Comments Add Comment

शेरबहादुरलाई प्रश्न-विमलेन्द्रजीलाई किन कार्यवाहक दिएको ?

'दिल्लीमा देउवाजीले त्यसरी नबोलेको भए हुन्थ्यो'

१२ भदौ, काठमाडौं । डा. शेखर कोइराला पदका हिसाबले अहिले कांग्रेस केन्द्रीय सदस्य हुन् । उनी अहिलेसम्म राज्यका लाभदायी पदमा पुगेका छैनन् । एक सांसदका रुपमा उनी पार्टीभित्र सधैं प्रतिपक्षी बेञ्चमा बसेको भान हुन्छ । उनी आफ्नै काका गिरिजाप्रसाद कोइराला मात्र होइन, दाजु नाता पर्ने सुशील कोइरालाका पनि आलोचकका रुपमा देखा परेका थिए ।

अहिले पार्टी नेतृत्वमा पुगेका सभापति शेरबहादुर देउवाका पनि कटु आलोचकका रुपमा देखा परेका डा. कोइरालासँग अनलाइनखबरले कांग्रेसको अवस्थिति, समसायिक राजनीति र छिमेकी मुलुकसँगको सम्बन्धका विविध आयामबारे कुराकानी गरेको छ । कुराकानीका क्रममा डा. कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति खरो आलोचना गरेका छन् ।

प्रधानमन्त्रीले शेरबहादुर देउवाले नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ‘संविधान संशोधन गरेर जाने’ भन्नु कति आवश्यक थियो ?

उहाँले वान टु वान छलफलमा के कुरा गर्नुभयो, मलाई थाहा छैन । उहाँले पत्रकार सम्मेलनमा लिखित मन्तव्यभन्दा बाहिर गएर बोल्नुभएको छ । त्यसरी नबोलेको भए राम्रो हुन्थ्यो । आखिर विज्ञहरुले नै मन्तव्य लेखेर दिएका थिए ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई कसरी विश्लेषण गर्नुभयो ? सफल भयो कि असफल ?

कसैले धेरै सफल भयो भन्छन्, कसैले पूर्ण असफल भयो भन्छन् । कसैले संविधान संशोधनको प्रसंग उठाएकामा आपत्ति जनाइरहेका छन् । तर, यसो पल्टाएर हेर्‍यो भने यसबीचका चार प्रधानमन्त्रीले एउटै विषय उठाइरहेको पाउँछु ।

भारतसँग हतियार खरिद गर्दा ६० प्रतिशत अनुदान र ४० प्रतिशत हामीले हाल्नुपर्दो रहेछ । हामीले तिर्नुपर्ने ४० प्रतिशत मिनाहा गरिदिन केपी ओलीले पनि भन्नुभयो, पुष्पकमल दाहालले पनि र अहिले शेरबहादुरजीले पनि । सुशील कोइरालाले पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आएका बेलामा भन्नुभएको थियो ।

के दुई अर्ब रुपैयाँ हामीले भारतलाई दिन सक्दैनौं ? तिमीसँग हतियार किन्छौं, सबै पैसा हामी नै दिन्छौं भनेर भन्न सक्नुपर्‍यो नि । किन अनुदान लिने हामीले ? नेपाल कमजोर छ, पैसा छैन भन्ने हो ? हामी सक्छौं भनेर हामीले देखाउन सक्नुपर्छ । यस्ता कुरा मलाई उचित लाग्दैन । यसमा हामी कोही बोलिरहेका छैनौं ।

पञ्चेश्वरमा हामी जहाँको त्यहीँ छौं अहिलेसम्म । नयाँदिल्लीमा हस्ताक्षर भएका कुरा त भारतले काठमाडौंमै प्रतिवद्धता गरेकै कुरा हुन् । भूकम्प पीडितलाई ५० हजार घर भनेर भारतले भनेकै हो त । ३/४ वर्षदेखि एउटै कुरा सुनिरहेका छौं । नयाँदिल्लीमा केही नयाँ भएजस्तो लाग्दैन । भोलि अर्को प्रधानमन्त्री गए पनि यिनै कुरा लेखिने हुन् ।

यसपटक सहयोगका १० वटा नयाँ क्षेत्र पनि पहिचान भएको कुरा आएको छ नि ?

रेल कनेक्टिभिटी त धेरै पहिलेदेखि भन्दै आएको कुरा हो । अरु ९ वटा विषय पनि पुरानै हुन् । चार्टर एकाउन्टेन्टको विषय मात्र यस पटक नयाँजस्तो लाग्यो । सुशील कोइरालादेखि शेरबहादुरजीसम्म लगभग एउटै कुरा पाइरहेको छु । त्यसैले यसलाई सद्भाव भ्रमण भन्छु ।

शेरबहादुरजीले राम्रो ‘रेड कार्पेट वेलकम’ पाउनुभएको छ । कांग्रेस यसमा गर्व गर्छ ।

अब अलिकति नेपाली कांग्रेसको आन्तरिक राजनीतिका विषयमा कुरा गरौं, पार्टीमा महामन्त्री, कोषाध्यक्ष र अन्य पदाधिकारी पनि हुँदाहुँदै पार्टी सभापतिले केन्द्रीय सदस्य विमलेन्द्र निधीलाई कार्यवाहक दिएर नयाँदिल्ली उड्नुभयो । यसमा के भन्नुहुन्छ ?

कांग्रेसको विधानअनुसार उपसभापतिलाई कार्यवाहक दिनुपर्छ । उपसभापति नियुक्त गरिएको छैन । कांग्रेसको परम्परा अनुसरण गरेको भए वरिष्ठ नेतालाई दिएको भए हुन्थ्यो । वरिष्ठ नेता रामचन्द्र पौडेल या महामन्त्री सशांक कोइरालालाई दिएको भए हुन्थ्यो । सबैभन्दा ज्येष्ठ नेता कुलबहादुर गुरुङलाई दिएको भए पनि हुन्थ्यो ।

अनलाइनखबरमार्फत् म शेरबहादुरजीलाई सोध्छु- सिंगापुर जाँदाचाहिँ किन कार्यवाहक कसैलाई नदिनुभएको ? आज किन दिनुपर्‍यो ? यसको जवाफ हामीलाई चाहियो । विमलेन्द्रजीलाई बनाएकामा मलाई आपत्ति होइन । तर, सभापतिको अधिकार हो भने सिंगापुर जाँदा किन दिनुभएन ? भारत भ्रमणमा पाँचै दिनका लागि जानुभएको थियो, कार्यवाहक तोक्नुपर्ने जरुरी थिएन ।

कांग्रेसमा उपसभापति बनाउने चलन धेरै पछि आएको हो । त्यसअघि वरिष्ठतालाई आधार मान्ने चलन थियो । शेरबहादुरजीले पार्टी पद्दति ‘ब्रेक’ गर्नुभयो । पार्टी भनेको पद्दतिमा हिँड्ने हो । विमलेन्द्रजीलाई उपसभापति बनाएरै कार्यवाहक दिएर गएको भए पनि हुन्थ्यो नि ।

कोइराला परिवारको एकता देखेर डराउनु भएको हो कि ?

त्यसोभए सिंगापुर जाँदा पनि डराएको भए हुन्थ्यो नि ।

कोइराला परिवारका तीनजना नेता एक ठाउँमा उभिएको सन्देश दिने गरी दुईवटा श्रृंखला चलिसकेका छन् । यसको अर्थ के हो ?

सञ्चार माध्यमले अलि बढी नै उछालेको जस्तो पनि लाग्छ । हामीले नगर्दा पनि किन टाढा छौ भन्छन् । तीन जनाबीच राजनीतिक मनमुटाव छ भन्ने प्रश्न पनि आउने गर्छ । कार्यकर्ताले पनि त्यसै भन्छन् । भेट्दा पनि समाचार बन्ने भयो ।

हुन त, हामीले राजनीतिक भेटघाट नै गर्न खोजेका हौं । बसेर खाना खाने उद्देश्य मात्रै होइन । कांग्रेस प्रजातान्त्रिक पार्टी हो । देश अहिले एकदमै लथालिंग भएको देखिन्छ, अहिले । अहिलेको सरकारका पालामा मात्र होइन, धेरै पहिलेदेखि अन्य धेरै मुद्दामा यस्तो देखिन्छ । र, कांग्रेस पनि कमजोर देखिएको छ ।

जसले जेसुकै भने पनि नेपालमा अहिले प्रजातान्त्रिक पार्टी कांग्रेस मात्रै हो । कांग्रेस कमजोर भयो भने प्रजातन्त्र कमजोर हुन्छ र प्रजातन्त्र कमजोर हुँदा देश कमजोर हुन्छ । त्यसैले देशको चिन्ता लागेर हामी एक ठाउँमा बस्न खोजेका हौं । कांग्रेसलाई मजबुत गराउन भनेर बसेका हौं ।

यसको ‘टार्गेट’ आसन्न संघीय र प्रादेशिक संसदको निर्वाचन तथा कांग्रेसको १४ औं महाधिवेशन पनि हो कि ?

अहिले त्यस्तो कुनै टार्गेट छैन । तर, मान्छे अडकलबाजी त लगाउँछन् । हामी मिलेकै थियौं/छौं । १३ औं महाधिवेशनमा पनि मिलेका थियौं । १२ औं महाधिवेशनमा पनि आपसमा सहयोग गरेकै हौं । १४ औंमा पनि हामी मिलेरै जान्छौं ।

कांग्रेस फेरि वंशवादतिर फर्किन लागेको हो ?

कांग्रेस बीपी कोइरालाले स्थापना गर्नुभएको पार्टी हो । त्यसमा शंका छैन । त्यहाँ गणेशमान सिंह, सुवर्णसमसेरजस्ता नेताहरु पनि हुनुहुन्थ्यो । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधिजस्ता धेरै नेता हुनु हुन्थ्यो । बीपीको नेतृत्वमा उहाँहरु सबै मिलेर कांग्रेसलाई अगाडि बढाउनु भएको हो ।

त्यसलाई मानिसले कोइरालाहरुको पार्टी भएको रुपमा पनि हेर्ने गर्छन् । त्यसरी हेर्नु भएन । हामीले समष्टिगत हिसाबले कांग्रेस एउटा प्रजातान्त्रिक पार्टी हो भनेर हेर्नु पर्‍यो । राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई अंगालेर हिँडेको पार्टी कमजोर हुँदैछ भनेर विश्लेषण गर्नुपर्छ । सुजाता र सशांकको विश्लेषण पनि यही हो ।

पार्टी बलियो बनाउन त नेतृत्वमा पुग्नु जरुरी छ नि होइन र ?

नेतृत्वमा भोलि म नै पुगें भने पनि मैले जे गरें त्यो नै ठीक हो भनेर अहिलेजसरी पार्टीलाई अगाडि बढाउनु हुँदैन । त्यसरी पार्टी चल्दैन, कमजोर हुन्छ ।

कांग्रेसमा कोइराला परिवारका तीन नेता देखिनुहुन्छ । सबैको नेताचाहिँ को त ?

को हुन्छ, के हुन्छ अहिले भन्न सकिँदैन । हामी सबै दौडमा छौं । जनताले कसलाई स्वीकार गर्छन् भन्नेमा निर्भर हुन्छ । हामीबीचमा तिक्तता पनि छैन । एकअर्कालाई सहयोग गर्ने कुरा रहिरहन्छ । मिलेरै अगाडि जान्छौं । जस्तो परिस्थिति आउँछ, त्यहीअनुसार अगाडि बढ्छौं ।

आगामी महाधिवेशनमा पार्टी सभापति नै लड्ने विचार हो ?

हेरौं के हुन्छ । अहिले नै यसै गर्ने भनिहाल्ने अवस्था छैन । तर, अहिलेकै अवस्थामा कांग्रेसचाहिँ चल्न सक्दैन भन्ने कुरामा स्पष्ट हुनुपर्‍यो । विभिन्न मुद्दामा अहिले जसरी कांग्रेस चल्दैछ, यसरी चल्दैन ।

भाइबहिनीलाई अगाडि बढाउने कि तपाईं आफैं अगाडि बढ्ने हो ?

राजनीति गर्दा आफू अगाडि जाऊँ भन्ने त हुन्छ नै । त्यो मलाई पनि छ । यो स्वाभाविकै कुरा हो । तर, यसमा कार्यकर्ताले कसलाई रुचाउँछन् भन्ने हुन्छ । बीपीको छोरो शशांक, गिरिजाप्रसादकी छोरी सुजाता, नोनाको छोरो शेखर । कोशिस गर्नुपर्छ, हुन्छ त्यो ।

तपाईंको विश्लेषणमा शेरबहादुर देउवाले पार्टीलाई कहाँ पुर्‍याएजस्तो लाग्छ ?

उहाँ पार्टी सभापति हो । जसरी पार्टीलाई उहाँले डोर्‍याइरहनुभएको छ, त्यो राम्रो भइरहेको देख्दिनँ म । किनभने, सभापति भइसकेपछि पार्टीको मापदण्ड के हो ? त्यो भनेको निर्वाचन हो र त्यसमा गाँसिएका जनता हुन् । पार्टी भनेको महाधिवेशन मात्र होइन । पार्टीका छनोट भएका मानिसले मत दिएर जित्ने हो, महाधिवेशनमा । तर, कांग्रेसको छवि मुलुकका निर्वाचनहरुले देखाउने हो ।

अहिले ६ वटा प्रदेशमा कांग्रेस कमजोर भएको छ । त्यसको लेखाजोखा भविष्यमा होला । संसदमा ठूलो पार्टी छ । सबैभन्दा लोकतान्त्रिक पार्टी भन्छौं । तर, कांग्रेसले निर्वाचनमा किन राम्रो प्रदर्शन गर्न सकेन त ? त्यसको मुल कारण उम्मेदवारी चयन हो । त्यसलाई पार्टी नेतृत्वले नजरअञ्दाज गर्‍यो ।

म नै सभापति भएँ भने पनि मेरो कार्यकालमा भएका चुनावमा पार्टीको स्थिति राम्रो भयो कि भएन भनेर मूल्यांकन गर्नु पर्छ । त्यो मापदण्ड हेर्न सकिएन भने त्यसको अर्थ छैन ।

त्यसोभए पार्टी सभापतिले आफू निकटस्थ व्यक्तिलाई मात्र उम्मेदवार बनाउनु भएको हो त ?

म त्यसो भन्दिनँ । शेरबहादुरजी या जसले उम्मेदवार छनोट गर्‍यो, आफ्ना मानिसलाई प्रोत्साहित गर्ने काम भयो । शेरबहादुरजी पनि त्यसमा संलग्न हुनुहुन्छ । पार्टी सभापति भएकाले जिम्मेवारी उहाँको बढी हो । त्यसपछिको जिम्मेवारी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला र समितिमा भएका वरिष्ठ साथीहरुको हो ।

दोस्रो, जनतामा कांग्रेसको छवि के छ भन्ने कुरा हो । विगतमा कांग्रेसकै वरिपरि नेपालको राजनीति घुमिरहेको थियो । ००७ सालदेखि संविधान बनाउन्जेल पनि त्यो कायम थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री बन्दा पनि उहाँको वरिपरि राजनीति घुमेको थिएन । गिरिजाप्रसाद कोइराला नै केन्द्रमा हुनुहुन्थ्यो ।

त्यसअघि पनि गणेशमान, किसुनजीको वरिपरि घुमेको थियो, राजनीति । संविधान बनाउन्जेलसम्म सुशील कोइरालाको वरिपरि पनि घुम्यो । अहिले राजनीति कांग्रेसको वरिपरि घुमेको छ त ?

तर, गल्ती त सुशील कोइरालाले नै गरेका हुन् नि होइन, केपी ओलीविरुद्ध प्रधानमन्त्रीको उम्मेदवारी दिएर ?

मलाई त्यस्तो लाग्दैन । संसदीय प्रणाली अनुसरण गर्ने हो भने दुई वटा ठूला पार्टी एक ठाउँमा उभिनु हुँदैन । त्यसो हुँदा त ‘कार्टेलिङ’ भइहाल्छ नि । यसबीचमा त राजनीतिक दलहरु र ठूला नेताहरुको कार्टेलिङ भइरहेकै छ नि । संविधान बनाउँदा कार्टेलिङ भएन ? कांग्रेस, एमाले र माओवादी मिले, संविधान जारी गरिदिए ।

त्यसो नगर्नुस् भनेका थियौं हामीले । ६ वटा प्रदेश बनाइयो, सुर्खेतमा आन्दोलन भयो, तीन जना मारिए, सातौं प्रदेश घोषणा भइहाल्यो । मधेसमा ५२ जनाको मृत्यु भइसकेको उहाँहरुले देख्नु भएन । त्यो पाटो सोच्नुपर्थ्यो  नि त ।  अहिले पनि बूढीगण्डकीमा के भएको छ ? किन कांग्रेस चुप छ, बूढीगण्डकीमा । एमाले किन चुप छ ?

के चिनियाँ कम्पनी गेजुवालाई बूढीगण्डकी आयोजना दिनु नै गल्ती थियो त ?

कसले पायो भन्ने कुरा गौण हो । चिनियाँ कम्पनीले पाओस्, मेरो सरोकारको विषय होइन । तर, गेजुवाले जुन तरीकाले पायो, त्यो ठीक थियो ? सरकार भोलि परिवर्तन भएर शेरबहादुरजीको नेतृत्वको सरकार आउँदैछ । अनि, गेजुवाको नेपाल प्रतिनिधिसित ऊर्जा मन्त्रीले सम्झौता गर्छन् । कांग्रेस चुप लागेर बसेको छ । एमाले झन् चुप छ । कार्टेलिङ होइन यो ? जनताले त सोध्नुपर्‍यो नि किन कांग्रेस र एमाले चुप छन् भनेर । कतै सबैको मिलेमतो त छैन भनेर सोच्नु पर्‍यो नि हामीले ।

अहिले शेरबहादुरजीको सरकारमा गृहमन्त्रीजीले दुईवटा प्रहरी फोर्स सिर्जना गर्न खोजिरहेका छन् । सल्लाहकार बनाए, ठीक छ उनको अधिकारको कुरा भयो । तर, त्यो सल्लाहकारको कार्यकक्ष प्रहरी प्रधान कार्यालयमा छ । प्रधानमन्त्री भएपछि शेरबहादुरजीले हुँदैन भन्न सक्नुहुन्न ? कांग्रेसको इज्जत कहाँ गयो त ? अनि, एसएसपी, एसपी, डीएसपीको दरबन्दी दिने सल्लाहकारका लागि ? प्रहरीमा दुईवटा धार खोजेको हो हामीले ? अहिलेका प्रहरी महानिरीक्षकले कसरी काम गर्छन् ?

प्रहरी प्रधान कार्यालयभित्र मन्त्रीको सल्लाहकारको कार्यालय हुन्छ । अनि, हामी तैं चुप मै चुप ? कति गम्भीर कुरा हो यो ? कोही बोल्दैन । यो कुरा हामीले गम्भीरतापूर्वक लैजानुपर्छ ।

माओवादीले भन्यो भन्दैमा प्रधानन्यायाधीशमाथि कांग्रेसले महाभियोग प्रस्ताव राख्ने ? माओवादीले त पहिले पनि अख्तियार प्रमुखविरुद्ध महाभियोग प्रस्ताव अगाडि सारेको थियो नि । त्यो पनि गलत थियो भन्छु म । लोकमानसिंह कार्कीलाई व्यवस्थापन गर्ने अरु धेरै उपाय थिए नि त । उनले गल्ती गरेका थिएनन् भनेर म भन्दिनँ ।

तर, प्रधानन्यायाधिशमाथि राजनीतिमा रिक्तता ल्याउन खोजेको आरोप पनि थियो नि ?

उहाँले के गर्न खोज्नुभयो, कसो गर्न खोज्नुभयो भन्नेमा म जान्नँ । तर, कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीले महाभियोग अगाडि सार्नुहुन्थ्यो ?

संविधानको व्यवस्था अनुसरण गर्दा अप्रजातान्त्रिक कसरी भयो र ?

संविधानमै भएको व्यवस्था हो भने पनि कांग्रेसले नै गलत काम गरेको छ । त्यो निर्णय नै गर्नु हुँदैनथ्यो कांग्रेसले ।

आखिर न्यायपालिकाले पनि त राजनीतिमा हस्तक्षेप गरेको आरोप लागेको थियो नि ?

हामी आफैं भन्छौं, न्यायपालिका स्वायत्त संस्था हो भनेर । प्रजातान्त्रिक परिपाटी भनेकै न्यायपालिकाले गलत गरेको छ र चित्त बुझेको छैन भने पनि स्वीकार गर्ने हो । हामीलाई बीपी कोइरालाले त्यही सिकाउनुभएको हो ।

न्यायाधीश नियुक्तिमै पार्टीका कार्यकर्तालाई भर्ति गरिएको आरोप लागिरहेको छ नि ?

यसमा कसको गल्ती ? न्यायपालिकालाई किन दोष दिने ? नियुक्ति गर्नेबेलामा कांग्रेस, एमाले र माओवादीको मानिस नियुक्त गर्ने, अनि न्यायपालिकालाई दोष दिन मिल्छ ? पार्टी कार्यकर्ता गएपछि त यस्तै हुन्छ त । गल्ती त कार्टेलिङ गर्ने पार्टीहरुले गरेका हुन् नि । पार्टीहरु देशलाई कार्टेलिङमा चलाउन खोज्दैछन् । स्वतन्त्र र राम्रो मानिसलाई लगौं न न्यायपालिकामा, यस्तो अवस्था आउँदै आउँदैन ।

मुद्दा कसको फाँटमा पुग्छ, फैसला के आउँछ भनेर अगाडि नै अनुमान लगाउन सकिन्छ । त्यो त गलत हो नि । म न्यायपालिकालाई दोष दिन्नँ, कांग्रेसलाई दोष दिन्छु । किनभने, कांग्रेस प्रजातान्त्रिक पार्टी हो । एमाले र माओवादीलाई दोष दिन्नँ, किनभने उनीहरु प्रजातान्त्रिक पार्टी होइनन् । यो सबै बिगारेको कार्टेलिङले हो ।

तपाईले देउवाको कार्यशैलीको आलोचना गर्नुभयो, तर कोइराला परिवार र रामचन्द्र पौडेलको सम्बन्ध पनि त न्यानो छैन भनिन्छ नि ?

त्यो पनि गलत कुरा हो । सम्बन्ध राम्रो/नराम्रो भनेको राजनीतिक मुद्दामा आउने अडानको विषय हो । शेरबहादुरजीले राम्रो काम गर्दा हामीले सहयोग नै गरिरहेका छौं । रामचन्द्रजीले राम्रो गर्दा पनि सहयोग गरिरहेका छौं । मैले त केन्द्रीय समितिमा भनेको छु, सभापतिको हात, खुट्टा बाँधेर राख्नुहुँदैन । शेरबहादुरजी सभापति भइसकेपछिको कुरा हो यो । किनभने, धेरै कुरा सभापतिको तजबिजीमा आधारित हुन्छन् ।

कार्यकर्ता पंक्तिमा रामचन्द्र पौडेलले राजनीति अगाडि बढाउन छाती ठूलो बनाउनुपर्छ, उनलाई अगाडि बढाउन कोइराला परिवारले पनि छाति ठूलो बनाउनु पर्छ भन्ने छ नि ?

रामचन्द्रजीलाई कोइरालाहरुले सहयोग गरेका छैनन् भनेर कसैले भन्छ भने त्यो कांग्रेस नै होइन । तर, उहाँले गरेका सबै कामको छड्के किनाराको साक्षी बस्न मचाहिँ तयार छैन । शशांक र सुजाताले के गर्छन्, म भन्न सक्दिनँ । मैले गिरिजाबाबु र सुशील दाइसँग त यस्तो काम गरिनँ, अरुसँग गर्ने प्रश्नै आउँदैन ।

बिराटनगर महानगरको चुनावमा तपाईंको सक्रियता देखियो । बाढी प्रभावित क्षेत्रमा पनि घर-घर पुग्नुभयो । यसलाई पार्टी नेतृत्वको दौडका रुपमा अर्थ्याउन सकिँदैन र ?

राजनीति गर्ने मान्छे चुनावमा खटेन भने किन राजनीति गर्नु ? चुनावमा जिताउन सकेन भने हामीले आफ्नो वर्चश्व कसरी स्थापित गर्ने ? राजनीति भनेको जनता हुन् । र, जनतालाई दुःख भएको बेलामा उनीहरुका साथमा पुग्न सक्नुभएन भने केका लागि राजनीति गर्ने ।

सांसदहरु आफ्नो निर्वाचन क्षेत्र डुबेका बेलामा काठमाडौंमा बसिरहेको देख्छु । जनताको पीडा र दुःख त उनीहरुको घर-घर पुगेर बुझ्न सक्नु पर्‍यो नि । केही त्रिपाल, चामल, दाल या अन्य केही राहत सामग्री त दिन सक्ने हो । तर, घर-घर पुगेर उनीहरुको पीडामा साथ दिनु अलग्गै कुरा हो ।

मैले त कांग्रेसमार्फत् पनि गरेको होइन । नोना कोइराला स्मृति प्रतिष्ठानमार्फत् गरेको हुँ । उनीहरुको दुःखमा सामेल हुनु सबैभन्दा महत्वपूर्ण हो भन्ने मलाई लाग्छ । काठमाडौं बसेर म जनताको पीडा बुझ्न सक्दिनथें ।

सशांकले बीपी, सुजाताले गिरिजाप्रसाद र शेखरले नोना कोइरालाकै नाम लिएर राजनीति गर्नुपर्ने किन नि ? किन सबैले कृष्णप्रसाद कोइरालाको नाम लिन नसक्नुभएको ?

कोइरालाको नामबाट राजनीति गर्ने होइन । बीपी कोइरालाले स्थापना गरेको पार्टी हो । र, कृष्णप्रसाद कोइरालाले हाम्रा बुवा खलकहरुलाई एउटा संस्कार दिएर जानुभएको थियो । हामीले त्यही संस्कार अनुसरण गरिरहेका हौं । कसले कति सकेको छ, त्यो आफ्नो ठाउँमा छ । नसक्नेहरु पछाडि पर्दै जाने हो ।

अब आशन्न चुनाव र मधेसका विषयमा कुरा गरौं, तेस्रो चरणको चुनाव सकिएपछि आगामी मंसिरमा संघीय र प्रदेश संसदको चुनाव हुँदैछ । कांग्रेसले विगतमा किसुनजीलाई सारेजस्तो भावी प्रधानमन्त्रीको उम्मेदवार अगाडि सार्नुपर्दैन ?

संसदीय राजनीतिमा प्रधानमन्त्रीको उम्मेदवार अगाडि सार्नुको औचित्य हुँदैन । तर, अहिलेको परिप्रेक्ष्यमा सार्दा राम्रै हुन्छ ।

सम्भावित नेता को त ?

सम्भावित मान्छे जो पनि हुन सक्छ । कांग्रेसले कसलाई रुचाउँछ, जनताले कसलाई रुचाउँछन्, मत कसले ‘क्यास’ गर्न सक्छ, यो विषय त्यसैमा निर्भर हुने हो ।

त्यसको अर्थ अहिले कांग्रेसमा सर्वसम्मत नेता छैनन् भन्ने हो ?

मैले त त्यस्तो सर्वसम्मत मान्छे देखिराखेको छैन ।

त्यसो भए कांग्रेसले त्यागको राजनीति छाडेको हो ?

त्यागले मात्र हुँदैन । त्यागले मात्र प्रधानमन्त्रीको उम्मेदवार बन्ने जमाना गयो । शेरबहादुरजी, रामचन्द्रजी दुवै राजनीतिबाट ‘एक्स्पायरिङ’ हुँदै हुनुहुन्छ । अरु साथी पनि एक्स्पायर हुँदै जानुभएको छ, राजनीतिबाट । अहिलेको परिप्रेक्ष्य हेर्दाखेरि ।

संसदीय राजनीति रहेको भारतमा पनि प्रधानमन्त्रीको उम्मेदवार तोक्न थालिएको छ । मोदीजी त्यसरी नै आउनुभएको हो ।

कुनै युवालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि बढाउने जोखिम किन कांग्रेसले मोल्न नसकेको ?

युवाले गर्न सक्छन् या बुढाले गर्न सक्दैनन् भन्ने कुरामा पनि म विश्वास गर्दिनँ । कांग्रेसभित्र र काठमाडौंमा पनि यस्तो विचार पाउँछु । तर, युवाको जोश र बुढाको होश, दुवै कुरालाई संयोजन गरेरै जानुपर्छ ।

तर, कुनै नयाँ कुरा त दिएर जानुपर्‍यो नि चुनावमा, होइन र ?

त्यो त नेताले बुझ्नुपर्‍यो, शेरबहादुरजीले बुझ्नुपर्‍यो । पार्टी सभापति उहाँ हो । प्रधानमन्त्री पनि हुनुहुन्छ र देश चलाउँदै हुनुहुन्छ । उहाँकै पालामा निर्वाचन पनि हुँदैछ । उहाँले सोच्नुपर्‍यो ।

प्रदेश २ को स्थानीय निर्वाचनबाट कांग्रेसले के अपेक्षा गरेको छ ?

मेरो मान्छे र तेरो मान्छे गर्नु भएन । जित्ने मान्छेलाई टिकट दिनुपर्‍यो । अहिले बाढीले तहसनहस बनाएको छ । राहत बाँडिरहेको र पीडितसँग घुलमिल भइरहेको मान्छेलाई पार्टीले चिन्दै चिन्दैन । अनि कसरी चुनाव जितिन्छ ? खटिरहेका मानिसलाई बिर्सिइएको छ । मैले त प्रदेश २ का नेताहरुलाई काठमाडौं बस्ने होइन, प्रभावित क्षेत्रमा जानुस् भनिरहेको छु ।

उनीहरुले टिकट पाउँछन्/पाउँदैनन् भन्ने विषयले महत्व राख्दैन अहिले । काठमाडौं बसेर टिकट पाए पनि कसरी जित्छन् ? म त त्यो सल्लाह दिइरहेको छु । टिकट बाँड्ने नेताहरुले पनि त्यो कुरा भन्नुपर्‍यो नि ।

सभापतिहरुको चलखेल छ । क्षेत्रीय सभापतिहरुलाई आफ्नो मान्छे बनाउनु छ । जिल्ला सभापतिहरुले जे मन लाग्यो, त्यही गरेका छ । त्यसैलाई केन्द्रमा रुजु गर्न थालियो भने कसरी चुनाव जितिन्छ ?

यो स्थानीय निर्वाचन हो । स्थानीय निर्वाचनमा जनतासँगको सम्पर्क सबैभन्दा महत्वपूर्ण हुन्छ । विराटनगर महानगरमा जुन व्यक्तिले जिते, उनको व्यक्तिगत सम्बन्धले पनि धेरै भोट आएको छ । टिकटमा तेरो, मेरो नगरी वितरण गर्‍यो भने प्रदेश २ मा आशा गर्ने ठाउँ छ । सय सीट नै त म भन्दिनँ, तर राम्रो हुन सक्छ ।

चुनावमा अलग नारा लिएर जाने र पार्टीलाई त्यसरी नै अगाडि बढाउने प्रचलन हुन्छ, संसदीय चुनावमा । आगामी संघीय र प्रादेशिक चुनावमा कांग्रेसको नारा के त ?

राजनीतिक स्थिरता नभइकन जतिसुकै डंका पिटे पनि आर्थिक समृद्धि हासिल हुँदैन । भारतमा पनि राजनीतिक स्थिरता छ । र, राजनीतिक र आर्थिक स्थिरता त चाहियो, चाहियो । तर, सुशासन नभई ती दुवै प्राप्त हुँदैनन् । भ्रष्टाचार र सुशासनको मुद्दालाई कांग्रेसले अगाडि बढाएन भने केही हासिल गर्न सक्दैन । यो एकदमै महत्वपूर्ण छ । राष्ट्रवादको नाराको आयु लामो हुँदैन, बिलाउँछ ।

त्यसैले, सुशासन, भ्रष्टाचार र राजनीतिक स्थिरतामै जोड दिनुपर्छ । हरेक विदेशीले राजनीतिक दलहरुले जे मन लाग्यो, त्यही गरिरहेको बताइरहेका छन् । आयल निगमले भ्रष्टाचार गरेको गर्‍यै छ, कोही बोल्दैन । बिचित्र देखिन्छ, अहिले ।

संविधान संशोधन असफल भएको सन्दर्भमा अबको मधेसको राजनीति कस्तो होला ?

हामीले त संविधान संशोधनका पक्षमा मत दिएकै हौं । संशोधन विधेयक पारित नभए पनि राष्ट्रिय जनता पार्टी चुनावमा सहभागी हुँदैछ । विस्तारै ठीक हुँदै जाला । तर, मधेसमा अलगाववादी शक्तिहरु पनि सल्बलाइरहेका छन् । ती शक्तिहरुलाई मलजल नहोस् भनेर हेर्नु/सोच्नुपर्छ ।

संविधान संशोधन गम्भीर विषय हो । पहिलो, एमालेसँग पनि बसेर छलफल गरौं, एउटा निचोडमा पुगौं भन्दै आएको छु मैले । एमालेसँग बसेर छलफल गर्न नसकिने कुनै विषय थिएन । दोस्रो, राजपालाई पनि सँगै लिएर जाने उपाय लगाउनुस्, नत्र हामी अप्ठ्यारो स्थितिमा पुग्छौं भनेर भन्दै आएको छु । तेस्रो, अलगाववादी शक्तिहरुलाई परास्त गर्न अगाडि बढ्नु पर्छ । नत्र, देश भोलि अप्ठ्यारो परिस्थितिमा पुग्नेछ ।

राजपा मध्यममार्गी शक्ति हो, जसलाई राजनीतिक पार्टीहरुसँगै राखेर हिँड्न जरुरी थियो । बल्ल उनीहरु अन्य राजनीतिक दलहरुसँगै हिँडेका छन् । सरकारले विपक्षीहरुसँग पनि घनिभुत छलफलमा गएर यसलाई समाधान गरिहाल्नुपर्छ ।

मधेस राजनीतिको सान्दर्भिकता सकियो भन्ने विश्लेषण पनि सुन्न थालिएको छ नि ?

मलाई लाग्दैन मधेसी दलको सान्दर्भिकता अहिले सकिन्छ भन्ने । त्यो सान्दर्भिकता सकिनेबित्तिकै अलगाववादी शक्तिहरु हाबी हुन थाल्छन् । मध्यममार्गी शक्तिले उठाएका मुद्दाहरु समाधान गर्न सक्छौं कि सक्दैनौं भन्नेमा निर्भर रहन्छ ।

फेरि एकपटक नेपाल-भारत-चीन सम्बन्धका विषयमा कुरा गरौं, तपाईको विचारमा नेपाल-भारत सम्बन्धको नयाँ आयाम के हुन सक्ला ?

हाम्रो सम्बन्ध पुरानो हो, केही नयाँ कुरा हुने होइन । नाकाबन्दीपछि सम्बन्ध चिसिएको थियो । त्यसलाई विस्तारै न्यानो बनाउँदैछौं । चिसिएको सम्बन्ध अझै पनि पुरै हटिसकेको अवस्था छैन । यसलाई ट्रयाकमा ल्याउन भारतले पनि अलि आक्रामक ढंगले विकास परियोजनाहरुमा ‘फास्ट एक्सन’मा जानु पर्‍यो ।

पञ्चेश्वरमा एक महिनाभित्र डीपीआर तयार हुन्छ भने राम्रो हो, मोदीजी आफैंले बोल्नुभएको छ । तर, त्यति सजिलो गरी होलाजस्तो मलाई लाग्दैन । भारततिरै समस्या देखिन्छ, यस मुद्दामा । नेपालतिर पनि धेरै जटिलता छ ।

भारतले पनि बुझ्नुपर्छ कि मित्र मुलुक, सानो भूगोल, खुला सीमाना छ । हाम्रो ‘रिक्वायरमेन्ट’ पनि सानो छ । त्यो त भारतले पूरा गरिदिनुपर्‍यो नि। भारतले हरेक कुरामा आफ्नो लाभ हेर्नुभएन ।

नेपाल कमजोर भयो भने नेपाल त बिगि्रन्छ, बिगि्रन्छ, त्यसका ‘स्पिल ओभर इफेक्ट’ बाट भारत पनि बच्न सक्दैन । जब-जब नेपाल कमजोर भएको छ, ती सबै कालखण्डमा नेपाली भूमिलाई आधार बनाएर आतंकवादीहरुले भारतलाई निशाना बनाएका उदाहरण त प्रशस्तै छन् त । नेपाल आर्थिक रुपमा बलियो भने त ती सबै आफैं नियन्त्रण भएर जान्छन् ।

रक्षा र सुरक्षा चासो यस पटक भारतमा अलि बढी उठेको छ नि ?

आपराधिक गतिविधिमा नेपाली भूमि प्रयोग गरेर भइरहेका छन्, त्यो जगजाहेर छ । नक्कली नोटको कारोबारमा नेपाली भूमि प्रयोग भएको छ । सुन तस्करी व्यापक मात्रामा छ । मानव बेचविखन छ । साना हतियारको पनि तस्करी छ ।

यसमा अहिले चीनको चासो पनि होला भारतको । तर, चीन नेपालको धेरै असल छिमेकी हो । चीनको चासो नेपालमा भारतको उपस्थितिलाई लिएर छैन । उनीहरु भारतीयभन्दा अमेरिका र युरोपेली मुलुकहरुका गतिविधिप्रति बढी सजग देखिन्छन् । तिब्बतको सुरक्षा चासो छ, बढी उनीहरुको ।

अमेरिकी र युरोपेलीहरुका गतिविधि नेपालको उत्तरी भेगतिर भइरहेकामा चिनियाँहरु चिन्तित देखिन्छन् । भारत र चीनको व्यापार नै अर्बौं डलरमा छ, सय बिलियन डलर नाघिसकेको छ । र, डोक्लाममा आमनेसामने पनि भएका छन् । लद्दाखमा पनि तनाव छ । नेपालले यस्ता मुद्दाहरुमा शान्त कूटनीतिका माध्यमबाट, दुवै छिमेकीलाई असर नपर्ने गरी हामी चल्नु पर्छ ।

डोक्लाम मुद्दालाई यहाँले कसरी हेर्नुभएको छ ?

यो मुद्दा सीधा नेपालको चासोको विषय होइन । भुटानसँगको सम्बन्धका कारणले दोक्लाममा भारतीय सेना पुगेका छन् । भारतका लागि पनि त्यत्तिकै रणनीतिक विन्दु छ त्यो ।

नेपालको चासो जोडिएको छ यसमा, भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत नेपाली युवाको कोणबाट । गोर्खा रेजिमेन्टलाई त्यहाँ परिचालन गरियो भने नेपालका लागि जटिल विषय बन्न सक्छ ।

त्रिदेशीय विन्दुको जोखिममा त नेपाल पनि छ नि ?

खासगरी लिपुलेकको मुद्दा पेचिलो हो । २९ अपि्रल १९५४ मा भारत र चीनबीच लिपुलेकबारे एउटा समझदारी भएको रहेछ । धार्मिक पर्यटकहरु मानवसरोवर जाने र द्वीपक्षीय व्यापारको एक विन्दुका रुपमा त्यसलाई एमओयुमा हस्ताक्षर गरेका रहेछन्, भारत र चीन दुवैले त्यतिबेला । हामी १९५४ देखि आजसम्म किन चुप लागेर बस्यौं ? हामीले किन बोलेनौं ? यो हाम्रो कमजोरी हो कि होइन ?

त्यसपछि भारत-चीन युद्ध भयो । र, यो विषय सेलायो । पछि राजीव गान्धी चीन भ्रमणमा गएर यस विषयलाई फेरि अगाडि बढाए । सन् १९९२ मा पनि लिपुलेकको विषयमा भारत र चीनले समझदारी विकास गरेका छन् । लिपुलेक हाम्रै भुमि हो । तर, हामी अहिलेसम्म किन चुप लागेर बसेको ?

कालापानी त सन् १९६५ मा राजा महेन्द्रले सुम्पेका हुन् भारतलाई ।

नेपाल-चीन सम्बन्धको अहिलेको अवस्था के हो ?

सम्बन्ध मैत्रीपूर्ण छ । आर्थिक विकासका निम्ति चनिले मद्दत गर्छु भनेर आएको छ र गरिरहेको पनि छ । चीनले पनि त्यसमा राजनीतिक रणनीतिलाई नहेरिकन नेपाल सानो र गरिब मुलुक हो भनेर अगाडि बढ्यो भने हामी लाभान्वित हुन्छौं । राजनीतिक रणनीतिलाई हेरेर चीन पनि अगाडि बढेको छ भने भोलिका दिनमा हामीलाई समस्या आउन सक्छ ।

राजनीतिक रुपमा घुसपैठ गर्न खोजेको नोक्सानी नेपाललाई हुन्छ । र, त्यो नोक्सानी भने चीनले नै भोग्नुपर्नेछ । नेपालमा भारत र चीन मात्र छैनन्, अमेरिकी र युरोपेली पनि उत्तिकै सक्रिय छन् । यी सबै तथ्य नेपाली पक्षले पनि बुझ्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment