+
+
Shares

प्रचण्डको टिप्पणीः बाबुराममा ज्ञान छ, बुद्धि छैन

'रामचन्द्र झा टेष्ट पास हुनुभयो'

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ४ गते १६:५१


४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईलाई पनि माओवादीमा फर्किन आग्रह गरेका छन् ।

रामचन्द्र झा, रामकुमार शर्मासहितका नेताहरुलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले बाबुरामसँगै बैद्य र विप्लव पनि माओवादी केन्द्रमा फर्किने विश्वास व्यक्त गरे । उनले भने, ‘ढिलो चाँडो बाबुरामजी पनि फर्किनुहुन्छ । नआए केही बाँकी रहने छैन ।’

बाबुराममा सही समयमा सही निर्णय लिने क्षमता नभएको झा र शर्माको होमा हो मिलाउँदै प्रचण्डले भने, ‘हामी कहाँ धेरै विद्वानहरु छन् । तिनीहरुलाई ज्ञान चाहिँ छ तर कहाँ हान्ने भन्ने थाहा छैन । हाम्रो बाबुराम पनि त्यस्तै कोटीमा पर्नुहुन्छ । ज्ञान छ बुद्धि छैनमा पर्नुभाछ उहाँ । रामचन्द्र जी पनि त्यस्तै हुने होकि क्याहो भनेको होइन रहेछ ।’

रामचन्द्र झामा ज्ञान पनि, बुद्धि पनि भएकाले माओवादी केन्द्रमा फर्किएको भन्दै उनले विद्वताको सम्मान गरिने बताए ।

रामचन्द्र झा माओवादी आउँदा एमालेका एक नेताले आफूसँग ‘हाम्रो पार्टीको ठूलो विद्धानलाई लैजानुभयो’ भनेको सुनाउँदै प्रचण्डले भने,  ‘उहाँ एउटा वौद्धिक व्यक्तित्व पनि हो । उहाँले बिभिन्न कोणबाट तर्क गर्न सक्नुहुन्छ । इतिहासको पनि उहाँलाई राम्रो ज्ञान छ । एमाले छाडेर पहिलोचोटि उहाँ माओवादीमा आउँदै गर्दा एमालेका वरिष्ठ नेताले मलाई भनेका थिए- तपाईंले मधेसको ठूलो विद्वान लैजानुभयो । तर, त्यो विद्वान अर्को विद्वानको पछि लागेर हैरान । आज फेरि उहाँ सही ठाउँमा नै सही निर्णय गरेर आउनुभयो ।’

‘रामचन्द्र झा टेष्ट पास हुनुभयो’

रामचन्द्र झा ऐतिहासिक व्यक्तित्व र कम्युनिष्ट आन्दोलनमा लामो समय बिताएको व्यक्तित्व भन्दै प्रचण्डले प्रशंसा गरे । एमालेले लैजाने प्रयास गरे पनि उनी माअोवादी बिचार हेरेर यता अाएको भन्दै प्रचण्डले खुसी व्यक्त गरे ।

‘उहाँलाई एमालेले ल्याउनका लागि निकै ठूलो कसरत भइराखेको मैले हेरिराखेको थिएँ । मैले उहाँलाई दबाव दिएर हुनेवाला पनि थिएन । अब राजनीतिक बिचार र मुद्दालाई प्राथमिकता दिनुहुन्छ कि पद र ठूलो पार्टीलाई प्राथमिकता दिनुहुन्छ त्यो तपाईंले फैसला गर्ने कुरा हो, मेरो यही भनाइ थियो,’ प्रचण्डले भने, ‘उहाँलाई टेष्ट पनि गर्नुथियो, उहाँ साच्चै के चाहिँ हेर्नुहोला त, लास्टमा राजनीतिक मुद्दा र बिचारलाई हेर्नुहुन्छ कि पार्टी र आफ्नो पदलाई हेर्नुहुन्छ । आज उहाँ टेष्ट पास हुनुभयो । उहाँले मुद्दा हेर्नुभयो । उहाँले जनता हेर्नुभयो । ठूलो पार्टी र सानो पार्टी भनेर पछि लाग्नु भएन । ‘

‘माओवादी २ नम्बर प्रदेशमा एक नम्बर बन्छ’

माओवादी अध्यक्ष प्रचण्डले दुई नम्बर प्रदेशमा एक नम्बर पार्टी बन्ने दाबीसमेत गरे । रामचन्द्र झा, रामकुमार शर्मा लगायतका नेताहरु माओवादीमा फर्किएपछि एक नम्बर पार्टी बन्ने आधार तयार भएको प्रचण्डको दाबी छ । साथै उनले सर्लाही, रौतहट, बारा लगायतका जिल्लाबाट पनि राप्रपा लगायत दलबाट धेरै नेता कार्यकर्ताहरु माओवादी प्रवेश गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिए ।

प्रचण्डले भने, ‘२ नम्बर प्रदेशमा एक नम्बर पार्टी बन्ने आधार तयार भयो अब माओवादीलाई एक नम्बर बन्नबाट कसैले रोक्न सक्दैन ।’

माओवादी नै मधेसी जनताको साचो साथी हो भन्दै प्रचण्डले माओवादी बलियो भएमात्रै मधेसी, आदिवासी जनजाती, दलित, महिला, मुस्लिम, उत्पीडित सबै समुदाय बलियो हुने धारणा राखे ।

सशस्त्र विद्रोहको बेलामा पनि मधेसी जनताको पहिचान र अधिकारको निम्ति माओवादीले नयाँ ऐतिहासिक जागरण ल्याएको भन्दै प्रचण्डले भने, ‘अहिले संविधान कार्यान्वयनको सन्दर्भमा पनि मधेसी जनताको भावनालाई सम्बोधन गर्ने कुरामा माओवादी पार्टी नै अग्रणी छ भन्ने कुराको प्रमाण आज तपाईहरुले प्रस्तुत गर्नुभएको छ । तपाईंहरु मार्फत् मधेसका जनतालाई के आह्वान गर्न चाहान्छु भने माओवादी पार्टीलाई बलियो बनाउँदा मात्रै यो देशका मधेसी, आदिवासी जनजाती, दलित, महिला, मुस्लिम, उत्पीडित सबै समुदायको हक अधिकार सुरक्षित हुनेवाला छ । अरु कुनै पार्टीबाट हुनेवाला छैन ।’

उनले माओवादी पार्टी प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी दिने र भेदभाव नगर्ने प्रतिवद्धता जनाए । ‘मधेसी जनताको भावनालाई, आवश्यकतालाई जसले ठीक ढंगले सम्बोधन गर्न सक्दछ नेपाललाई राष्ट्रलाई एकताबद्ध गर्ने काम पनि त्यहीँबाट अघि बढ्छ,’ प्रचण्डले भने, ‘मेरो क्षमता र मेरो नेतृत्वको क्षमताले भ्याएसम्म तपाईंहरुलाई पूरै न्याय गरिनेछ । कुनै किसिमको विभेद गरिने छैन ।’

आफूले मधेसी जनताको भावनालाई र मधेसका आवश्यकतालाई सम्बोधन गर्दै राष्ट्रलाई एकताबद्ध गर्न मेहेनत गरेको भन्दै प्रचण्डले त्यसैको प्रतिफलस्वरुप संविधान संशोधनको प्रक्रिया अघि बढेको बताए । यसबाट आफूलाई सबैभन्दा खुसी र गौरव महसुस भइरहेको उनले बताए ।

‘संविधानको स्वीकार्यता बढाइएको छ । संविधान संशोधनको प्रक्रिया भोलि अगाडि बढ्दैछ । राजपा लगायत हिजो आन्दोलनमा भएका असन्तुष्ट पक्ष पनि यो संशोधनको प्रक्रियासँगै निर्वाचनमा सहभागी हुने र एकीकृत रुपमा नै आफ्ना कुराहरु राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसमा मैले १० महिना प्रधानमन्त्रीको रुपमा गरेको कामको सफलता, त्यसको सकारात्मक परिणामको रुपमा लिएको छु । म यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?