Comments Add Comment

गुल्मीको मुसीकोट नगरपालिकाको बजेट ४१ करोड

२७ साउन, गुल्मी । मुसीकोट नगरपालिकामा आर्थिक वर्ष २०७४/७५ को लागि ४१ करोड ४३ लाख ७४ हजार ८ सय ४७ रुपैयाँको वजेट विनियोजन गरेकोे छ ।

कृषि, पर्यटन, उद्योग र पूर्वाधार, मुसिकोट नगरपालिकाको सम्वृद्धि र विकासको आधार भन्ने नारासहित नगरसभा सम्पन्न भएको छ ।

नगर सभामा मेयर सोमनाथ सापकोटाले पेश गरेको वजेटमा पुँजीगत एवं विकास तर्फ १६ करोड ९० लाख २० हजार र चालू तथा साधारण खर्चतर्फ २४ करोड ५३ लाख ५४ हजार बजेट विनियोजन गरिएको हो ।

संघीय सरकारवाट समानीकरण अनुदानमा १९ करोड ४७ लाख, ससर्त अनुदानमा १५ करोड ५२ लाख, पशु तथा कृषि विकास तर्फ ५८ लाख ३६ हजार, शान्ति मन्त्रालय मार्फत १ करोड ८० लाख, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना बाट २ करोड ६ लाख, राजश्व वाँडफाडवाट ३८ लाख, जिल्ला समन्वय समितिवाट ७ लाख २६ हजार तथा आन्तरिक वजेट ९२ लाख ८५ हजार गरी हुने रकमवाट सो विनियोजन गरिएको छ ।

जस अन्तर्गत प्रत्येक वडामा कम्तिमा १ करोड नघट्ने गरी विकास पूर्वाधार तथा सामाजिक विकासको लागि वजेट विनियोजन गरिएको छ । सामाजिक विकासमा २१ करोड ७ लाख ७७ हजार वजेट विनियोजन भएको छ । स्वास्थ्य तथा जनसंख्या झण्डै २ करोड विनियोजन भएको छ ।

खेलकुद, मनोरञ्जन तथा सामाजिक सुरक्षाको लागि ५० लाख ७० हजार विनियोजन गरिएको छ । अति विपन्न परिवारको स्वास्थ्य उपचारको लागि ५ लाख विनियोजन गरिएको छ । आर्थिक विकास तर्फ २ करोड २७ लाख ५३ हजार विनियोजन गरिएको छ । संस्थागत विकासको लागि ५ करोड ६२ लाख २१ हजार विनियोजन भएको छ ।

पूर्वाधार तर्फ ९ वटै वडा जोड्ने २ वटा रिङरोड वनाइने भएको छ । जसका लागि ६० लाख वजेट विनियोजन गरिएको छ । आपचौर खर्वाङ, मौरिभिर ददल्का, पौदीअमराई निस्ति भञ्ज्याङ सडकलाई स्तरवृद्धि गरिने भएको छ ।

नगरपालिका भित्रका सडकको स्तरवृद्धिको लागि ३ करोड ५१ लाख वजेट विनियोजन गरिएको छ भने नगरपालिका भित्र लेन्थवर्करको लागी ६० लाख छुट्याइएको छ । यस वर्ष ५ सय घर धुरीमा एक घर एक धारा कार्यक्रम लागु गर्न १ करोड ४६ लाख वजेट विनियोजन गरिएको छ । साना खानेपानी व्यावस्थापनमा उपभोक्ता साझेदारीमा काम गर्न ९० लाख वजेट विनियोजन गरिएको छ ।

होम स्टे संचालन तथा आवास व्यावस्थापनको लागी ३५ लाख, नगरपालिका भित्रका खरका छाना हटाउन ३० लाख, नगरपालिकाको केन्द्रमा नगरसभाहल निर्माण गर्न २० लाख, ग्वादीकाचौर रंगशाला निर्माणको लागि ४५ लाख, नगरपालिका भित्रका सिंचाई आयोजनाको लागि ४९ लाख, कफि उद्यमको लागि आँपचौरमा १० लाख वजेट विनियोजन गरिएको छ ।

सामाजिक अनुदानका कार्यक्रम चालु वजेटमा समावेश भएकोले पुँजीगत वजेटको तुलनामा चालु वजेट वढी भएको नगरपालिकाका कार्यकारी अधिकृत घनश्याम न्यौपानेले बताए । बजेटको समुचित प्रयोगका लागि आवश्यक सवै कदम चालिने नगरप्रमुख सोमनाथ सापकोटाले जनाए । वजेटको प्रमाणीकरण पछि पूर्ण विवरण सार्वजनिक गरिने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment