Comments Add Comment

साम्राज्ञीको गेटअपले लोभिएकी झरना, सुटिङमा टेक ओके नहुँदा रोएकी थिइन्


५० भन्दा बढी चलचित्रमा अभिनय गरेकी नायिका झरना थापा पछिल्लो समय निर्देशक बनेकी छिन् । स्व. निर्देशक शिब रेग्मीको कारण आफु अभिनयमा आउन सफल भएको धारणा राख्ने झरना आफ्नो लागि चलचित्र ‘ए मेरो हजुर’ लक्की भएको बताउँछिन् । सोही चलचित्रवाट उनी नायिकाको रुपमा स्थापित भएकी थिइन् भने सोही चलचित्रवाट अवार्ड समेत पाएकी थिइन् ।

अहिले उनले निर्देशन गरेको चलचित्रको नाम रहेको छ, ‘ए मेरो हजुर-२’ । जुन चलचित्र रिलिजपछि आफु निर्देशनमा पनि स्थापित हुनेमा उनी आशावादी छिन् । उनै नायिकासँग अनलाइनखबरले विशेष कुराकानी गरेको छ ।

शिब रेग्मीले सम्झाए, श्रीकृष्णले फकाए
चलचित्र ‘ए मेरो हजुर’को चितवनमा सुटिङ हुँदै थियो । झरना नायिकाको रुपमा अनुबन्धित भएकी थिइन् । १३ टेक खाइन् तर, पनि निर्देशक शिब रेग्मीले चित्त बुझाएनन् । उनलाई लाग्यो बेकारमा अभिनय सुरु गरेछु । पटक-पटकको प्रयाश असफल भएपछि सुटिङ छाडेर घर जाने योजना बनाइन् । यसो गर्दा नि हुन्न, उसो गर्दा नि हुन्न । दिक्क लागेपछि उनी रुन थालिन् ।

छेउमै थिए चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठ । ‘रोएर हुन्न तपाई प्रयास गर्नुहोस, सक्नु हुन्छ । आत्तिन हुन्न ।’ श्रीकृष्णले यसो भन्दै फकाए । निर्देशक रेग्मीले फेरि टेक लिए । टेक ओके भयो । निर्देशक रेग्मीले धाप मार्दै भने-‘अब तिमीले कहिल्यै पछाडि फर्केर हेर्नुपर्ने छैन । तिमी सफल नायिका बन्ने पक्का छ ।’ नभन्दै त्यस्तै भयो । सोही चलचित्रवाट उनी नायिकाको रुपमा स्थापित भइन् भने केही अवार्ड पनि पाइन् । त्यसपछि झरनाले दर्जनौ चलचित्रमा अभिनय गरिन् । उनले अभिनय गरेका चलचित्र ब्यापारिक रुपमा सफल पनि भएका छन् ।

निर्देशक बन्ने सोच
अभिनयमा केही वर्ष बिताएपछि नै उनमा निर्देशन गर्ने सोच पलाएको थियो । उनको चाहना ‘ए मेरो हजुर’ जस्तै चलचित्र बनाउने थियो । चलचित्र बनाउने सोच आएपछि केही वर्ष चलचित्रका लागि विषय खोज्दैमा बित्यो । कसैले कस्तो कथा सुनाउँथे त कसैले कस्तो । कथा सुन्ने क्रममै ‘ए मेरो हजुर’सँग जोडिएको कथा भेटेपछि उनी केही उत्साहित भइन् र नाम जुराइन्, ‘ए मेरो हजुर-२’ । उनलाइ कथा लेख्नमा नै दुई वर्ष लागेको थियो ।

चार महिना वर्कसप
आफु हिरोइन् बन्ने बेलाको सन्दर्भ सम्झँदै झरना भन्छिन्-‘ एकपटक कथा पढेपछि हामी सुटिङका लागि तयार हुन्थ्यौं । सुटिङमा पुगेपछि निर्देशकले सिकाउने भएकाले पनि ढुक्क हुन्थ्यौं । तर अहिले समय फेरिएको छ । कथा पढेर मात्रै कलाकारको अभिनय जीबन्त हुन सक्दैन भन्ने वुझाइ छ । ‘ए मेरो हजुर-२’ बन्नु अघि ४ महिना वर्कसप गरेकी थिइन् उनले ।

नायकका रुपमा अनुवन्धित सलिनमान बनियाँ बिल्कुल नौला थिए । प्रारम्भमा उनलाई अभिनय गर्न सक्छु भन्ने आँट थिएन । झरनाले सम्झाइन् । ‘तिमी प्रयास गर सक्छौ ।’ वर्कसपमै सहभागी बुद्धि तामाङले निकै सघाए सलिमलाई । झरनालाई लाग्छ-‘त्यही वर्कसपले सलिमलाई परिपक्व बनायो ।’

माइनस आठ डिग्री मा सुटिङ
मनाङको तिलिचो तालमा सुटिङ गरेको ‘ए मेरो हजुर २’ को शिर्ष गीत अहिले दर्शकलाई मनपर्ने गीतको श्रेणीमा छ । उक्त गीत सुटिङका लागि झरना लगायत सिंगै टिमले माइनस ८ डिग्री तापक्रममा चार दिन बिताएका थिए ।

तिलिचो बेसक्याम्पबाट तिलिचो तालमा पुग्न मात्रै पुरा एकदिन लाग्छ । केही स्थानिय ब्यक्ति र सिमित खानेकुरा सहित तिलिचो तालछेउमा सुटिङ युनिट पुग्यो, तापक्रम थियो माइनस आठ डिग्री ।

तापक्रम जति नै चिसो भएपनि काम गर्नेहरु उत्साहित थिए । चार दिनको दिन सुटिङ सकियो । सुटिङ सकेर फर्केपछि सबैभन्दा खुसी भएको प्रतिक्रिया झरनाले दिइन् ।

साम्राज्ञीको गेटअपले लोभ्यायो
यस चलचित्रमा झरना एक सिनमा पनि देखिएकी छैनन् । ‘किनिदेउ न साइलादाई दाइ’ बोलको गीतको सुटिङमा साम्राज्ञीको गेटअप देखेर निकै लोभिएको झरना बताउँछिन् । उक्त गीत झरनाले नृत्य गर्ने खालको थियो । जब गीतको सुटिङका लागि साम्राज्ञी डे्रसअपमा प्रस्तुत भइन् झरनालाइ निकै लोभ लाग्यो । भन्छिन्-‘साम्राज्ञीको गेटअप देखेपछि मलाई निकै लोभ लाग्यो, आफैं नाँच्न पाएको भए हुन्थ्यो जस्तो लाग्यो ।’

साम्राज्ञीमा प्रशस्त क्षमता देखेकी झरना उनको कामप्रतिको लागाव निकै लोभलाग्दो भएको बताउँछिन् । ‘साम्राज्ञीमा मैले मेरै जस्तो लगाव देखेकी छु । उनको भविष्य उज्ज्वल छ ।’ झरनाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment