Comments Add Comment

बाढी प्रभावित क्षेत्रमा खटिन सुरक्षा प्रमुखहरुलाई प्रधानमन्त्रीको निर्देशन

२८ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण ढुवानमा परेकाहरुको तत्काल उद्दार गर्न निर्देशन दिएका छन् ।

शनिबारसाँझ गृहमन्त्री, रक्षामन्त्रीका साथै प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका अधिकारीहरुलाई बालुवाटारमा बोलाएर देउवाले ढुवानमा परेका क्षेत्रमा तदारुकताका साथ उद्दार कार्य अघि बढाउने काममा आफैँ उपस्थित हुन निर्देशन दिएका हुन् ।

‘बाढीले तराईमा ठूलो धनजनको क्षतिपुगेको छ’ उनले भने ‘तपाईंहरु अब काठमाडौं बस्ने होइन, प्रभावित क्षेत्र पुग्नुहोस् । उद्धारमा एकीकृत भएर काम गर्नुहोस् ।’

उनले बाढीका कारण थप ढुवानमा पर्नसक्ने क्षेत्रको पनि पहिचान गरेर उच्च सतर्कता उपनाउन पनि निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बाढी पीडितहरुको उद्दार, राहत र स्थानान्तरणमा जुनसुकै सहयोग गर्न सरकार तयार रहेको भन्दै उनले उद्दारमा नागरिक समाजको पनि सहयोग लिन आग्रह गरे ।

बैठकमा गृहमन्त्री जनार्दन शर्माले बाढि प्रभावित क्षेत्र ८० प्रतिशत ढुवानमा परेको तथ्यांक पेश गरेका थिए । मौसमका कारण हेलिकप्टरबाट उद्दार गर्ने कार्य अघि बढाउन नसकिएको उनले बताए ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना फिल्डमा खटिइसकेको तर, उद्दार टोली तयारी अवस्थामा रहेपनि मौसमका कारण हेलिकप्टरबाट उद्दार गर्न नसकिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment