हुने लसको मात्रालाई बढाउने गरी प्रतिवेदन तयार भएको हो ।

निगमकै उक्साहट !

प्रतिवेदन निगमको सञ्चालक समितिमा पेश नहुँदै ब्यवसायीले निगमलाई दबाव दिन आन्दोलन घोषणा गरेका हुन् ।
निगममा जग्गा खरिदको लफडाका कारण तत्काल सञ्चालक समिति नबस्ने अवस्था रहेकाले निगमकै केही अधिकारीको उक्साहटमा देशब्यापी आन्दोलन घोषणा गरिएको स्रोतले बतायो ।

‘निगमकै केही अधिकारीले जग्गा खरिदको लफडाले यो प्रतिवेदन तत्काल  कार्यान्वयन नसकिने भन्नुभयो। दबावका लागि आन्दोलनमा जानुस् भन्ने उहाँहरूकै सझाव हो ‘ एक पेट्रोलियम ब्यवसायीले  भने ,’हामी ४ हजार लिटरमा ३५ लिटर मात्रै लसबापत क्षतिपूर्ति पाइरहेका छौं । अहिले वैज्ञानिक अध्ययनले त्यस्तो लस ७२ लिटर हुने देखाएको छ । त्यसैले लसको परिमाण बढाएर छिटो निर्णय होस् भनेर आन्दोलन घोषणा गरेका हौं ।’

पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियसनले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनको आन्दोलनलाई ऐक्यवद्धता जनाउदै पेट्रोल खरिद नगर्ने जनाएको छ ।

एशोसियसनले साउन २६ देखि पेट्रोल खरिद नगर्ने तथा २९ गतेभित्रमा पनि माग पुरा नभए साउन २९ गतेदेखि पूर्ण रुपमा डिजेल पेट्रोल खरिद नगर्ने पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियनका जिल्ला अध्यक्ष तथा आन्दोलन समितिका संयोजक प्रेम न्यौपानेले बताए ।

आफ्ना माग सम्बोधन गर्न दिएको १५ दिनको म्याद सकिएपछि एसोशिएसनले केन्दि्रीय समितिको आन्दोलनलाई साथ दिन लागेको हो ।

‘विक्रेताको विक्री स्थलमा डिस्पेन्सिङ पम्पबाट पेट्रोलियम पदार्थ विक्री गर्दा नेपाल आयल निगमले जारी गरेको बिजकमा उल्लेख गरिएको परिमाण अनुसारकै परिमाण प्राप्त हुनुपर्ने हामीहरुको मुख्य माग हो’ न्यौपानेले भने ।

पेट्रोलियम व्यवसायीहरुले सरकार समक्ष १२ बुँदे माग पेश गरेको छ । विगत एक वर्षदेखि माग राखेपनि सरकारले चासो नदेखाउँदा बाध्य भएर पेट्रोल पम्प बन्द गर्ने सम्मका कार्यक्रम गर्नु परेको उनले बताए ।

पोखराबाट पनि घोषणा

उता  गण्डकी धौलगिरी पेट्रोलियम डिलर्स एशोसियशनले पनि आफ्ना माग पूरा नभए पेट्रोल पम्प बन्द गर्ने चेतावनी दिएका छ । पोखराबाट आन्दोलन घोषणा गर्दै एशोसियशन साउन ३१ गतेदेखि पेट्रोल पम्पसमेत बन्द गर्ने चेतावनी दिएको छ ।

एशोसियसनले घोषणा गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत श्रावण २५ गतेसम्म केन्द्रदेखि स्थानिय स्तरका सञ्चार माध्यामहरुबाट आफुहरुको माग प्रशारण गर्ने, साउन २६ गतेदेखि नेपाल भरका नेपाल आयल निगमका इन्धन डिपो तथा बिक्री केन्द्रहरुबाट पेट्रोल बिलिङ खरीद नगर्ने नगराउने तथा २९ गतेबाट पेट्रोल र डिजेलको बिलिङ खरिद नगर्नुका साथै ३० गते सम्पूर्ण मौज्दात बिक्री गरी ३१ गतेबाट पेट्रोल पम्प पूर्ण रुपमा बन्द गर्ने गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशन आन्दोलन समितीका संयोजक जगत बरालले जानकारी दिए ।

एशोसियसनले आन्दोलन आफुहरुको रहर नभइ बाध्यता भएको बताउँदै सम्पूर्ण ग्राहकहरुलाई साउन ३० गते अगाडि नै आवश्यक पर्ने पेट्रोल तथा डिजेल सञ्चित गरेर राख्नसमेत आग्रह गरेको छ ।

गण्डकी र धौलागिरीमा रहेका पेट्रोलियम ब्यवशायीहरुले डिपोबाट पम्पसम्म आइपुग्दा प्रति चार हजार लिटर पेट्रोलमा झण्डै ८० देखि ९० लिटर र डिजेलमा प्रति चार हजार लिटरमा ६५ लिटर कमी हुनेगरेको उनीहरुको दावी छ ।

भारतीय कर्पोरेशनले नेपाल आयल निगमलाई उपलब्ध गराउने पेट्रोलियम पदार्थको परिमाण निगमको डिपो हुदै पेट्रोल पम्पसम्म आइपुग्दा परिमाण फरक भएको र त्यसको क्षेतिपूर्तिका लागी नेपाल आयल निगम र नेपाल सरकारलाई बारम्बार आग्रह गर्दापनि सुनुवाइ नभएकाले आफूहरु आन्दोलित भएको गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष सुशील गौचनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment