पश्चिम नेपाल पर्यटकीय सम्भावना प्रचुर भएर पनि विदेशी पर्यटकको चहलपहल न्यून भएको क्षेत्र हो । जैविक तथा ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सुन्दरताले यो क्षेत्र भरिपूर्ण छ ।
नेपालको सबैभन्दा ठूलो ताल रारा बाघ हेर्नका लागि प्रख्यात बर्दिया राष्ट्रिय निकुञ्ज र एसियामै सबैभन्दा बढी संख्यामा बाह्रसिंगा एकैसाथ हेर्न सकिने स्थल शुक्लाफाट राष्टिय निकुन्ज यहाँ छन् ।
यसैलाई मध्यनजर गर्दै रारा-बर्दिया र शुक्लाफाँटलाई जोडेर वरिष्ठ पर्यटन व्यवसायी अमर शाहीले ‘वाइल्ड वेष्ट ट्रेङ्गल’ परिकल्पना गरेका छन् ।
रारा ताल
रारा तालको सौन्दर्यबाट मोहित भएर राजा महेन्द्रले कविता लेखेका थिए, रारा कि अप्सरा Û हुन पनि रारा पुग्ने जो कोही यसको अनुपम सुन्दरताबाट लठ्ठिन्छन् ।
मुगु जिल्लामा पर्ने यो ताल समुद्री सतहदेखि दुई हजार ९९० मिटर उचाईमा रहेको छ । जंगलको बीचमा रहेको रारा हेर्न आउने आन्तरिक पर्यटकहरु पछिल्ला दिनमा बढिरहेका छन् ।
तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहदेखि करिब ४ हजार मिटर उचाईमा रहेको मुर्मा टप उपयुक्त स्थल मानिन्छ । यहाँबाट मौसम सफा भएको समयमा मध्य र सुदूर पश्चिमाञ्चलका ६ वटा जिल्लाका भूभागहरु देख्न सकिने स्थानीय व्यवसायी बताउँछन् ।
यो तालमा विश्वमै अन्यत्र नपाइने स्नो ट्राउट माछा पाइन्छ । तालको छेउमै रारा राष्ट्रिय निकुञ्जको कार्यालय छ भने सँगै सुरक्षा व्यवस्थाको लागि नेपाली सेनाको ब्यारेक पनि छ । ब्यारेक नजिकै रहेका दुई वटा होटलमा बास बस्ने सुविधा छ ।
मुगु जिल्लामा सडक सञ्जालले छोएपछि रारा आन्तरिक पर्यटकको विशेष रोजाइमा पर्न थालेको छ । रारा जानका लागि वर्षभरि नै उपयुक्त मानिन्छ । हिउँदमा यहाँ हिउँले ढाकिएको हुन्छ भने बैशाख-जेठमा फूलैफूलले सजाएको हुन्छ । साउन भाद्र महिनामा भने हरियालीका कारण निकै मनमोहन देखिएको हुन्छ रारा ।
मानसरोवर जाने पर्यटकहरुको समेत गन्तब्यस्थलमा रारालाई जोड्न सकियो भने पश्चिम नेपालकै पर्यटन क्षेत्रको कायापलट हुन सक्ने भिजिट कर्णालीका प्रबन्ध निर्देशक राजु कार्की बताउँछन् । उनी भन्छन्, ‘सिमीकोटमा नियमित हवाई उडान नहुँदा समस्या हुन्छ, यसलाई अलि सुधार गर्ने हो भने राराको मात्र नभएर समग्र पश्चिमकै पर्यटनमा क्षेत्रमा बहार आउनेछ ।’
बर्दिया राष्ट्रिय निकुञ्ज
तराईको सबैभन्दा ठुलो राष्ट्रिय निकुन्ज हो वर्दिया । ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुन्ज बाघ हेर्नका लागी सबैभन्दा उपयुक्त स्थान मानिन्छ । नेपालको सबैभन्दा लामो नदी कर्णाली र बबई नदीको वीचमा निकुञ्जका केही भागहरु पर्ने भएकाले पनि जनावरका लागि उपयुक्त बनेको हो ।
निकुन्जको ७० प्रतिशन क्षेत्र साल र यसको सहायक प्रजातिका वनले ढाकिएको छ भने बाँकी ३० प्रतिशत घाँसे मैदान रहेको छ । निकुन्जमा ५४ प्रजातिका स्तनधारी, ४०० प्रजातिका चरा चुरुंगी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछाहरु पाइने गर्दछ ।
वर्दिया राष्ट्रिय निकुन्जका लागि मात्र नभएर थारु संस्कृतिका लागि निकै प्रख्यात छ । बर्दियाको डल्लामा खोलिएको होमस्टे पनि आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आर्कषण हो । बर्दिया राष्ट्रिय निकुन्ज नजिकै रहेको ठाकुरद्वारा मन्दिर पनी धार्मिक हिसावले निकै प्रख्यात रहेको छ ।
मध्यपश्चिमकै धार्मिकस्थलमध्ये एक मानिने ठाकुरद्वारा मन्दिरमा लिच्छविकालिन मुर्तिहरु रहेका छन् । यहाँ माघे सक्रान्तिका बेला मेला लाग्ने गर्दछ ।
महेन्द्र राजमार्ग अम्बासादेखि बर्दिया राष्ट्रिय निकुन्जको गेटसम्म पुग्नका लागी १९ किलोमिटर सडक रहेको छ । यो सडक ५ किलोमिटर मात्र पिच छ । बर्षातको समयमा ओराई खोलामा बाढी आएर आवतजावत गर्न नसकिने हुन्छ । खोलामा पुल नभएर पर्यटकहरुलाई निकै सास्ती बेहोर्नु परेको परेको पर्यापर्यटन बिकास मन्चका अध्यक्ष मोहन थारु बताउँछन् ।
शुक्लाफाँट
दिनभर चरन चरेर लस्करै आफ्नो बासस्थानतर्फ जाँदै गरेका सयौं बाह्रसिंगेहरु नजिकैबाट देख्न पाइन्छ शुक्लाफाँट निकुन्जमा । शुक्लाफाँट बन्यजन्तु आरक्ष भन्नेवित्तिकै बाह्रसिंगेको बथान हेर्न जाने स्थानका रुपमा परिचित छ ।
यति मात्र होइन जंगल सफारी र अन्य जनावरको अवलोकन गर्न शुक्लाफाँटा पुग्नेहरु धेरै हुन्छन् । यदि समय र मौसमले साथ दिएमा शुक्लाफाँटमा बाह्रसिंगेका साथै अन्य जीव-जनावरहरु पनि प्रशस्त देख्न पाइन्छ । साँझको समयमा शुक्लाफाँट बन्यजन्तु आरक्षमा बाघ, खरायो, हात्ति, गैडा लगायत बिभिन्न प्रजातिका चराहरुसमेत हेर्न पाइन्छ ।
तर, यी जनावरहरु हेर्नका लागि कि त भाग्यले साथ दिनुपर्दछ, कि त लामो समयसम्म प्रतिक्षा गर्नुपर्ने हुन्छ । तर बाह्रसिंगे भने सजिलै देख्न पाइने बताउँछन् पर्यटन व्यवसायी परमानन्द भण्डारी ।
शुक्लाफाँटमा साँझको समयमा मृगहरु चरन चरेर बासस्थान जानका लागि केही समय खुल्ला स्थानमा आउने भएका कारण चार बजेको समय उपयुक्त हुने उनी बताउँछन् ।
सात दिनमा सबै घुम्न सकिन्छ
अमरबहादुर शाही, प्रबन्ध निर्देशक, रैका ट्राभल्स एण्ड टुर
पश्चिम नेपाल अहिले पनि पर्यटकका लागि भर्जिन स्थल हो । नेपालको सबैभन्दा ठूलो रारा ताल, गहिरो फोकसुण्डो ताल, हिन्दुहरुको पवित्र तीर्थस्थल स्वर्गद्वारी, धार्मिक तथा प्राकृतिक सुन्दरताले प्रख्यात खप्तड लगायत विविध पर्यटकीय स्थलहरु यहाँ रहेका छन् ।
पश्चिम नेपालमा डोल्पा, बर्दिया र हुम्ला चलनचल्तीमा रहेको पर्यटकीय स्थल हो । आन्तरिक पर्यटकको प्रमुख स्थान चाहिँ रारा हो ।
यदि रारा, बर्दिया र शुक्लाफाट एउटै प्याकेजमा ल्याउन सकियो भने विदेशी पर्यटकको आकर्षण बन्न सक्छ भनेर यस्तो पहल गरेका हौं ।
पश्चिम नेपाल अहिले पनि पर्यटकको लागि भर्जिन स्थल भएकाले यसलाई वाइल्ड वेष्ट भनेर नामाकरण गरिएको हो । रारा, बर्दिया र शुक्लाफाँटका लागि सात दिनको समय छुट्याए पुग्छ ।
काठमाडौंदेखि नेपालगन्ज हुँदै रारा पुग्ने, रारामा दुई दिन र त्यसपश्चात नेपालगञ्ज हुँदै बर्दियामा दुई दिन । बर्दियादेखि कणर्ाली चिसापानी पुल हेरेर कर्णाली नदीमा र्याफ्टिङ गरेर टीकापुर पार्क घुमेर शुक्लाफाँटामा दुई दिन । शुक्लाफाट भम्रण पश्चात धनगढी हुँदै काठमाडौ र्फकन सकिन्छ ।
                    
                                    



                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4